बालेन सरकारले दुई दिनमा लियो ३७ अर्ब वैदेशिक ऋण, कुन परियोजनामा कति?

बालेन सरकारले दुई दिनमा लियो ३७ अर्ब वैदेशिक ऋण, कुन परियोजनामा कति?

काठमाडौँ : आइतबार र मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले तीन परियोजनाका लागि ३७ अर्ब बढी वैदेशिक ऋण स्वीकार गर्ने निर्णय गर्यो। पछिल्ला दुई दिनमा बसेका मन्त्रिपरिषद् बैठकले विभिन्न अन्तर्राष्ट्रिय दातृ निकायबाट कुल २ सय ७० मिलियन अमेरिकी डलर (करिब ३७ अर्ब नेपाली रुपैयाँ) बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको हो।

डिजिटल नेपालका लागि ९० मिलियन डलर

मन्त्रिपरिषद्ले ‘डिजिटल नेपाल ट्रान्सफर्मेशन प्रोजेक्ट’ का लागि विश्व बैंक र एसियाली विकास बैंकबाट संयुक्त रूपमा ९० मिलियन अमेरिकी डलर ऋण लिने प्रस्ताव स्वीकृत गरेको छ। यस अन्तर्गत एसियाली विकास बैंकबाट ४० मिलियन अमेरिकी डलर र विश्व बैंकबाट ५० मिलियन अमेरिकी डलर ऋण लिने निर्णय गरेको हो।

यस परियोजनामार्फत सरकारी सेवाको डिजिटलीकरण, डाटा सेन्टरको सुदृढीकरण र साइबर सुरक्षाका क्षेत्रमा लगानी गरिने सरकारको लक्ष्य देखिन्छ।

दिगो वित्त र लुम्बिनी विकासमा २० अर्ब बढीको ऋण

सरकारले 'दिगो र समावेशी वित्त परियोजना' का लागि विश्व बैंकबाट प्राप्त हुने ९५ मिलियन अमेरिकी डलर (करिब साढे १२ अर्ब रुपैयाँ) सहुलियतपूर्ण ऋण समेत स्वीकार गर्ने निर्णय गर्यो। यो निर्णय आइतबार भएको थियो।

सरकारले वैदेशिक ऋण लिने निर्णय गरेकोमा प्रतिनिधि सभाको सोमबारको बैठकमा केही सांसदहरूले सो ऋण देशको आवश्यकताको आधारमा लिएको हो या उनीहरूको प्राथमिकताको आधारमा लिएको भनेर प्रश्न उठाएका थिए।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले पुन ‘बृहत्तर लुम्बिनी क्षेत्र विकास परियोजना’का लागि विश्व बैंकले नै प्रदान गर्ने ८५ मिलियन अमेरिकी डलर ऋण लिने सरकारले निर्णय गर्यो।

चैत २४, २०८२ मंगलबार १७:२२:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।