संसद औपचारिकतामा मात्र सीमित हुनु हुँदैन, नतिजामुखी बहस गरौं : मन्त्री गौतम
काठमाडौं : कानून, न्याय तथा संसदीय मामिला मान्त्री सोविता गौतमले वर्तमान संसद पक्ष र विपक्षको परम्परागत सीमाभन्दा माथि उठेर जनताका मुद्दामा केन्द्रित हुनुपर्नेमा जोड दिएकी छन्।
आइतबार बसेको प्रतिनिधिसभा बैठकमा उनले नयाँ र पुराना सांसदहरूको अनुभवको समिश्रणबाट संसदलाई अझ परिपक्व र नतिजामुखी बनाउनुपर्ने धारणा राखिन्। उनले केवल सरकारी र विपक्षी बेन्चको स्वार्थमा अल्झिनुभन्दा पनि जनसरोकारका विषयमा संसद गम्भीर हुनुपर्ने बताइन्।
उनले भनिन्, "यस पटकको संसद पक्ष र विपक्षको सिमाभन्दामाथि उठ्नैपर्छ। यो संसद जनताको मुद्दामा केन्द्रीत हुनैपर्छ। समाधनोन्मुख र स्पष्टरुपमा परिणामुखी बन्नैपर्छ। नयाँ उर्जासहित आएका सांसद र दिर्घ संसद अुनभव बोकेका अग्रजहरुको पनि उपस्थिति छ। जसले मिलेर अझ यो संसदलाई परिपक्क बनाउनतिर लाग्नै पर्नेछ।"
संसदमा हुने बहसहरू केवल औपचारिकतामा मात्र सीमित हुन नहुने बताउँदै उनले अर्थपूर्ण र उत्तरदायी बहसको आवश्यकता औंल्याइन्। बहसले ठोस परिणाम दिन नसके लोकतन्त्रप्रतिको जनविश्वास कमजोर हुने उनको तर्क थियो ।
"लोकतन्त्र केवल भाषण र वहसले मात्र ल्याउने होइन्। हाम्रा वहसहरुले ल्याउने परिणामले पनि अर्थपूर्ण छ कि छैन भन्ने कुराको सन्देश दिन्छ। त्यसैले स्वस्थ्य वहस आवश्यक छ। तर वहस केवल वहसमा मात्रै सिमित रह्यो भने जनताको विश्वास कमजोर हुँदै जान्छ। त्यसैले यस पटकको वहस अर्थपूर्ण उत्तरदायी र परिणाममुखी हुनुपर्छ," उनले भनिन्।
चैत २२, २०८२ आइतबार १२:०६:५६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।