पोखराको जग्गा भाडाबारे गृहमन्त्री सुधनको दाबी- ‘हामी ठगीमा पर्यौं’

पोखराको जग्गा भाडाबारे गृहमन्त्री सुधनको दाबी- ‘हामी ठगीमा पर्यौं’

काठमाडौं : पोखराको फेवाताल मापदण्डभित्र पर्ने जग्गा भाडामा लिएर अलपत्र पारेको र सम्पर्कविहीन भएको भन्दै विवादमा तानिएका गृहमन्त्री सुधन गुरुङले उक्त प्रकरणमा उल्टै आफूहरू ठगीमा परेको दाबी गरेका छन्।

श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्कराज राई (हर्क साम्पाङ)ले सामाजिक सञ्जाल मार्फत नैतिकताको प्रश्न उठाएपछि गृहमन्त्री गुरुङले सोही स्टाटसमा कमेन्ट गर्दै आफूहरूले जग्गा खरिद नगरेको, बरु भाडामा लिएर लगानी गर्दा फसेको दाबी गरेका हुन्।

सांसद राईको प्रश्नको जबाफ दिँदै गृहमन्त्री गुरुङले ८-१० वर्षअघि आफूसहित तीन जना युवाले पोखराको पर्यटन विकास गर्ने उद्देश्यले विकट ठाउँमा जग्गा भाडामा लिएको बताएका छन्।

‘त्यसबेला उक्त जग्गा ६५ मिटर (फेवाताल मापदण्ड) क्षेत्रमा नपर्ने भनी जानकारी दिइयो, लालपुर्जा समेत देखाइयो, र त्यसैअनुसार हामीले लगानी सुरू गर्यौं,’ गृहमन्त्री गुरुङले लेखेका छन्, ‘तर पछि नगरपालिकाबाट उक्त जग्गा ६५ मिटर क्षेत्रमा पर्ने तथ्य थाहा पाएपछि हाम्रो लगानी जोखिममा पर्यो। निर्माण कार्य समेत रोक्नुपर्ने अवस्था आयो। हाम्रो लगानी र सपना दुवै डुब्यो र हामी ठगीमा परेको बल्ल महसुस गर्यौँ।’

ठगीमा परे पनि अरुलाई दुःख नदिने उद्देश्यले आफूहरू चुप लागेर बसेको बताउँदै उनले अवैध मानिएको जग्गामा ठूलो लगानी डुबिसकेपछि फेरि भाडा तिर्नु उपयुक्त नहुने जिकिर गरेका छन्।

साथै, विश्वासमाथि ठगी भएको भन्दै उनले अब यस विषयमा कानुनी उपचारको बाटो खोज्ने घोषणा समेत गरेका छन्। उनले सञ्चारमाध्यमहरूलाई पनि यथार्थ नबुझी एकतर्फी समाचार नलेख्न आग्रह गरेका छन्।

यसअघि सांसद हर्कराज राईले गृहमन्त्री गुरुङलाई सम्बोधन गर्दै लामो स्टाटस लेखेका थिए। राईले गृहमन्त्रीले जेनजी आन्दोलनको २३ गतेको घटनाका दोषीलाई पक्राउ गरेकोमा धन्यवाद दिँदै २४ गतेको घटनाका दोषीमाथि कारबाही र जीबी राईलाई पक्राउ गरी रवि लामिछानेलाई न्याय दिनुपर्ने माग सम्झाएका थिए।

त्यसलगत्तै राईले पोखराको जग्गा प्रकरण झिक्दै लेखेका थिए, ‘पोखराको फेवातालमा २० रोपनी जग्गा तपाईंको नाममा छ रे भन्ने खबरले सामाजिक सञ्जाल तातिँदा नमज्जा लागेको छ! खास कुरा के हो, पत्रकार सम्मेलन राखिहाल्नुस्! नैतिकताको सवाल खडा भयो!’ प्रश्नको जबाफ नदिए जनता र प्रहरीले समेत पत्याउन छाड्ने भन्दै राईले सत्यतथ्य बाहिर ल्याउन सुझाव दिएका थिए।

के हो जग्गा विवादको पृष्ठभूमि?
शनिबार विहान पोखरा महानगर र नेपाल प्रहरीले फेवाताल आसपासका अवैध संचरना भत्काएपछि त्यस क्षेत्रमा गृहमन्त्री सुधन गुरुङको जग्गा रहेको विषय चर्चामा आएको थियो।

पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले सेतोपाटीसँग कुराकानी गर्दै ‘गृहमन्त्रीको २० रोपनी जग्गा फेवातालको मापदण्डभित्र पर्ने र मापदण्डभित्र परेको जग्गा भत्काउन गृहमन्त्रीले नै भनेको’ भन्दै दाबी गरेपछि यो विषयले अझ बढी हाइप पायो।

तर, आइतबार मालपोत कार्यालय कास्कीमा खोजी गर्दा सुधन गुरुङको नाममा कतै पनि जग्गा नभेटिएपछि उनी जग्गाधनी नभएर ‘भाडावाला’ मात्र भएको खुलेको थियो। 

सो जग्गा पोखराको सिम्ले लामिडाँडाका ओमबहादुर गुरुङसहित आठ जनाको संयुक्त नाममा छ। जग्गाधनी ओमबहादुरका अनुसार सुधनले करिब ६ वर्षअघि १५ वर्षका लागि वर्षको २ लाख रुपैयाँ तिर्ने गरी जग्गा भाडामा लिएका थिए।

रिसोर्टको अलपत्र संरचना।

‘सुधनले एक वर्षको भाडा दिएर रिसोर्टको संरचना बनाए, तर चलाएनन्। ६ वर्ष जति भयो, पाँच वर्षको भाडा दिएका छैनन् र सम्पर्कमा पनि छैनन्’, जग्गाधनी ओमबहादुरले भनेका छन्।

अहिले सुधन गृहमन्त्री भएको सुनेपछि ओमबहादुरले रिसोर्ट सञ्चालन गर्ने भए गर्न, नगर्ने भए आएर सम्झौता च्यात्न आग्रह गरेका थिए।

चैत २३, २०८२ सोमबार १२:३१:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।