धादिङको मलेखुमा बसभित्र बेहोस भएकी भारतीय महिलाको मृत्यु

धादिङको मलेखुमा बसभित्र बेहोस भएकी भारतीय महिलाको मृत्यु

धादिङ : पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका-२ मलेखुमा बसमा सवार एक भारतीय महिलाको मृत्यु भएको छ।

काठमाडौंबाट भारतको गोरखपुरतर्फ जाँदै गरेको भारतीय नम्बर प्लेटको बसमा बेहोस भएकी उनको उपचारका क्रममा मृत्यु भएको हो।

प्रहरीका अनुसार, यूपी ६५ ईटी ६९६२ नम्बरको भारतीय बसमा सवार भारतको चेन्नई (कोइम्बटुर) बस्ने मुर्गनकी श्रीमती अन्दाजी ६० वर्षीया विजय लक्ष्मीको मृत्यु भएको हो।

बिहान करिब ९ बजेको समयमा बसभित्रै चक्कर लागेर बेहोस भएकी उनलाई तत्कालै उपचारका लागि मलेखुस्थित टिचिङ अस्पताल पुर्याइएको थियो।

अस्पताल पुर्याउनासाथ बिहान ९:१० बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

अस्पतालले बिहान १० बजे प्रहरीलाई खबर गरेपछि प्रहरी चौकी मलेखु र इलाका प्रहरी कार्यालय गजुरीबाट प्रहरी निरीक्षकको कमान्डमा अनुसन्धान टोली अस्पताल पुगेको थियो। 

मृतकको शव गजुरीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा पोष्टमार्टमपश्चात् शुक्रबार साँझ उनीसँगै रहेकी बहिनी कमला देवीलाई जिम्मा लगाइएको प्रहरीले जनाएको छ।

घटनाको थप अनुसन्धानका लागि प्रहरीले उक्त बस र बसका चालक भारत चेन्नईकै ४० वर्षीय चन्द्रबलि तिवारीलाई नियन्त्रणमा लिएको छ।

चैत २१, २०८२ शनिबार ०९:२२:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।