एनपिएलको आम्दानी र खर्च विवरणमा प्रश्न गर्दै आठ बोर्ड सदस्यद्वारा बैठक बहिस्कार, बहुमतले पेलेर दुवै सिजनको पास
काठमाडौं : नेपाल प्रिमियर लिग पहिलो र दोस्रो सिजनको आम्दानी र खर्चको पारदर्शिताबारे प्रश्न उठाउँदै नेपाल क्रिकेट संघ क्यानका आठ जना बोर्ड सदस्यहरूले केन्द्रीय कार्यसमिति बैठक बहिस्कार गरे।
विवादका कारण गत वर्षको एनपिएको समेत आम्दानी र खर्च पास हुन सकेको थिएन। एनपिएल दुवै शृङ्खलाको आम्दानी र खर्च पास गराउन राखिएको बैठकमा आठ सदस्यले सबै आम्दानी र खर्चको विवरण पारदर्शी हुनुपर्ने माग राखेका थिए।
बहुमत सदस्य शनिवार राखिएको बैठकमा उपस्थित नभएपछि बैठकै स्थगित भएको थियो। शनिवार नौ जना अनुपस्थित भएका थिए। सोमबार राखिएको बैठकमा नौ जनामध्ये सदस्य विक्रम विष्ट सहभागी भएपछि बहुमत पुग्यो। त्यसैको आधारमा बैठकले एकै पटक दुवै शृङ्खलाको आम्दानी र खर्च नै पारित गर्ने निर्णय गर्यो।
सोमबारको बैठकमा उपाध्यक्ष रोशन सिंह र सदस्यहरू दिवाकर घले, वीरेन्द्र चन्द, माधव कर्माचार्य, जयन्तीदेवी भट्ट, अर्जुन पौडेल, दुर्गा पाठक र प्रदीप मजगैया उपस्थित भएनन्।
बहिस्कार पक्षका एक बोर्ड सदस्यले पहिलो शृङ्खलाको आम्दानी र खर्चबारे अख्तियारसहितमा अनुसन्धान जारी रहेको र सचिव पारस खड्काको नेतृत्वको एनपिएल गभर्निङ काउन्सिलले कार्यसमितिमा पारदर्शी रूपमा हिसाब देखाउन नसकेकाले बैठकै बहिस्कार गर्न बाध्य भएको दाबी गरे।
“आज बहुमतको आधारमा पास गर्ने निर्णय भएको छ। तर हाम्रो अडान पुरानै छ। दुवै सिजनको हिसाबकिताबको डकुमेन्ट दिनुपर्यो” ती सदस्यले भने।
यता, क्यान अध्यक्ष चतुरबहादुर चन्दले भने बहिस्कार नभएर काठमाडौँमा उपलब्ध नभएकाहरू शनिवार र सोमबारको बैठकमा पनि नगएको दाबी गरे।
उनले भने, “बहिस्कार नै भन्न मिल्दैन। साथीहरू काठमाडौँ बाहिर जानु भएकोले शनिबारको बैठक स्थगित गरेर आज राखिएको थियो” उनले दाबी गरे।
१७ सदस्यीय केन्द्रीय कार्यसमिति रहेको क्यानमा बहुमत भएको खण्डमा पेस गरेको निर्णय पास हुने व्यवस्था छ। त्यसैको आधारमा विवादित एनपिएलको दुवै शृङ्खलाको आम्दानी र खर्चसँगै अन्य चार निर्णय समेत भएको छ।
एनपीएलको दोस्रो सिजनबाट ९ करोड २१ लाख क्यानलाई मुनाफा भएको विवरण सार्वजनिक गरेको छ। क्यानले सार्वजनिक गरेको प्रेस विज्ञप्तिमा उल्लेख भए अनुसार संघको सोमबार बसेको केन्द्रीय कार्यसमितिको बैठकमा एनपीएल गभर्निङ काउन्सिलले सो विवरण प्रस्तुत गरेको थियो।
यता, एक बोर्ड सदस्यले भने सो मुनाफाको विवरण नै गलत भएको दाबी गरे। उनका अनुसार दोस्रो सिजनमा क्यान ८८ लाख घाटामा गएको भए पनि गर्भनिङ्ग काउन्सिलले नाफा देखाएको हो।
“क्यान अझै ८८ लाख घाटामै छ। तर पनि नाफा भयो भन्दै विज्ञप्ति निकालेको छ। यो सरासर गलत हो।” उनले दाबी गरे। तर घाटाको प्रस्ट आधार भने खुलाउन सकेनन्।
प्रेस विज्ञप्तिमा उल्लेख भए अनुसार क्यानले एनपीएलको दोस्रो सिजनबाट ४७ करोड ३६ लाख कुल आम्दानी गरेको दाबी छ। त्यसमध्ये प्रतियोगिता सञ्चालनमा २१ करोड ९६ लाख खर्च भएको विज्ञप्तिमा उल्लेख छ। प्रतियोगिता सञ्चालनको खर्च कटाएर २५ करोड ३९ लाख जोगिएकोमा त्यसमध्ये ८ फ्रेन्चाइज टोलीलाई ५० प्रतिशत दिने सम्झौता अनुसार १६ करोड १८ लाख दिएर बाँकी रहेको ९ करोड २१ लाख नाफा भएको उल्लेख छ।
एनपिएलको पहिलो सिजनमा २७ करोड ६९ लाख आम्दानी भएको विवरण सार्वजनिक भए पनि आम्दानी र खर्च पारदर्शी नभएको भन्दै सो विवरण केन्द्रीय समितिबाट अनुमोदन भएको थिएन। त्यसयता पहिलो संस्करणको आम्दानी र खर्च अनुमोदनबारे क्यानले आधिकारिक रूपमा सार्वजनिक गरेको छैन।
आधिकारिक रूपमा सार्वजनिक नगरेको भए पनि पहिलो सिजनको खर्च तथा आम्दानी केन्द्रीय कार्यसमिति बैठकले पास भएको अध्यक्ष चन्दले जानकारी दिए। “गत वर्षको खर्च तथा आम्दानी समेत पास भएको छ” उनले भने।
गत वर्ष क्यानले २०८२ साउन १६ गते खर्च र आम्दानीको विवरण सार्वजनिक गरेको थियो। उक्त विवरणअनुसार आम्दानी २७ करोड ७९ लाख ६४ हजार र खर्च २० करोड १५ लाख ७३ हजार भएको दाबी गरिएको थियो। करबाहेकको नाफा ७ करोड ५३ लाख ९१ हजार भएको देखाइएको थियो। जसमा फ्रेन्चाइज टिमलाई बाँडेको रकम ३ करोड १६ लाख, प्रदेश संघलाई छुट्याएको रकम ७० लाख र क्यानलाई २ करोड ४६ लाख नाफा बाँडिएको खर्च क्यानले सार्वजनिक गरेको थियो।
तर, उकेराले प्राप्त गरेको पहिलो सिजनको विस्तृत खर्च विवरणअनुसार १६ करोड बढी अनियमितता भएको प्रमाणसहित समाचार प्रकाशन गरेको थियो।
पहिलो सिजनमा क्यानले अनियमितता गरेको भन्दै क्यानको बोर्ड बैठकले समेत पहिलो सिजनको खर्च विवरण हालसम्म पनि पारित गरेको छैन। क्यानले अपारदर्शी रूपमा ठेक्का गर्ने, प्रतिस्पर्धा नगराई लाइभ ब्रोडकास्टर चयन गर्ने, अनुमति नलिई विदेशी विज्ञापन त्यसमा पनि जुवा खेलाउने कम्पनीको सरोगेट विज्ञापन राख्ने, सरकारसँग अनुमति नलिई विदेशी कम्पनी र व्यक्तिसँग सम्झौता गर्नेलगायतका गतिविधिले एनपिएल प्रारम्भदेखि नै विवादमा तानिएको थियो।
पहिलो पटक कर्पोरेट क्षेत्रको सहभागितामा भएको खेलको उत्साहका कारण एनपिएल चलेसम्म प्रश्न उठे पनि नकारात्मक आलोचना भने भएन। तर, पहिलो सिजन सकिएपछि भने लिगको अनियमितताबारे प्रमाणसहित समाचार आएपछि क्यानका गैरकानुनी गतिविधिहरू सार्वजनिक भएका थिए।
पहिलो सिजनमा भएको अनियमितताको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा ३ वटा उजुरी परेको थियो। जसमा खेलकुद मन्त्रालयलाई अनुसन्धान गर्न पत्राचार गरेकोमा एमाले-काँग्रेसबाट खेलकुद मन्त्री भएका तेजुलाल चौधरीले राष्ट्रिय खेलकुद परिषद्को सदस्यसहितको छानबिन कार्यदल गठन गरेको थियो।
उक्त कार्यदलले क्यानलाई ३ पटक पत्राचार गरेको भए पनि कार्यदलले माग गरेको डकुमेन्ट उपलब्ध नगराएपछि उक्त कार्यदलले खेलकुद मन्त्रालयलाई क्यानले असहयोग गरेको भन्दै प्रतिवेदन बुझाएको थियो। उक्त प्रतिवेदन खेलकुद मन्त्रालयले अख्तियारमा पठाउनु पर्नेमा हालसम्म मन्त्रालयमै थन्किएर बसेको छ।
पहिलो सिजनमा टिसिएम लगायतका कम्पनीसँगको क्यानको सहकार्यदेखि लिएर अनलाइन बेटिङ प्रवर्धन गर्न त्यसको सरोगेट विज्ञापन मैदानमा राख्ने लगायतका विषयहरू समेत विवादित छन्।
क्यानले अहिलेसम्म पनि स्पन्सरहरूसँग के कतिमा सम्झौता भएको हो सो खुलाएको छैन। पहिलो सिजनमा सार्वजनिक खरिद कानुन उलङ्घन गरेर अपारदर्शी रूपमा टेन्डर प्रक्रिया गरेकोमा दोस्रो सिजनमा पनि टिकटदेखि ओटिटी प्लेटफर्ममा प्रसारण अधिकारीसम्म विवादमा आएका थिए। ओटिटी विवाद अदालतमा विचाराधीन छ।
चैत २३, २०८२ सोमबार २३:०१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।