काठमाडौंसहित देशका विभिन्न क्षेत्रमा वर्षा
काठमाडौं : पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभावका कारण सोमबार काठमाडौं उपत्यकासहित देशका विभिन्न क्षेत्रमा वर्षा भएको छ।
जल तथा मौसम विज्ञान विभागको सोमबार साँझको अभिलेख अनुसार पछिल्लो ६ घण्टामै काठमाडौंमा १८.८, ललितपुरमा १५.४ र भक्तपुरमा १६.४ मिलिमिटर वर्षा भएको छ। विभागका सूचना अधिकारी दिनकर कायस्थका अनुसार पछिल्लो ६ घण्टामा सोमबार सबैभन्दा बढी नुवाकोटमा ३४.२ मिलिमिटर वर्षा भएको छ , त्यसपछि सिन्धुपाल्चोकमा २१.८ मिलिमिटर वर्षा भएको छ।
विभागले अहिले गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी तथा हिमाली भू-भागमा साधरणतया बादल लागेको छ र बाँकी भू-भागमा आंशिक बादल लागेको जनाएको छ। यस्तै गण्डकी प्रदेशका धेरै स्थानहरूमा, बागमती प्रदेशको पहाडी भू-भागका केही स्थानहरूमा तथा बाँकी हिमाली र पहाडी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा/हिमपात भइरहेको जनाइएको छ।
प्राप्त विवरणअनुसार पछिल्लो ३ घण्टामा प्युठान, सिन्धुपाल्चोक, गुल्मी, गोरखा, लमजुङ, नुवाकोट, काठमाडौं उपत्यका, स्याङ्जालगायतका क्षेत्रमा १० मिलिमिटरभन्दा बढी वर्षा भएको छ। अन्य धेरै मापन केन्द्रहरूमा हल्का वर्षा भएको छ। हिजोदेखि बदली भएको मौसम पूर्व सर्दै आज काठमाडौं आइपुगेको छ।
मङ्गलबार देशको हिमाली र पहाडी भू-भागमा साधरणतया बादल लाग्ने तथा बाँकी भू-भागमा आंशिक बादल लाग्ने तथा देशका पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा तथा कोशी प्रदेशको तराई भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षा/हिमपातको सम्भावना रहेको विभागले जनाएको छ। बुधवार भने धेरै स्थानमा वर्षा हुने जनाइएको छ।
चैत २३, २०८२ सोमबार २२:०५:११ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।