मन्त्रिपरिषद्को मर्यादाक्रममा हेरफेर : सुधन तेस्रोबाट पाँचौंमा झर्दा शिशिर, विराज र सोविताको बढुवा

मन्त्रिपरिषद्को मर्यादाक्रममा हेरफेर : सुधन तेस्रोबाट पाँचौंमा झर्दा शिशिर, विराज र सोविताको बढुवा

काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाहले सत्ता सम्हालेको दुई हप्ता नपुग्दै मन्त्रिपरिषद्को मर्यादाक्रममा हेरफेर गरिएको छ।

प्रधानमन्त्री शाहको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रीहरूको साविकको मर्यादाक्रमलाई परिवर्तन गरी मंगलबार नयाँ सूची सार्वजनिक गरेका हुन्।

चैत १३ गते गठित मन्त्रिपरिषद्को मर्यादाक्रमलाई चैत २४ गते परिमार्जन गरिँदा केही मन्त्रीहरूको वरीयता थपिएको छ भने केहीको घटाइएको छ। तर, सबै मन्त्रीहरूको कार्यविभाजन (मन्त्रालय) भने साविककै कायम राखिएको छ।

नयाँ मर्यादाक्रम अनुसार परराष्ट्रमन्त्री शिशिर खनाल र ऊर्जामन्त्री विराज भक्त श्रेष्ठको वरीयता बढेको छ। चैत १३ को सूचीमा चौथो नम्बरमा रहेका खनाल अहिले तेस्रोमा उक्लिएका छन् भने छैटौँ नम्बरमा रहेका श्रेष्ठ चौथो नम्बरमा आइपुगेका छन्।

यसअघि तेस्रो नम्बरमा रहेका गृहमन्त्री सुधन गुरुङ दुई स्थान तल झरेर पाँचौँ नम्बरमा पुगेका छन्। त्यस्तै, पाँचौं नम्बरमा रहेका भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्साल एक स्थान तल झर्दै छैटौँ नम्बरमा पुगेका छन्।

मर्यादाक्रममा सबैभन्दा ठूलो छलाङ कानुनमन्त्री सोविता गौतम र महिला बालबालिका मन्त्री सीता बादीले मारेका छन्।

यसअघि सूचीको पुच्छारतिर १२औं नम्बरमा रहेकी सोविता गौतम अहिले सातौं नम्बरमा आइपुगेकी छिन्। त्यस्तै, चैत १३ को सूचीमा १५औं (अन्तिम) नम्बरमा रहेकी सीता बादी अहिले आठौं नम्बरमा उक्लिएकी छन्।

शिक्षा मन्त्री सस्मित पोखरेल र संस्कृति तथा पर्यटन मन्त्री खडक राज पौडेल को वरीयता भने खस्किएको छ। यसअघि सातौं नम्बरमा रहेका पौडेल अहिले १२औंमा पुगेका छन् भने आठौं नम्बरमा रहेका पोखरेल ११औं नम्बरमा झरेका छन्।

प्रधानमन्त्री वालेन्द्र शाह र अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको मर्यादाक्रम भने पहिलो र दोस्रो नम्बरमा यथावत रहेको छ।

चैत २४, २०८२ मंगलबार १२:५४:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।