पटक-पटक भर्ना शुल्क नलिन शिक्षा मन्त्रालयको निर्देशन

पटक-पटक भर्ना शुल्क नलिन शिक्षा मन्त्रालयको निर्देशन

काठमाडौं : सरकारले शैक्षिक सत्र सुरु हुनुभन्दा अगावै विद्यार्थी भर्ना नगर्न र भर्ना शुल्क नलिन विद्यालयहरूलाई निर्देशन दिएको छ। 

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मातहतका निकायलाई पत्राचार गरेर स्थानीय तहसँग समन्वय गरी विद्यार्थी भर्ना र शुल्क असुल्ने विद्यालयहरूमाथि कडा निगरानी राख्न निर्देशन दिएको हो।

नयाँ शैक्षिक सत्र सुरु नहुँदै केही विद्यालयले विद्यार्थी भर्ना गर्ने र अग्रिम रूपमा शुल्क असुल गर्ने गरेको प्राप्त गुनासोप्रति मन्त्रालयले ध्यानाकर्षण भएको जनाएको छ। मन्त्रालयका अनुसार शिक्षा नियमावली २०५९ को परिच्छेद १५ को व्यवस्था अनुसार शैक्षिक सत्र सुरु नभई विद्यार्थी भर्ना गर्न पाइँदैन।

कतिपय विद्यालयले स्वीकृतभन्दा बढी शुल्क लिएको, तोकिएकोभन्दा फरक शीर्षकमा शुल्क उठाएको र एउटै विद्यालयमा पटक-पटक भर्ना शुल्क लिएको पाइएको मन्त्रालयको जनाएको छ।

यदि कसैले कानुनी प्रावधान विपरीत अग्रिम शुल्क लिएको भए तत्काल फिर्ता गराउन र सोको अनुगमन गर्न मन्त्रालयले स्थानीय तहहरूलाई अनुरोध गरेको छ।

नियम पालना नगर्ने विद्यालयलाई आवश्यक कानुनी कारबाहीको प्रक्रिया अघि बढाउन समेत मन्त्रालयले सबै स्थानीय तह र शिक्षा विकास तथा समन्वय इकाईलाई निर्देशन दिएको छ।

चैत २४, २०८२ मंगलबार १६:३५:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।