‘लालीबजार’ को गीत करोड क्लबमा, टिजरलाई भने ६ लाख दर्शकले पनि पत्याएनन्
काठमाडौं : प्रदर्शनको तयारीमा रहेको फिल्म ‘लालीबजार’ को यतिबेला निकै चर्चा भैरहेको छ। फिल्ममा समावेश गीत ‘मायालाई के दिउँ म बैना’ ले रिलिजको तीन हप्तामै युट्युबमा १ करोड भ्युजको आँकडा पार गरेको हो।
यो समाचार तयार पार्दासम्म गीतलाई १ करोड ५ लाख ४५ हजारभन्दा बढी पटक हेरिएको छ भने ८७ हजार लाइक र १७ सयभन्दा बढीले प्रतिक्रिया दिएका छन्।
पछिल्लो समय नेपाली फिल्मका गीतहरूले अपेक्षाअनुसार भ्युज नपाइरहेको अवस्थामा ‘लालीबजार’को गीतले पाएको सफलताले निर्माण टिमलाई थप हौसला मिलेको छ। फिल्मको पहिलो रिलिज गीतले करोड पार गरेपछि फिल्मका लेखक तथा निर्देशक यम थापा उत्साहित देखिएका छन्।
गीतले छोटो समयमै सफलता पाएपछि निर्माण टिमले आइतबार केक काटेर खुसीयाली मनाएको छ। केक काट्ने कार्यक्रममा अभिनेत्री स्वस्तिमा खड्का, अभिनेता रबिन्द्र सिंह बाँनिया र कार्यकारी निर्माता प्रदीप भट्टराई लगायतको उपस्थिति थियो।
सोही अवसरमा निर्माण टिमले फिल्मको दोस्रो गीत ‘मिठो संसार’ को लिरिकल भर्सन पनि सार्वजनिक गरेको छ। समीक्षा अधिकारी, दिलिजा रुवाली, अलिशा शर्मा र पूर्णिमा तामाङको स्वर रहेको यस गीतमा जयन जे वाइवाको शब्द र संगीत रहेको छ। निर्देशक थापाले नयाँ गीतबारे प्रष्ट पार्दै भने भने, ‘गीतमा आमा र छोरी बीचको प्रेम देखाइएको छ। छोरी प्रति आमाको माया र हुर्काउन गर्ने सङ्घर्षलाई फिल्मको मुख्य कथा बनाइएको छ।’
फिल्मका गीतले करोडौंको भ्युज पाइरहँदा, टिजरले भने अपेक्षाकृत चर्चा पाएको देखिँदैन। फिल्मको टिजरले ६ लाख भ्युज पनि पुर्याउन सकेको छैन। टिजर हालसम्म करिब ५ लाख ७८ हजारले हेरेका छन् भने ६८ सयले कमेन्ट गरेका छन्।
स्वस्तिमा खड्काको मुख्य भुमिका रहेको यस फिल्ममा उनका अलवा रवीन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, प्रेम पाण्डे, आशा पौडेल, गोविन्द सुनार, आभा अर्याल, तारा शर्मा, रमेश वादी, सरस्वती अधिकारी, जानकी कठायत, निश्चल पन्थी, विरवल चौधरी, कुन्टल लगायतको अभिनय रहेको छ।
यम थापाको कथा तथा निर्देशनमा तयार भएको फिल्म ‘लालीबजार’को पटकथा र संवाद निर्देशक थापा र प्रदीप भट्टराईले संयुक्त रूपमा लेखेका हुन्।
यस फिल्मका कार्यकारी निर्माता प्रदीप भट्टराई रहेका छन्। साथै निर्मातामा म्याक्स दीपेश खत्री र कलाकार रविन्द्रसिंह बानियाँ छन्।
षट्कोण आर्ट्सको ब्यानरमा निर्माण भएको यस फिल्मलाई सुशन प्रजापतिले खिचेका हुन् भने मित्रदेव गुरुङले सम्पादन गरेका हुन्। फिल्ममा प्रकाश सपूत, खेम सेन्चुरी र जयन जे वाइवाको संगीत रहेको छ।
चैत २३, २०८२ सोमबार १४:४३:३६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।