नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त
काठमाडौं : सरकारले नेपाल राष्ट्र बैंकको रिक्त डेपुटी गभर्नरमा कार्यकारी निर्देशक किरण पण्डितलाई नियुक्त गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई डेपुटी गभर्नरमा नियुक्त गर्ने निर्णय गरेको हो।
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले अर्थ मन्त्रालयको प्रस्तावमा पण्डितलाई डेपुटी गभर्नरमा नियुक्त गरिएको जानकारी दिइन्। राष्ट्र बैंकमा रिक्त रहेका दुई डेपुटी गभर्नरमध्ये सरकारले हाल एउटा पदमा मात्र नियुक्ति गरेको हो।
निवर्तमान डेपुटी गभर्नरद्वय डा. नीलम ढुङ्गाना तिम्सिना र बमबहादुर मिश्रको पाँच वर्षे कार्यकाल गत फागुनमा सकिएसँगै राष्ट्र बैंकमा उक्त पद रिक्त थिए। नेपाल राष्ट्र बैंक ऐनमा भएको व्यवस्थाबमोजिम गभर्नर डा. विश्वनाथ पौडेलले रिक्त पदमा सिफारिस गरेका चार जनामध्येबाट सरकारले पण्डितलाई नियुक्त गरेको हो।
विसं २०६२ सालमा नेपाल राष्ट्र बैंकको सेवामा प्रवेश गरेका पण्डित विदेशी विनिमय व्यवस्थापन विभागको प्रमुख (कार्यकारी निर्देशक)का रूपमा कार्यरत थिए। दुई दशक लामो करियरमा उनले बैंक सुपरिवेक्षण, बैंक तथा वित्तीय संस्था नियमन, भुक्तानी प्रणाली विभाग र वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखा जस्ता महत्त्वपूर्ण निकायको नेतृत्व सम्हालिसकेका छन्। उनले केही समय राष्ट्र बैंकको प्रवक्ताको जिम्मेवारी समेत निर्वाह गरेका थिए।
चैत २४, २०८२ मंगलबार १४:५६:३७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।