चैतमा मात्रै २३ स्थानमा देखियो बर्डफ्लु

चैतमा मात्रै २३ स्थानमा देखियो बर्डफ्लु

काठमाडौं : गत चैत ६ गते मोरङमा पहिलो पटक देखिएको बर्डफ्लुको सङ्क्रमण एक महिना नपुग्दै मुलुकका २३ स्थानमा फैलिएको छ।

काठमाडौं उपत्यकासहित देशका पाँच जिल्लामा सङ्क्रमण तीव्र बनेपछि सरकारले 'आकस्मिक रोग अन्वेषण टोली' परिचालन गरी एक लाखभन्दा बढी पशुपक्षी नष्ट गरेको छ।

पशु सेवा विभागका महानिर्देशक डा उमेश दाहालले यस वर्ष चैतमा मात्र २३ ठाउँमा बर्डफ्लु रोग देखिएको बताए। यस वर्ष चैत ६ गते अघि बर्डफ्लु देखिएको थिएन। चैत ६ गते पहिलो पटक मोरङको सुन्दरहरैचा र उर्लाबारी नगरपालिकामा एकै साथ दुई स्थानमा बर्डफ्लु देखिएको थियो। 

उनका अनुसार सुनसरीमा १२ स्थान, मोरङमा सात स्थान, झापा दुई ठाउँ, चितवनमा एक ठाउँ र काठमाडौंमा एक स्थानमा बर्डफ्लु रोग देखिएको छ। उनले बर्डफ्लु देखिएको स्थानलाई नियन्त्रणमा लिई फैलिन नदेखिएको बताए।

उनका अनुसार ती स्थानमा एक लाख चार हजार कुखुरा एवं हाँस नष्ट गरिएको छ। काठमाडौंको त्रिभुवन विश्वविद्यालय परिसरका कागमा बर्डफ्लु देखिएको थियो। सुनसरी, झापा र मोरङमा बर्डफ्लुको सङ्क्रमण फैलिएपछि ती जिल्लामा पशुपक्षी ओसारपसारमा प्रतिबन्ध लगाइएको महानिर्देशक डा दाहालले बताए।

“बर्डफ्लु देखिएको स्थानमा हामीले बर्डफ्लु क्षेत्र घोषणा गरेर आकस्मिक रोग अन्वेषण टोलीले ती पशुपक्षीलाई नष्ट गर्ने काम गरेको छ,” उनले भने, “हामीले बर्डफ्लु रोग नियन्त्रणमा गरेको कामबाट धेरै नमुनामा बर्डफ्लुको सङ्क्रमण देखिएको छैन।”

सरकारले बर्डफ्लु देखिएपछि हाँस, कुखुरा नष्ट गर्ने गर्दछ र सो बापत ७५ प्रतिशत क्षतिपूर्ति किसानलाई उपलब्ध गराउँदै आएको छ।

चैत २३, २०८२ सोमबार १४:५३:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।