सदनमा जनताका प्रश्न नभेटिए जनता आफैँ भित्र पस्छन् : मनिष झा

सदनमा जनताका प्रश्न नभेटिए जनता आफैँ भित्र पस्छन् : मनिष झा

काठमाडौं : सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले नेपालको संसद दक्षिण एसियाकै उत्कृष्ट रहेको दाबी गर्दै यसको अभ्यासमा सुधार गर्नुपर्नेमा जोड दिएका छन्।

मंगलबार संसदको बैठकमा बोल्दै सांसद झाले व्यवस्था उत्कृष्ट भए पनि त्यसको कार्यान्वयन र अभ्यासमा कमजोरी रहेको टिप्पणी गरे।

सांसद झाले संसदले जनताका समस्या र प्रश्नहरूलाई सही ढंगले सम्बोधन गर्न नसके नागरिकहरू आफैँ संसदभित्र छिर्ने स्थिति आउन सक्ने चेतावनी दिए।

‘यदि जनताले सदनमा आफ्ना प्रश्नहरूको अस्तित्व देखेनन् भने उनीहरू आफैँ संसदमा पस्छन्,’ उनले भने, ‘भदौ २४ गतेको घटना यसको पछिल्लो उदाहरण हो।’

उनले संसदलाई केवल औपचारिक थलो मात्र नबनाई जनताको आवाज सुनिने थलो बनाउनुपर्नेमा जोड दिए।

सत्तारुढ दलहरूतर्फ लक्षित गर्दै सांसद झाले संसदमा संख्याको बलमा दम्भ देखाउनु प्रत्युत्पादक हुने बताए।

‘सदनमा सत्तापक्ष बलियो हुँदा दम्भ देखाउने होइन, उदारता देखाउनुपर्छ’, झाले भने।

भदौ २३ गतेको सन्दर्भ कोट्याउँदै उनले सत्तापक्षको अहङ्कारले राम्रो परिणाम नदिने स्पष्ट  पारे।

भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि भएको निर्वाचनले दिएको परिणामपछि बनेका संसदमा पहिलो पटक डीपी अर्यालले सभामुखको हैसियतले सभा सञ्चाचल गर्दैछन्।

चैत २३, २०८२ सोमबार १३:४०:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।