रास्वपा सभापति रविको वाचा विपरीत सभामुख डिपीले राप्रपा सांसद खुस्बुको माइक काटे
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसद्को पहिलो दिन बोल्दै अब संसदमा बोल्दाबोल्दै कसैको माइक नकाटिने दाबी गरे। संसदमा बोल्ने सांसदहरूलाई निश्चित समय तोक्ने नियमै भए पनि हिजोका दिनमा रास्वपाका सांसदहरू बोल्दा माइक काटिएको भन्दै उनीसहितका सांसदहरूले आपत्ति जनाउने गरेका थिए।
अहिले सभामुख रास्वपाकै डीपी अर्याल छन्। तर सोमबारको बैठकमा राप्रपाकी सांसद खुश्बु ओलीले बोल्दाबोल्दै सभामुखले उनको माइक काटिदिए। उनले बैठकको सुरुवात गर्दा सांसदहरूलाई तीन मिनेटको समय दिएका थिए।
ओलीले प्रधानमन्त्रीमा बालेन्द्र शाहको शपथको क्रममा हिन्दु र बौद्धको मन्त्रोच्चारण गराएकोमा आलोचना भइरहेको भन्दै त्यसमा आफ्नो धारणा राखेकी थिइन्। उनले नेपाललाई धर्मनिरपेक्ष बनाउँदा नागरिकसँग सोधिएको थियो भनेर प्रश्न गर्दागर्दै तोकिएको समय सकियो। उनको सम्बोधन सकिएको थिएन। तर उनको माइक काटियो।
ओलीले प्रारम्भमा सभामुखमा निर्वाचित भएकोमा अर्याललाई बधाई दिएर हिजोको दिनका सभामुखले जस्तो सत्तापक्ष र प्रतिपक्षका सांसदहरुबीचको विभेदको अनुभव गर्नु नपर्ने अपेक्षा राखेकी थिइन्। सरकारले आइतबारको बैठकमा स्वीकृत गरेको ऋणबारे प्रश्न गरेकी थिइन्। संसदीय बजेटबारे प्रश्न उठाउँदै स्वार्थमा आधारित बजेट रोक्न माग गरेकी थिइन्।
उनले मध्यपूर्वमा भइरहेको द्वन्द्वका कारण नेपालमा परेको असर र व्यवसायीमाथि परेको प्रभावबारे बोलिरहेकी थिइन्। सभामुखले उनलाई तोकेको तीन मिनेट समय सकिएको जानकारी गराएपछि उनले म सक्काउँछु भन्दै बालेन्द्रले हिन्दु परम्परा अनुसार लिएको शपथबारे भएको आलोचनाबारे बोल्दाबोल्दै माइक काटियो।
त्यसपछि उनले रास्वपाका सांसद मनिष झालाई समय दिए। मनिषलाई समय दिँदा उनले पाँच मिनेट दिएका थिए।
चैत २३, २०८२ सोमबार १३:४५:१६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।