नयाँ कार्यालय समय आजदेखि : विहानैदेखि सडकमा चहलपहल, ९ बजे नै खुले बैंक र सरकारी कार्यालय
काठमाडौं : पश्चिम एसियामा बढेको तनाव र त्यसले पेट्रोलियम पदार्थको आपूर्तिमा पार्न सक्ने असरलाई मध्यनजर गर्दै सरकारले लागू गरेको नयाँ कार्यालय समय आजदेखि कार्यान्वयनमा आएको छ।
इन्धन खपत घटाउने उद्देश्यले मन्त्रिपरिषद्ले शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने तथा कार्यालय समय बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म कायम गर्ने निर्णय गरेको थियो।
नयाँ नियम लागू भएसँगै आज बिहानैदेखि सडक र कार्यालयहरूको दृश्य फेरिएको छ। कार्यालय समय एक घण्टा अगाडि सरेपछि बिहान ८ बजेदेखि नै सडकमा सवारीसाधनको चाप बाक्लिएको छ।
बिहान साढे ८ बजेतिर सडकका पेटीहरूमा सरकारी कर्मचारीहरू हतार-हतार कार्यालयतर्फ गइरहेका देखिन्थे। ठीक ९ बजे नै अधिकांश सरकारी कार्यालयहरूमा कर्मचारी उपस्थित भएर सेवाग्राहीलाई सेवा दिन सुरु गरिसकेका छन्।
सुरुमा यो निर्णय सरकारी कार्यालय र शैक्षिक संस्थाका लागि मात्र लक्षित भएको अनुमान गरिए पनि बैंकिङ क्षेत्रमा पनि यो पूर्ण रूपमा लागू भएको छ।
नेपाल राष्ट्र बैंकले आइतबार साँझ नै एक सूचना जारी गर्दै आफ्ना मातहतका ‘क’, ‘ख’, ‘ग’ र ‘घ’ वर्गका सबै बैंक, वित्तीय संस्था, पूर्वाधार विकास बैंक र नेपाल क्लियरिङ हाउसलाई नयाँ नियम पालना गर्न निर्देशन दिएको थियो।
राष्ट्र बैंकको सोही परिपत्रअनुसार आज बिहान ९ बजेदेखि नै देशभरका बैंक तथा वित्तीय संस्थाहरूले पनि आफ्नो सेवा सुरु गरेका छन्।
चैत २३, २०८२ सोमबार ०९:१२:१७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।