फेवाताल किनारका मापदण्डविपरीतका संरचनामा चल्यो डोजर, ‘वाटर फ्रन्ट रिसोर्ट’को स्विमिङ पुल भत्काइयो

फेवाताल किनारका मापदण्डविपरीतका संरचनामा चल्यो डोजर, ‘वाटर फ्रन्ट रिसोर्ट’को स्विमिङ पुल भत्काइयो

पोखरा : पोखराको फेवाताल किनारमा रहेका मापदण्डविपरीतका अस्थायी संरचनामा महानगरले डोजर चलाएको छ।

शनिबार बिहान साढे ४ बजेदेखि नै ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेर तालको ६५ मिटर मापदण्डभित्र पर्ने अस्थायी संरचना भत्काइएको हो।

यसै क्रममा सर्वाधिक चासोका रूपमा हेरिएको चर्चित पर्यटन व्यवसायीको ‘वाटर फ्रन्ट रिसोर्ट’को स्विमिङ पुल, गेट र पर्खालहरू पनि भत्काइएको छ।

कास्की प्रहरीका प्रवक्ता डीएसपी हरिबहादुर बस्नेतका अनुसार बिहानैदेखि करिब ३० वटा संरचनामा डोजर चलेको छ।

संरचना हटाउन जिल्ला प्रहरी कार्यालय, वडा प्रहरी कार्यालय बैदाम, सशस्त्र प्रहरी र पोखरा महानगरका नगर प्रहरी गरी करिब डेढ सय सुरक्षाकर्मी फिल्डमा खटिएका थिए।

पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले हाल हटाइएका सबै संरचना अस्थायी मात्र रहेको बताए। उनले यी संरचना हटाउँदैमा मुआब्जा पाउनुपर्ने जग्गाधनीको अधिकारमा कुनै असर नपर्ने प्रस्ट पारेका छन्।

सर्वोच्च अदालतको आदेशपछि पछिल्लो समय प्रदेश सरकारसँगको समन्वयमा ताल किनारमा पोल गाड्ने काम सकिएको छ। अहिले ६५ मिटरको सिमाना छुट्याउने काम चलिरहेको छ।

चैत २१, २०८२ शनिबार १०:३५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।