नर्सरीमा नयाँ पुस्ता, वार्षिक करोडौँको कारोबार

नर्सरीमा नयाँ पुस्ता, वार्षिक करोडौँको कारोबार

काठमाडौं : "मेहेनत गरे विदेश जानै पर्दैन, नेपालमै भविष्य छ।" भृकुटीमण्डपमा जारी तेस्रो राष्ट्रियल हर्टिकल्चर एक्स्पोमा भेटिएका २५ वर्षीय शिशिर दाहालको यो भनाइले अहिलेको युवा पुस्ताको बदलिँदो सोचलाई प्रतिनिधित्व गर्छ।

भृकुटीमण्डपमा बिहीबारदेखि सुरु भएको मेलामा शिशिर जस्तै दर्जनौँ युवा उद्यमीहरू आफ्ना उत्पादन र सङ्घर्षका कथासहित सहभागी छन्। 

सिन्धुलीमा जन्मिएका शिशिर अहिले भक्तपुरको दधिकोटमा आफ्ना सपनालाई पछ्याइरहेका छन्। उनले २५ वर्षको उमेरमै जीवनका उकाली–ओराली नजिकबाट भोगिसके। विसं २०७८ शिशिरका लागि जीवनको एउटा कठोर मोड बन्यो। उनी दुर्घटनामा परे। मेरुदण्डमा चोट लागेपछि शारीरिक रूपमा अपाङ्ग बने। शरीरले साथ दिन छोडेपछि मन पनि कहिलेकाहीँ थाक्थ्यो। 

“अब के गर्ने ?”
“कसरी बाँच्ने ?”  
“यही अवस्थालाई नियति मानेर बस्ने कि फेरि केही गरेर उठ्ने ?” भन्ने प्रश्नले भने उनलाई उद्यमी बनायो। परिवारकै पहिलो नर्सरी व्यवसायी बन्ने उनको सपना सामान्य थिएन। तर त्यो सपना पछाडि उनको आत्मनिर्भर बन्ने चाहना थियो। 

कृषि विषय अध्ययन गरेका उनले दुई वर्षसम्म किसानलाई तालिम दिए। अरूलाई उत्पादन सिकाउने, आत्मनिर्भर बन्न प्रेरित गर्ने उनलाई कामले सन्तुष्टि दिन्थ्यो । 

दुर्घटनापछि अरूकोमा गएर काम गर्न गाह्रो थियो। ‘आफ्नै केही गरौँ’ भन्ने सोचले विसं २०७९ देखि शिशिरले नर्सरी व्यवसाय सुरु गरे। सुरुआत सजिलो थिएन। शरीरले सधैँ साथ दिँदैनथ्यो। स्रोतसाधन सीमित थिए र नीतिगत झन्झटहरू आफ्नै ठाउँमा थिए। तर, उनले हार मानेनन्। माटोसँग खेल्दै, हरियाली बिरुवासँग रमाउँदै शिरिरले आफैंलाई पुनः उभ्याए। अहिले उनले त्यसबाट राम्रो आम्दानी गरिरहेका छन्। शिशिर भन्छन्, “मेहेनत गरे विदेश जानै पर्दैन। नेपालमै भविष्य छ। गाह्रो त छ, तर गर्न सकिन्छ। नीतिगत रूपमा केही चुनौती छन्, तर यदि दृढ भएर लागियो भने भोलिको दिन पक्कै राम्रो हुनेछ।”

भृकुटीमण्डवमा चलिरहेको तेस्रो हर्टिकल्चर मेलामा भेटिएका शिशिरको आवाजमा आत्मविश्वास झल्किन्छ। विश्वास, धैर्य र साहसले हर कोहि मानिस कठिनाइ चिरेर अघि बढ्न सक्छ भन्ने उदाहरण हुन् शिशिर। 

कीर्तिपुरमा रहेको बुढाथोकी नर्सरीमा बोटबिरुवा स्याहारिरहेका देखिन्छन् सुरसा ओझा पनि। उनका लागि यो व्यवसाय रोजगारीको माध्यम मात्रै नभएर पुस्तान्तरण हुँदै आएको एउटा सपनासमेत हो। 

फूल र बिरुवाप्रतिको मोहले उनका हजुरबाले सुरु गरेको नर्सरी व्यवसाय अहिले परिवारको पहिचान बनेको छ। “सुरुमा त हजुरबाले गर्नुभएको हो, म त पछिल्ला चार वर्षदेखि यसमा लागेको हुँ”, उनी भन्छिन्। 

नेपाली समाजमा अझै पनि हर्टिकल्चर (उद्यान) व्यवसायलाई सम्मानित पेशाका रूपमा हेर्ने गरीएको छैन्। पढेलेखेर अन्य जाागिर पो खानुपर्छ, यस्तो कृषिजन्य पेसामा लाग्ने हो र  भन्ने समाजको प्रश्नलाई बेवास्ता गर्दै ओझा अगाडि बढिरहेका छन्।

“यो क्षेत्रमा इज्जत कम हुन्छ, कहिलेकाहीँ हेपिएकोजस्तो पनि महसुस हुन्छ”, सुरसा भन्छिन्, “मलाई लाग्छ, हामीले नै यस्तो सोच परिवर्तन गर्नुपर्छ।” 

नर्सरीमा फूलका बिरुवा, फलफूलका स्याउला, सजावटी बोटबिरुवादेखि लिएर दुर्लभ प्रजातिसम्म पाइन्छन्। उनका अनुसार, अहिले विस्तारै युवाहरू पनि यस क्षेत्रमा आकर्षित हुन थालेका छन्।

सहरको बढ्दो हरियालीप्रतिको चासो, घरमै बगैँचा बनाउने चलन र वातावरणीय सचेतनाले हर्टिकल्चर व्यवसायको सम्भावना बढाएको छ। सुरसाले नर्सरीलाई व्यापारका रूपमा मात्र लिएकि छैनन्। वातावरण संरक्षण अभियानका रूपमा पनि लिएकी छन्। उनी भन्छिन्, “एउटा बिरुवा रोप्नु भनेको स्वच्छ वातावरणको भविष्य रोप्नुजस्तै हो।”

ललितपुरका दीपेन्द्र तुलाधारको कथा झन् रोचक छ। कोरोना महामारीले विज्ञापन एजेन्सी धराशायी भएपछि उनले नर्सरी व्यवसाय सुरु गरे। 

परिस्थिति बिग्रँदै जाँदा परिवार र आफन्तले विदेश जाने सुझाव दिन थाले। भाइहरू विदेशमै रहे पनि उनलाई भने विदेशिनु मात्र विकल्प जस्तो लागेन। विदेशमा पनि सजिलो कहाँ छ र भन्ने सोचले तुलाधारलाई स्वदेशमै केही नयाँ गर्ने दिशातर्फ डोर्यायो। 

त्यही क्रममा उनले नर्सरी व्यवसाय रोजे। अहिले वार्षिक ४५ लाख रुपैयाँसम्म कारोबार गरिरहेका तुलाधार ग्राहकलाई बिरुवाको स्याहार सिकाउन व्यस्त देखिनन्छन्। उनका अनुसार अचेल 'बुके' भन्दा 'गमलासहितको बिरुवा' उपहार दिने संस्कृति फस्टाएको छ। 

“हामीले बिक्री त गर्छौं, तर किनेको बिरुवा राम्रोसँग नहुर्किएर मर्छ कि भन्ने चिन्ता पनि हुन्छ”, उनी भन्छन्, “त्यसैले ग्राहकलाई नै राम्रोसँग हेरचाह गर्न सिकाउँछौँ।” 

बिहानको पूजा, घर सजावटदेखि विवाह र व्रतबन्धसम्म फूल र बिरुवाको प्रयोग बढ्दै जाँदा नर्सरी व्यवसायको भविष्य अझ उज्यालो देखिएको उनी बताउँछन्। 

काठमाडौँको साँखुमा उत्पादन केन्द्र रहेको दिवा नर्सरीले पनि अहिले स्थानीय बजारमा राम्रो पहिचान बनाउँदै गएको छ। त्यही व्यवसायलाई अगाडि बढाइरहेका छन् आकाश सापकोटाले। बौद्ध र गोठाटार क्षेत्रलाई बिक्री केन्द्र बनाएर उनले नर्सरीका बिरुवा बजारसम्म पुर्याउँदै आएका छन्।

दाइको व्यवसाय हेर्दै हुर्किएका आकाशले हेर्दै सिक्दै पछि आफैँ सक्रिय रूपमा यसै व्यवसायमा जोडिए। “दाइको व्यवसाय हेर्दै सिक्दै लागेँ”, उनी भन्छन्। सापकोटाका अनुसार दिवा नर्सरीबाट मासिक करिब पाँच लाखसम्म आम्दानी हुने गरेको छ। सहरको विस्तार, घर–अपार्टमेन्टको बढ्दो सङ्ख्या र हरियालीप्रतिको रुचिले नर्सरी व्यवसायलाई राम्रो बजार दिएको उनको अनुभव छ।

मोरङका अरुण विष्ट उमेरले २२ वर्ष पुगे। उनको सोच अरुहरू धेरै युवाको भन्दा फरक छ। उमेरसँगै विदेश जाने सपना बोकेर हिँड्ने धेरै युवाबीच अरुण भने स्वदेशमा नै पुष्प व्यवसायमा भविष्य खोजिरहेका छन्। दाइले सञ्चालन गर्दै आएको नर्सरी व्यवसाय उनका लागि प्रेरणा र अवसर दुवै बनेको छ।

सानैदेखि बोटबिरुवा, फूल र हरियालीसँग नजिक रहेका अरुण अहिले पुष्पखेतीतर्फ गहिरो रुचि राख्छन्। “विदेश जाने सोच छैन, यही व्यवसायमा लाग्छु”, अरुण भन्छन्। नर्सरीको वातावरणमै हुर्किएको अनुभवले अरुणलाई यो क्षेत्र सम्भावनाको संसारजस्तो लाग्छ। बजारको माग, फूलको व्यापार र सजावटी बोटबिरुवाको बढ्दो आकर्षणले नेपालमै राम्रो भविष्य देखिने उनको बुझाइ छ।

“गरे नेपालमै केही हुँदैन भन्ने होइन, यहाँ पनि धेरै सम्भावना छ”, अरुणको विश्वास छ। विदेशिने लहरबीच अरुणजस्ता युवाको सोचले हर्टिकल्चर क्षेत्रमा नयाँ आशा जगाइरहेको छ। 

उनीहरू त केही उदाहरणका पात्र मात्रै हुन्। नर्सरी व्यवसायमा लाग्ने अन्य थुप्रै व्यक्तिहरू छन्, जसले यही व्यवसायमा भविष्य देखेका छन्। सुनौलो भविष्य देखेरै होला केही अन्य पेसा छोडेर पनि यही पेसामा आबद्ध भएका छन्। नर्सरीमा फूल तथा अन्य बिरुवाको मोह बढेसँगै यस व्यवसायमा लाग्नेहरू उत्साहित देखिन्छन्।

कृषि क्षेत्रबाट मुलुकको आर्थिक अवस्था सुदृढ गर्न नर्सरी तथा पुष्पखेतीको प्रवद्र्धनमा जोड दिन आवश्यक रहेको पुष्प विकास केन्द्र गोदावरीका प्रमुख रवीन्द्र थापाले बताए। उनका अनुसार नेपालमा वार्षिक रूपमा करिब साढे तीन अर्ब रूपैयाँ बराबरको पुष्प तथा आलङ्कारिक वस्तु आयात हुने गरेको छ, जसलाई घटाउँदै स्वदेशी उत्पादनमार्फत प्रतिस्थापन गर्न सकिने सम्भावना प्रशस्त रहेको छ। 

“हामी वार्षिक रूपमा करिब साढे तीन अर्बको पुष्प र आलङ्कारिक वस्तु आयात गरिरहेका छौँ । त्यसलाई प्रतिस्थापन गर्न स्वदेशमै उत्पादन बढाउने गरी हामी लागिरहेका छौँ”, उनले भने। 

थापाका अनुसार पुष्प क्षेत्र केवल सौन्दर्यसँग मात्र सीमित छैन, यसले रोजगारी, उद्यमशीलता र ग्रामीण अर्थतन्त्रलाई समेत बलियो बनाउन सक्छ। नर्सरी र फूल उत्पादन विस्तार भएमा युवाका लागि स्वदेशमै राम्रो आयआर्जनको अवसर सिर्जना हुने उनको विश्वास  छ।

नर्सरी क्षेत्रमा ११ अर्बभन्दा बढीको लगानी
नर्सरी व्यवसायी सङ्घ नेपालका अनुसारका अनुसार नर्सरी क्षेत्रमा ११ दशमलव ८३ अर्बको लगानी रहेको छ। तीन हजार ९०० भन्दा बढी नर्सरी व्यवसायीहरू रहेको सङ्घको तथ्याङ्कमा उल्लेख छ।

पुष्प, फलफूल, कृषि वन तथा जडीबुटी गरी विभिन्न उपक्षेत्रमा फैलिएको नर्सरी व्यवसायले वार्षिक करिब ६.४३ अर्ब रूपैयाँ बराबरको कारोबार गरिरहेको तथ्याङ्क सार्वजनिक गरिएको छ। विवरणअनुसार पुष्प नर्सरीतर्फ ७५१ वटा व्यवसायी रहेका छन्। करिब ११.२७ करोड  उत्पादन हुने गरेको छ। वार्षिक २.३० अर्ब रूपैयाँ आम्दानी पुष्प व्यवसायबाट हुने गरेको छ। 

करिब ५५० फलफूलको व्यवसायबाट वार्षिक एक दशमलव ६५ अर्ब रूपैयाँ आम्दानी हुने गरेको छ। त्यस्तै कृषि वन नर्सरीतर्फ सबैभन्दा धेरै दुई हजार २०० व्यवसायी सक्रिय रहेका छन्। यस क्षेत्रबाट शून्य दशमलव ८८ अर्बको कारोबार हुँदै आएको छ। जडीबुटी नर्सरीतर्फ ४०० व्यवसायी संलग्न रहेको र वार्षिक एक दशमलव ६० अर्ब रूपैयाँ आम्दानी हुने गरेको छ। 

नर्सरी व्यवसायमार्फत एक लाख २० हजार नागरिकले रोजगारी तथा आयआर्जनको अवसर पाइरहेका छन्। सङ्घका अध्यक्ष रामजी प्रसाद तिमल्सेनाले नर्सरी व्यवसायलाई देशव्यापी रूपमा विस्तार गर्नुपर्नेमा जोड दिँदै यसको सम्भावनाको अध्ययन र प्रवद्र्धनका लागि आवश्यक बजेट व्यवस्था गर्न सरकारसँग आग्रह गरे।

सरकारी नीति, प्रविधि हस्तान्तरण, गुणस्तरीय बीउ–बिजनको उपलब्धता र बजार विस्तारलाई प्राथमिकतामा राखेर दीर्घकालीन विकास रणनीति आवश्यक रहेकामा उनको जोड रहेको छ।

नर्सरी व्यवसायको प्रवद्र्धन, कृषि उद्यमशीलताको विकास तथा रोजगारी सिर्जनालाई लक्षित गर्दै भृकुटीमण्डपमा बिहीबारदेखि सञ्चालन भइरहेको तेस्रो नेशनल हर्टिकल्चर एक्स्पो सोमबारसम्म चल्ने छ। 

चैत २१, २०८२ शनिबार ११:१२:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।