‘महाभोज’ फ्लप भएपछि ३८ लाख नतिरी अस्ट्रेलिया उडे निर्माता कडरिया, वितरक शाहीले दिए उजुरी
काठमाडौं : नेपाली चलचित्र क्षेत्रमा प्रायः निर्माताहरूले वितरकबाट समयमै पैसा नपाएको गुनासो सुनिन्छ। तर, यसपटक भने ठ्याक्कै उल्टो घटना बाहिरिएको छ। फिल्म ‘महाभोज’का वितरकले सम्झौताअनुसारको रकम फिर्ता नगरेको र सम्पर्कविहीन भएको भन्दै निर्माताविरुद्ध उजुरी दिएका छन्।
गत जेठ १५ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘महाभोज’ बक्स अफिसमा फ्लप भयो। चलचित्र विकास बोर्डको तथ्यांकअनुसार यस फिल्मले जम्मा ६८ लाख ७१ हजार १०५ रुपैयाँ मात्र ग्रस कलेक्सन गरेको थियो। व्यापार कमजोर भएपछि निर्माता हिमाल कडरिया र वितरक गोविन्द शाहीबीचको आर्थिक लेनदेनमा विवाद चर्किएको हो।
वितरण कम्पनी ‘काफिया फिल्म्स प्रालि’का तर्फबाट वितरक शाहीले निर्माता कडरियाबाट ३८ लाख १८ हजार ३१३ रुपैयाँ लिनुपर्ने दाबी गर्दै चलचित्र निर्माता संघमा उजुरी दिएका हुन्।
सामान्यतया फिल्म प्रदर्शनअघि वितरकले निर्मातालाई केही रकम अग्रिम (एडभान्स) दिने र फिल्मको व्यापारबाट आएको सेयरबाट उक्त रकम कटाएर बाँकी पैसा निर्मातालाई बुझाउने चलन छ।
तर, फिल्मले लगानी नै उठाउन नसक्ने गरी न्यून व्यापार गरेमा, सम्झौताअनुसार निर्माताले नै वितरकको अग्रिम रकम फिर्ता गर्नुपर्ने हुन्छ। ‘महाभोज’को हकमा पनि व्यापार कमजोर भएपछि निर्माताले वितरकको पैसा फिर्ता गर्नुपर्ने अवस्था आएको हो।
वितरक शाहीले गत फागुन १५ गते नै निर्माता संघमा उजुरी दर्ता गराएका थिए। दुवै पक्षलाई छलफलका लागि चैत ३ गते संघको कार्यालयमा बोलाइएको थियो। तर, निर्माता कडरिया उपस्थित भएनन्। हाल उनी अस्ट्रेलियामा रहेको र आफ्ना सबै सामाजिक सञ्जाल अकाउन्ट डिएक्टिभ गरेर सम्पर्कविहीन भएको बताइएको छ।
पटक-पटक सम्पर्क गर्न खोज्दा पनि निर्माता नआएपछि बाध्य भएर उजुरी दिएको वितरक शाहीले बताए।
‘हामीले उहाँलाई पटक-पटक सम्पर्कमा आउन आग्रह गर्यौं, चिनेजानेका साथीभाइ मार्फत पनि खबर पठायौं। तर, उहाँ सम्पर्कमा नआएपछि संघमा उजुरी हालेका हौं,’ शाहीले उकेरासँग भने, ‘अब निर्माता संघले कानुनी प्रक्रियामा जान पत्र काटिदिन्छ होला। त्यो पत्र पाएपछि प्रहरी प्रशासन हुँदै अदालती प्रक्रियामा जानुको विकल्प छैन।’
शाहीले कडरियाजस्तै अन्य ४-५ जना निर्माताले पनि आफूलाई यसैगरी दुःख दिएको आरोप लगाएका छन्। ती निर्माताहरू पनि छिट्टै सम्पर्कमा नआए कानुनी कदम चाल्ने उनको चेतावनी छ।
यता, चलचित्र निर्माता संघका अध्यक्ष उदय सुब्बाले पनि निर्माता कडरिया अस्ट्रेलियामा रहेको र सम्पर्क हुन नसकेको पुष्टि गरेका छन्।
‘उहाँ नेपालमा हुनुहुन्न, अस्ट्रेलियामा हुनुहुन्छ भन्ने खबर पाएका छौं। सम्पर्क गर्नका लागि हामीसँग नम्बर पनि छैन,’ अध्यक्ष सुब्बाले भने, ‘यहाँ भएको भए दुवै पक्षलाई राखेर मिलाइन्थ्यो। सम्पर्कमै नरहेपछि हामीले वितरकलाई थप कानुनी प्रक्रियामा जान सुझाव दिएका छौं।’
निर्माता संघमा यस्ता थुप्रै आर्थिक लेनदेनका उजुरी पर्ने गरेका छन्। कतिपय आपसी समझदारीमा सल्टिन्छन् भने कतिपय उजुरी वर्षौंदेखि थाँती नै छन्।
चैत २३, २०८२ सोमबार ०९:४२:२७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।