सरकारलाई एमाले सांसदको महरको चेतावनी- ‘प्रतिशोधको राजनीति बन्द गर्नुस्, नत्र डोको सुरक्षित राख्नुस्’
काठमाडौं : एमाले सांसद ऐनबहादुर महरले सरकारले प्रतिशोध र पूर्वाग्रहको राजनीति गरिरहेको भन्दै संसदमा आपत्ति जनाएका छन्।
प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद महरले सरकारका पछिल्ला कदमहरू लोकतन्त्र र संविधानको मर्म विपरीत रहेको दाबी गरे।
सांसद महरले सरकारले एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकमाथि गैरकानुनी र गैरन्यायिक ढंगले पक्राउ गर्ने प्रयास गरेको आरोप लगाउँदै सरकारलाई चेतावनी दिए।
‘प्रतिशोध र पूर्वाग्रहको राजनीति लोकतन्त्रको शत्रु हो,’ उनले भने, ‘यदि यसरी नै पूर्व प्रधानमन्त्री र गृहमन्त्रीहरूलाई निशाना बनाउने हो भने, अहिलेका शासकहरूले पनि आफ्नो लागि ‘डोको’ सुरक्षित राखे हुन्छ, किनकि तपाईंहरू पनि भोलि ‘पूर्व’ हुनुपर्नेछ।’
नेपाली राजनीतिमा ‘डोको’को सन्दर्भले भोलि आफूलाई पनि त्यसै गरी बोकेर लैजाने वा कारबाही हुने संकेत गर्दछ।
सरकारको कदमले नेपालको संविधानको धारा १६, १७ र १८ मा व्यवस्था गरिएको मौलिक हकको हनन गरेको महरको तर्क थियो। साथै, यो संयुक्त राष्ट्रसंघको मानवअधिकार घोषणापत्र १९४८ को धारा ९ र १० को समेत विरुद्ध रहेको उहाँले बताउनुभयो। उहाँले अभिलम्ब प्रतिशोधको राजनीति बन्द गरी विनासर्त रिहाइ र न्यायको माग गर्नुभयो।
सरकारले सार्वजनिक गरेको शासकीय सुधार सम्बन्धी कार्यसूचीको बुँदा नम्बर ८६ मा विद्यार्थी संगठन र ट्रेड युनियनमाथि प्रतिबन्ध लगाउने वा खारेज गर्ने आशय देखिएको भन्दै उनले आलोचना गरे।
विद्यार्थी आन्दोलनलाई लोकतन्त्रको आत्माको संज्ञा दिँदै उनले भने, ‘अरिङ्गालको गोलोमा हात हाल्ने काम सरकारले नगरोस्।’
सांसद महरले विद्यार्थी संगठनहरू नेपालमा मात्र नभई विश्वका शक्तिशाली लोकतान्त्रिक र कम्युनिष्ट मुलुकहरूमा पनि सक्रिय रहेको उदाहरण दिए।
उनले चीनको ‘कम्युनिष्ट युथ लिग’, भारतको ‘अखिल भारतीय विद्यार्थी परिषद्’, र अमेरिकाका ‘कलेज रिपब्लिकन’ तथा ‘कलेज डेमोक्र्याट्स’ जस्ता संगठनहरूको चर्चा गर्दै नेपालमा विद्यार्थी राजनीति रोक्न खोज्नु पश्चगामी कदम हुने बताए।
आफ्नो निर्वाचन क्षेत्र बझाङका जनतालाई धन्यवाद दिँदै सुरू गर्नुभएको सम्बोधनमा उनले नयाँ सभामुखलाई बधाई दिँदै संसदलाई गरिमामय र जनमुखी बनाउन अभिभावकीय भूमिका निर्वाह गर्न आग्रह समेत गरे।
चैत २३, २०८२ सोमबार १४:००:५९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।