त्रिभुवन विमास्थलमा भेटिएका जीवी कसरी भए बेपत्ता !

त्रिभुवन विमास्थलमा भेटिएका जीवी कसरी भए बेपत्ता !

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद पुकार बमले पोखराको शुर्यदर्शन सहकारी ठगीको आरोपमा जिल्ला प्रहरी कार्यालय कास्कीमा जाहेरी दर्ता भए लगत्तै फरार रहेका जीवी राई जीवित भए नेपाल ल्याउने अभिव्यक्ति दिएसँगै ओझेल परिसकेका राईको अवस्था पुन चासोको विषय बनेको छ।

२०८० भदौ २७ पछि उनको अवस्था के छ अनि उनी कहाँ छन् सार्वजनिक भएको छैन। यस्तो बेलामा सत्ताधारी दलको सांसदले सार्वजनिक रूपमा उनको जीवनमाथि नै शंका बढाउने अभिव्यक्ति दिएपछि सामाजिक सञ्जालमा जिज्ञासा बढेका छन्। आखिर उनी कहाँ छन् ? 

सुप्रिम सहकारीबाट खुलेको पोल

हर्बो लगायतका कम्पनीमा संलग्न रहेका जीवी पिरामिड शैलीको कारोबारमा संलग्न रहेको भन्दै फाट्टफुट्ट विवादमा तानिए पनि आम नागरिकतहसम्मको ध्यान खिँच्नेतहमा पुगिसकेका थिएनन्।

उनी ग्यालेक्सी टेलिभिजनको स्वामित्व रहेको गोर्खा मिडिया प्रालिको अध्यक्षहुँदा पनि त्यसका अर्का सञ्चालक रवि लामिछाने नै चर्चाको केन्द्रमा थिए।

एकाएक रवि ग्यालेक्सी छाडेर राष्ट्रिय स्वतन्त्र पार्टी गठन गर्दै अध्यक्षको रूपमा राजनीतिमा आउँदा पनि जीवी सार्वजनिक वृत्तमा चासोको पात्र बनिसकेका थिएनन्। २०७९ को निर्वाचनमा रवि चितवन-२ मा उम्मेदवार बन्दा जीवी उनलाई जिताउन त्यतै खटेका थिए। रविले जिते पनि।

बिस्तारै जीवी सहकारीमा रहेको बचतकर्ताको रकम अपचलनमा जोडिन थाले। २०७९ मंसिर १५ मा उकेरामा बुटवल संवाददाता विकास पराजुलीले सुप्रिम सहकारीले बचतकर्ताहरूको रकम फिर्ता गर्न नसकेको विषयमा रिपोर्टिङ गरे। त्यसमा तत्कालीन उपराष्ट्रपति नन्द किशोर पुनका छोरा दीपेश जोडिए। खोजबिनमा त्यसको संस्थापक अध्यक्ष जीवी राई रहेको खुल्यो।

जीवी सहकारी ठगीमा संलग्न रहेकोबारे उकेरामा प्रकाशित पहिलो समाचार।२०८० असार ७ मा एक पाइलटको घरजग्गा शक्तिशाली समूहले हडपेको सूचनाको आधारमा उकेराकर्मी प्रजु पन्तले रिपोर्टिङ गर्दा त्यसमा जीवीसँगै कुमार रम्तेल र दीपेश पनि जोडिए।

खोजबीनकैक्रममा जिल्ला प्रहरी कार्यालय बाराले कम्पनी रजिस्ट्रार कार्यालयमा साउन ९ गते जीवी संलग्न ७ वटा कम्पनीको सेयर र सम्पत्ति रोक्का राख्न पत्र पठाएको थियो। सम्पत्ति रोक्का पनि भयो। यो बेलासम्म जीवी सम्पर्कहीन भइसकेका थिए।

पोखरा, चितवन लगायतका जिल्लाका सहकारीका बचतकर्ताहरूले बचत फिर्ता नपाएको समाचार सार्वजनिक भइरहेका थिए। त्यसमा जीवी र कुमार रम्तेल जोडिएका थिए।

एकाएक जिल्ला प्रहरी कार्यालय कास्कीले २०८० साउन ३२ गते सूचना निकालेर पोखराको सुर्यदर्शन सहकारीका बचतकर्ता भदौ १५ गतेसम्म पीडितहरूलाई जाहेरी दिन आग्रह गर्यो। प्रहरीले भदौ २४ गते जीवीसहित ७ जनालाई पक्राउ पुर्जी जारी गर्यो।

यही बिचमा सहकारीका कोषाध्यक्ष कुमार रम्तेल पक्राउ परे। तर जीवी फेला परेनन्। २०८० असोज १८ मा १९ जनाविरुद्ध बचतकर्ताको १ अर्ब ११ करोड अपचलन गरेको दाबीसहित कास्की जिल्ला अदालतमा मुद्दा दर्ता हुँदा जीवीको अवस्था फरार अभियुक्तकै थियो।

बमको अनपेक्षित उत्तरले ब्युँताएको चासो

जाहेरी दर्ता हुँदा त्यसमा रविसमेत संलग्न रहेको दाबीहरू आए पनि जाहेरीमा उनको नाम थिएन। पछि पीडितहरूले पूरक जाहेरी दिने प्रयास गरिरहेका थिए। प्रहरीले लिन मानेको थिएन।

जीवी समूहले बुटवलको सुप्रिम र पोखराको सुर्यदर्शन मात्र नभई पाँच जिल्लामा रहेको सहकारीको अर्बौँ रकम अपचलन गरेको सार्वजनिक भयो। तर जीवी फेला परेका थिएनन्।

साढे २ वर्षको बिचमा जीवीसहितको समूहविरुद्ध पाँच जिल्लामा सहकारी ठगीको अभियोग पत्र दर्ता भयो। उनी र उनको परिवारै सम्पर्कहीन देखिए। पछि पूरक जाहेरीका आधारमा पाँचै जिल्लामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पनि प्रतिवादी छन्।

यो बेलासम्म रविसँगै जीवी पनि सहकारीको बचत रकम अपचलनमा संलग्न रहेकोमा नागरिक तहमै परिचित नाम भइसकेका थिए। तर फरार रहेका जीवीलाई पक्राउ गर्नेबारे भने आरोप प्रत्यारोप चलिरहेको थियो।

पार्टी सरकार बाहिर रहँदा रविसहितका रास्वपाका नेताहरूले बारम्बार सरकारलाई “जीवी राई खै” भन्दै प्रश्न गर्थे। रास्वपा सरकारमा जाँदा नेपाली कांग्रेसले यही प्रश्न सोध्थे। तर जीवी समातिएनन्।

फागुन २१ को निर्वाचनमा रास्वपाले २ सय ७५ मध्ये एक सय ८२ सिटको जीतसहित एकल नेतृत्वमा सरकार गठन गर्यो। अहिले प्रधानमन्त्रीदेखि गृहमन्त्रीसम्म सबै रास्वपाकै मन्त्रीहरू छन्।

नेपाललिडमा चैत २२ गते बेलुका अन्तर्वार्ताकोक्रममा रास्वपाका सांसद बमलाई कार्यक्रम सञ्चालक राजेन्द्र बानियाले प्रश्न सोधे “यस्तो गृहमन्त्री पाउनु भएको छ कि उहाँलाई सुत्नेसमेत फुर्सद छैन,सोफामै सुत्नुहुन्छ, त्यस्तो काम गर्ने गृहमन्त्रीले पाएपछि जीवीलाई खोजेर ल्याउनुहुन्छ होला नि!”

सांसद पुकार बमले अनपेक्षित उत्तर दिए  “उहाँ जीवित हुनुहुन्छ भने  ल्याउँछौँ।” रवि प्रतिपक्षीबाट सत्ताधारी नै भए पनि उनीमाथिको सहकारी ठगीको अभियोग जीवितै छ।

यही बिचमा जेनजी आन्दोलनको बलमा बनेको नागरिक सरकारको महान्यायाधिवक्ता सविता भण्डारीले उनीसहित जीवीलगायतहरुमाथि लागेको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको अभियोग पत्र सच्याउने निर्णय गरिन्।

निर्णय विरुद्ध अदालतमा रिट परेपछि बहस जारी रहेकै बेलामा रास्वपा झन्डै दुई तिहाइ जनमतसहितको शक्तिशाली सरकार सञ्चालक बनेको बेलामा त्यही दलको सांसदले दिएको संवेदनशील उत्तरले जीवीबारे सुस्त भइसकेको नागरिक चासो पुन ब्युँतायो।

प्रहरीले खोज्दाखोज्दै सहजै ‘फरार’ भए जीवी

कुनै समय सरकारै हल्लाउने विषय बनेका जीवी राईको जीवनमाथि नै प्रश्न उठ्नेगरि सांसद पुकार बमले दिएको उत्तरसँगै उकेराले जीवीको अवस्थाबारे खोजबिन सुरु गर्यो।

उकेराको खोजबीनमा जुन समयमा उनी विरुद्ध बुटवल र पोखरामा प्रहरी अनुसन्धानमा संलग्न भइसकेको थियो त्यो बेलामा उनी नेपालमै रहेको पुष्टि भयो। तर एकाएक उनी नेपालबाट गायब भएर मलेसियामा देखिए। त्यसयता उनी कहाँ छन् उनको खोजीको जिम्मेवारी रहेको राज्यको जिम्मेवार निकायले पनि औपचारिक जानकारी पाउन सकेको देखिएन।

जीवी नेपालबाट भाग्न प्रयोग गरेको स्थलमार्ग र हवाई रुट। अनुसन्धानरतस्रोतबाट उकेराले पाएको विवरण अनुसार जीवी २०८० भदौ ९ सम्म नेपाल बाहिर रहेको देखिन्छ। उनी भदौ १० (२०२३-८-२७) मा एकाएक मलेसियाबाट नेपाल आउँछन्। जानकारस्रोतका अनुसार जीवी त्रिभुवन विमानस्थलको अध्यागमनमा देखिएपछि सुरक्षाकर्मीले त्यही केहीबेर नियन्त्रणमा लिएर माथिल्लो तहमा जानकारी गराएका थिए।

“अहिले छाड्नु” भन्ने आदेश आएपछि उनी नियन्त्रण मुक्त भएर विमानस्थलबाट बाहिरिए। उनी सार्वजनिक गतिविधिमा सक्रिय देखिएका थिएनन्। त्यो बेलामा उनको तर्फबाट कुमार रम्तेल सक्रिय देखिएका थिए।

उनी विभिन्न सहकारीको रकम अपचलनमा संलग्न रहेको विवरणहरू सार्वजनिक हुनेक्रम बढ्यो। जीवीलाई पक्राउ गर्न दबाब बढ्दै गएपछि प्रहरीले खोजी सुरु गर्दा उनी फेला परेनन्। अध्यागमनको रेकर्डमा उनी नेपाल बाहिर गएको तथ्याङ्क थिएन।

जीवी खोज्न दबाब बढ्दै थियो। नेपालबाट स्थलमार्गहुँदै भारत गएको सूचनाको आधारमा भारतीय सुरक्षा निकायसँगको सहकार्यमा विवरण खोज्दा उनी २०८० भदौ २६ (२०२३-९-१२) मा भारतको दिल्लीबाट मलेसिया जाने विमानमा चढेको विवरण फेला पर्यो। उता मलेसियाको अध्यागमनमा भदौ २७ ( २०२३-९-१३) मा उनी मलेसिया भित्रिएको खुल्यो। त्यसपछि उनलाई नेपाल ल्याउन इन्टरपोलबाट डिफ्युजनहुँदै रेड कर्नर नोटिससम्म जारी भयो। कूटनीतिक प्रयास सुरु गरियो। तर उनलाई नेपाल ल्याउन नेपाली सुरक्षा संगठन सफल भएन।

उनी कहाँ छन् भनेर खुलाउने अन्तिम रेकर्ड नै त्यही मलेसियाको क्वालालाम्पुरको अध्यागमनको रेकर्ड देखियो। त्यसपछि उनी कहाँ छन् ? त्यसको आधिकारिक रेकर्ड समेत फेला परेको देखिएन।

“अनौपचारिक रूपमा उनी बिजनेस भिसामा मलेसिया गएको र देशापन्डन र साइबरजयामा रहेको जानकारी आए पनि आधिकारिक रूपमा नेपाली राहदानी प्रयोग गरेर उनी मलेसियाबाट बाहिरिएको रेकर्ड फेला परेको छैन” जीवीबारे अनुसन्धानमा संलग्न स्रोतले उकेरालाई भन्यो “पछि उनीबारे खोजी गर्न दबाब पनि कम भयो। पासपोर्ट निगरानीमा भए पनि खोज्ने काम भने भएको छैन।”

बमको जस्तै रविको विवादास्पद दाबी

२०८१ असार ६ मा रवि लामिछाने दोस्रो पटक गृहमन्त्री भइसकेका थिए। उनी प्रतिपक्षमा रहँदा सत्ताधारी दलमाथि बारम्बार जीवी खै भन्दै प्रश्न गरिरहन्थे। उनी गृहमन्त्रीको रूपमा चितवन जाँदा पत्रकारहरूले उनलाई यही प्रश्न गरे “जीवी खै?” 

जसरी पत्रकार बानियाको प्रश्नमा सांसद पुकार बमले सहजै “जीवित रहे ल्याउँछौँ’ भने, त्यही शैलीमा रविले  “जीवी राई कहाँ छन् भन्ने थाहा भइसकेको” दाबी गरे।

उनले भनेका थिए :

“यो अनुसन्धानको विषयमा हामीले निरन्तर काम गरेर धेरै नजिक आएका छौँ। यो बिचमा दुई पटक मेरो मलेसियाका गृहमन्त्रीसँग कुराकानी भएको छ। आजभन्दा तीन दिन, चार दिन अगाडि पनि मेरो उहाँसँग कुराकानी भएको छ। यो हाम्रो सुपुर्दगी सन्धि नभएका कारणले गर्दाखेरि अलिकति यो कूटनीतिक पहलहरूमा अलिकति समय लागेको छ तर नजिक छौँ। दिनरात कोसिस गरी नै रहेका छौँ। तपाईँहरूले नतिजा पाउनुहुन्छ।”

जीवी मलेसियामा रहेको खुलासा गर्ने उनी पहिलो अधिकारी भने थिएनन्। उनी अगाडि नै तत्कालीन प्रहरी महानिरीक्षक वसन्त कुँवरले २०८० चैत १४ मा संसद्को राज्य व्यवस्था समितिमा भनेका थिए :

जीवी राईको इस्युको सन्दर्भमा हामी पनि संवेदनशील छौँ। किनकि यो (सहकारी ठगी) सबै ईस्युको मुख्य जड त्यही हो भन्ने लाग्छ। यस सन्दर्भमा हामीले डिफ्युजन नोटिस जारी गर्यौँ। रेड कर्नर नोटिस जारी गर्यौँ। सम्बन्धित पक्ष, काउन्टर पार्ट, अहिले मलेसियामा छ नै भन्छु। हामीसँग मलेसियासँग सुपुर्दगी सन्धि छैन। त्यो कन्डिसन छ।

अहिलेको समस्या भनेको मुलुकी फौजदारी संहिताले सुपुर्दगी गर भन्छ। जबकि त्यो वैदेशिक अधिकार प्रयोग गर्नेदेखि मान्छे डिपोर्ट गर्ने काम गर्छ। तर, त्यो नहुँदा नहुँदै पनि मलेसियन सरकारले सुपुर्दगीको हकमा एउटा ड्राफ्ट पठाऊ भन्यो। हामीले अनौपचारिक रूपमा परराष्ट्र मन्त्रालयमार्फत त्यहाँ पठायौँ। तर, त्यो अहिले मन्त्रालयमा गएर बसेको छ।

रेड कर्नर नोटिस, सुपुर्दगी सन्धि सबै कुरा डिप्लोम्याटिक रूपमा हामीले प्रयोग गरेका छौँ। त्यति गर्दा गर्दै पनि मलेसियन सरकार सहमत भएन भने ऊ बाध्य हुँदैन। इन्टरपोलले ब्रिजिङ मात्रै गर्ने हो, फिर्ता पठाउन सक्दैन। त्यसकारण यो जघन्यखालको फाइनान्सिलय अपराध भएको कारणले ऊ बाध्य नभएको होला भन्ने छ।

अझै पनि हामी साइड बाई साइड मेरो तहबाट काम गर्दैछु। त्यहाँ सहकर्मी साथीहरू हुनुहुन्छ, एम्बेसीले पनि लबिङ गरिराखेको छ। 

रमेश लेखक ताते तर सकेनन्

एकाएक सत्ता गठबन्धन बदलिएर माओवादी,एमाले र रास्वपाको साटो एमाले र नेपाली कांग्रेसको सरकार बन्यो। रवि गृहमन्त्रीबाट हटे। कांग्रेसका रमेश लेखक गृहमन्त्री बने।

लेखक प्रतिपक्ष हुँदा उनले नै रविलाई जीवी खै भनेर सोधेका थिए। प्रश्न त उनीमाथि नि उठ्यो नै। तर उनले कार्यकालको प्रारम्भमा निकै जोडबल लगाए पनि जीवीलाई नेपाल ल्याउन सकेनन्। सहकारी ठगीमा रवि पुर्पक्षका लागि कारागार गए। त्यसपछि त प्रश्न पनि सेलाउँदै गयो।

लेखकको गृहमन्त्रीकालमा जीवीलाई नेपाल ल्याउने व्यक्तिगत र कूटनीतिक दुवै तहबाट प्रयास भएको जानकारस्रोतको दाबी छ। मलेसियाको इन्टरपोल शाखासँग नेपालको इन्टरपोल शाखाले समन्वय गरिरहेको थियो।

उता कास्की जिल्ला अदालतको आदेशका आधारमा गृह मन्त्रालयले परराष्ट्र मन्त्रालयमार्फत कूटनीतिक पहल पनि गरिरहेको थियो। तर सकारात्मक प्रतिक्रिया आएन।

नेपालमै रहेका केही सुरक्षाकर्मीहरूले मलेसियाको सुरक्षाकर्मीहरूसँग अनौपचारिक माध्यमबाट सम्बन्ध बनाएर सहकार्यको प्रयास गरेका थिए। नेपालमा अपराध गरेर मलेसिया पुगेका नेपालीलाई फर्काउन सहजै सहयोग गर्नेहरूले जीवबारे भने “यसबारे औपचारिक च्यानलबाहेक सम्भव छैन” भन्ने जवाफ दिएको एक जानकार सुरक्षा अधिकारीले उकेरालाई जानकारी दिए।

त्यसपछि परराष्ट्र मन्त्रालयबाट औपचारिक प्रयाससँगै उतै मलेसियामै समन्वय गर्न मलेसियामा रहेको नेपाली दूतावासमा बस्ने गरी दुई जना प्रहरी अधिकृतहरूलाई मलेसिया पठाइएको थियो। उनीहरूले सबै तहको प्रयास गरे पनि “मलेसियामा उसले कुनै अपराध नगरेसम्म देशबाट बाहिर पठाउन मिल्दैन” भन्ने जवाफ पाएपछि टिम नेपाल फर्किएको थियो।

त्यसपछि कूटनीतिक प्रयासको मात्र भर भयो। तर मलेसियाको परराष्ट्र मन्त्रालयबाट ‘जीवी वैध भिसामा मलेसियामा रहेको, मलेसियामा उनको कुनै आपराधिक रेकर्ड नरहेको र नेपाल र मलेसिया सरकारबीच सुपुर्दगी सन्धि र पारस्परिक कानुनी सहायता सन्धि पनि नभएकाले मलेसियाबाट डिपोर्ट हुने कानुन उलङ्घन नगरेसम्म जीवीलाई नेपाल पठाउन नसकिने’ जवाफ आएपछि जीवी खोज्ने औपचारिक प्रयास रोकिएको खुल्यो।

“उनको राहदानीको रेकर्ड इन्टरपोलका सदस्य राष्ट्रहरूको सूचीमा रहेकाले त्यही राहदानी प्रयोग गरेर मलेसियाबाट दोस्रो देश गए नेपालको इन्टरपोल शाखाले जानकारी पाउन सक्छ,” जानकार अधिकारीले उकेरासँग भने “उनी मलेसियामा प्रवेश गरेको २०८० भदौ २७ पछि त्यस्तो कुनै जानकारी आएको छैन।”

चैत २४, २०८२ मंगलबार २०:५८:०४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।