अमेरिकालाई इरानको कडा चेतावनी- ‘सर्वसाधारणमाथि हमला भए अझै भयानक प्रतिकार गर्छौँ’
एजेन्सी : इरानले अमेरिका र इजरायललाई कडा चेतावनी दिँदै यदि सर्वसाधारणलाई निशाना बनाइएमा त्यसको परिणाम ‘अझै खतरनाक’ हुने बताएको छ।
इरानी सरकारी सञ्चारमाध्यमका अनुसार इरानले आफ्ना आगामी सैन्य कारबाहीहरू पहिलेको तुलनामा निकै ठूलो र घातक हुने उद्घोष गरेको छ।
इरानको सबैभन्दा ठूलो सैन्य कमाण्ड युनिट ‘खातम अल-अन्बिया सेन्ट्रल हेडक्वार्टर’का प्रवक्ताले इस्लामिक रिपब्लिक अफ इरान ब्रोडकास्टिङ (आईआरआईबी) मार्फत यो चेतावनी जारी गरेका हुन्।
उनले भनेका छन्, ‘यदि सर्वसाधारणमाथि आक्रमण दोहोर्याइयो भने, हाम्रो आगामी जवाफी हमला पहिलेको भन्दा अझ शक्तिशाली, व्यापक र खतरनाक हुनेछ।’
यो चेतावनी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दिएको धम्कीको प्रतिक्रिया स्वरूप आएको हो। ट्रम्पले इरानलाई अल्टिमेटम दिँदै मंगलबारसम्म स्ट्रेट अफ हर्मुज पुनः नखोले इरानका पावर प्लान्ट र पुलहरूमा आक्रमण गर्ने चेतावनी दिएका थिए।
इरानले ट्रम्पको यस धम्कीलाई ‘युद्ध अपराध’को संज्ञा दिएको छ।
इरानी अधिकारीहरूले अन्तर्राष्ट्रिय समुदाय र विश्वका सबै देशहरूलाई सम्बोधन गर्दै यस्ता भयानक सैन्य अपराधहरू रोक्नु उनीहरूको कानुनी र नैतिक जिम्मेवारी भएको बताएका छन्।
चैत २३, २०८२ सोमबार १३:१७:०९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।