युएईमा घाइते भएका सातै नेपाली खतरामुक्त, छ जना अस्पतालबाट ‘डिस्चार्ज’

युएईमा घाइते भएका सातै नेपाली खतरामुक्त, छ जना अस्पतालबाट ‘डिस्चार्ज’

काठमाडौं : मध्यपूर्वमा जारी द्वन्द्वका क्रममा संयुक्त अरब इमिरेट्स (युएई) मा भएको आक्रमणमा परी घाइते भएका सातै जना नेपाली नागरिकहरूको अवस्था हाल खतरामुक्त रहेको छ।

घाइते भएका सबै नेपाली खतरामुक्त रहेको नेपाली दूतावासले जनाएको छ।   

आक्रमणमा ७ जना नेपाली घाइते भएका थिए।  घाइतेमध्ये ६ जना सामान्य उपचारपछि अस्पतालबाट डिस्चार्ज भई फर्किसकेका छन्। गम्भीर चोट लागेका एक नेपालीको भने हाल अस्पतालमा उपचार भइरहेको छ। उनले टेलिफोन सम्पर्कमा आफू खतरामुक्त रहेको र छिट्टै डिस्चार्ज हुने जानकारी दिएका छन्।

राजदूतावासका अधिकारीले गम्भीर घाइतेसहित सातै जनासँग टेलिफोन सम्पर्क गरेको र उनीहरूले खतरामुक्त रहेको जानकारी गराएको परराष्ट्र मन्त्रालयले जनाएको छ। दूतावासका अधिकारीहरूले आजै चारजना घाइतेलाई प्रत्यक्ष भेटेका छन् भने बाँकी तीनजनासँग पनि छिट्टै भेट्ने तयारी छ।

यस घटनाका सम्बन्धमा जानकारी प्राप्त हुनासाथ आवश्यक समन्वयका लागि मन्त्रालयबाट दूतावासलाई निर्देशन दिइएको थियो।

युएईका सम्बन्धित निकायले घाइतेहरूको समयमै उपचार प्रबन्ध गरेको र नेपाली दूतावासले उनीहरूलाई आवश्यक पर्ने थप सहयोगका लागि निरन्तर समन्वय गरिरहेको मन्त्रालयले जनाएको छ।

चैत २१, २०८२ शनिबार १८:०५:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।