‘सटडाउन’को संघारमा नेपाली उद्योग

‘सटडाउन’को संघारमा नेपाली उद्योग

बुटवल : हजारौं किलोमिटर टाढा मध्यपूर्वमा चर्किएको इरान, इजरायल र अमेरिकाबीचको द्वन्द्व को बाछिटाले नेपाली उद्योगहरू नराम्ररी प्रभावित भएका छन्।

आयातमा निर्भर नेपालको अर्थतन्त्रमा यसले गम्भीर असर पारेको छ, जसको प्रत्यक्ष मारमा रुपन्देही, नवलपरासी र नेपालगन्ज औद्योगिक कोरिडोरका प्लास्टिक उद्योगहरू परेका छन्।

कच्चा पदार्थको अभाव, मूल्यवृद्धि र आपूर्ति अवरोधले रुपन्देही, भैरहवा-परासी, नेपालगञ्ज औद्योगिक करिडोरका प्लास्टिकजन्य उद्योगहरू ‘सटडाउन’को अवस्थामा पुगेका छन्।

प्लास्टिक दानाको अभावले पानीका बोतल, पाइप, हेल्मेट, कुर्सीदेखि प्याकेजिङ सामग्रीसम्मको उत्पादन ठप्प हुने जोखिम बढेको छ।

नेपालका प्लास्टिक उद्योगहरूको मुख्य आधार भनेको ‘प्लास्टिक दाना’ हो, जुन पेट्रोलियम पदार्थबाट उत्पादन हुन्छ। मध्यपूर्व विश्वकै प्रमुख तेल उत्पादक क्षेत्र भएकाले त्यहाँको अस्थिरताले विश्वव्यापी आपूर्ति शृङ्खला खलबलिएको छ। 

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेसँगै प्लास्टिक दानाको मूल्य पनि ४० देखि १०० प्रतिशतसम्मले आकासिएको छ। उद्योगीहरूका अनुसार पहिले प्रतिटन ९ सय डलरमा पाइने दाना अहिले १५ सय डलरसम्म पुगेको छ। 

बुटवल औद्योगिक क्षेत्र उद्योग संघका अध्यक्ष उपेन्द्र अग्रवाल सम्झौताअनुसार कच्चा पदार्थ आउन छाडेको बताउँछन्। ‘बढेको मूल्य तिर्छु भन्दा पनि अब सामान नपाइन सक्छ भन्ने सूचना आइरहेको छ, यसले ठूलो अन्योल सिर्जना गरेको छ’, उनले भने।

भारतीय कम्पनीहरूले नेपाली उद्योगको अर्डर लिन छाडेका छन् भने दक्षिण कोरिया, भियतनाम वा थाइल्यान्डबाट ल्याउन ढुवानी लागत र समयका कारण सम्भव नभएको अग्रवालको भनाइ छ।

युनाइटेड प्लास्टिक उद्योगका सञ्चालक एजाज आलमको भनाइ झनै निराशाजनक छ। उनी भन्छन्, ‘एलसी खोलेको सामानसमेत भारतीय सप्लायर्सले पठाएका छैनन्। अबको एक हप्ताभित्र कच्चा पदार्थ नआए धेरै उद्योग बन्द गर्नुपर्ने अवस्था छ।’

उत्पादन लागत बढ्दा उपभोक्तालाई मार
नेपाल उद्योग परिसंघ (सीएनआई) लुम्बिनीका उपाध्यक्ष बाबुराम बोहराका अनुसार मूल्यवृद्धिका कारण उत्पादन लागत बढेको र कच्चा पदार्थ नै नपाएपछि उद्योग सञ्चालन गर्न नसकिने अवस्था सिर्जना भएको छ।

स्टार पोलिपाइप उद्योगका प्रबन्ध निर्देशक तथा नेपालगन्ज उवासंघका एसोसिएट सदस्य कमल कार्कीले पनि कच्चा पदार्थ आपूर्तिमा आएको अवरोधले उद्योगी-व्यवसायी चर्को दबाबमा परेको बताए।

यसको प्रत्यक्ष असर उपभोक्ताको भान्सासम्म पुगेको छ। उपभोक्ता हित संरक्षण मञ्च बुटवलका अध्यक्ष समुन्द्र जिसीका अनुसार तेलको मूल्य बढ्दा प्याकेजिङ महँगो भएको छ, जसले समग्र खाद्यवस्तु र दैनिक उपभोग्य सामग्रीको मूल्य बढाएको छ।

यता, भैरहवा भन्सार कार्यालयका निमित्त प्रमुख सन्तोष न्यौपानेले फलाम र प्लास्टिकजन्य कच्चा पदार्थको आयात प्रभावित भएको पुष्टि गर्दै भने, ‘अहिलेसम्म राजस्वमा ठूलो गिरावट त देखिएको छैन, तर आगामी दिनमा यसको गम्भीर असर पर्ने संकेत देखिइसकेको छ।’

२५ अर्बको लगानी र ५ हजार रोजगारी जोखिममा
लुम्बिनी प्रदेशमा मात्रै साना-ठूला गरी करिब २५२ वटा प्लास्टिक उद्योग सञ्चालनमा छन्। यस क्षेत्रमा स्टार पोलिपाइप, एसियन प्लास्टिक, लुम्बिनी पाइपजस्ता उद्योगहरू सञ्चालित छन्। 

विशेषगरी रुपन्देही-भैरहवा-बुटवल औद्योगिक करिडोरमा केन्द्रित यी उद्योगहरूमा झन्डै २० देखि २५ अर्ब रुपैयाँ लगानी भएको उद्योगीहरूको आँकलन छ।

यस क्षेत्रले ५ हजारभन्दा बढीलाई प्रत्यक्ष रोजगारी दिएको छ। तर, मध्यपूर्वको यो संकट लम्बिएमा खर्बौंको लगानी र हजारौंको रोजगारी गुम्ने निश्चित छ।

चैत २३, २०८२ सोमबार १०:१६:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।