काठमाडौंमा गुण्डागर्दीविरुद्ध प्रहरीको ‘अपरेसन सेफ्टी’, ‘काभ्रेली समूह’का ‘किमजोङ’सहित १८ जना पक्राउ

काठमाडौंमा गुण्डागर्दीविरुद्ध प्रहरीको ‘अपरेसन सेफ्टी’, ‘काभ्रेली समूह’का ‘किमजोङ’सहित १८ जना पक्राउ

काठमाडौं : काठमाडौं उपत्यकामा गुण्डागर्दी र आपराधिक गतिविधि नियन्त्रण गर्न प्रहरीले ‘अपरेसन सेफ्टी काठमाडौं’ सञ्चालन गरेको छ।

नयाँ सरकार गठनसँगै सक्रिय बनेको प्रहरीले शुक्रबार राति चलाएको विशेष अपरेसनका क्रममा गुण्डागर्दीमा संलग्न १८ जनालाई पक्राउ गरेको हो।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौंले छुट्टाछुट्टै टोली खटाएर उनीहरूलाई नियन्त्रणमा लिएका हुन्। जसमध्ये अपराध अनुसन्धान कार्यालयले १३ जना र प्रहरी परिसर काठमाडौंले ५ जनालाई पक्राउ गरेका छन्।

अपराध अनुसन्धान कार्यालयका अनुसार रातभर चलाइएको अपरेसनका क्रममा ठमेल, दरबारमार्ग र सामाखुसी क्षेत्रबाट १३ जना पक्राउ परेका हुन्। पक्राउ पर्नेमा अधिकांश ‘काभ्रेली समूह’ र गुन्डा नाइके श्याम लामाको समूहमा आबद्ध व्यक्तिहरू छन्।

पक्राउ पर्ने मुख्य व्यक्तिहरूमा काभ्रेली समूहका सञ्जीव लामा, सिन्धुपाल्चोकका अशोक गिरी र सुरेश गुरुङ ‘किमजोङ’ लगायत छन्। गुन्डा नाइके भनिएका सिन्धुपाल्चोकका श्याम लामा भने हाल फरार रहेको प्रहरीले जनाएको छ।

यस्तै, जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार परिसरको टोलीले विभिन्न क्षेत्रमा आफ्नो छुट्टै समूह बनाएर गुण्डागर्दी गर्ने थप ५ जनालाई पक्राउ गरेको छ।

श्याम लामा समूहमा आबद्ध रहेर बौद्ध क्षेत्रमा गुण्डागर्दी गर्दै आएका प्रवीण तामाङ ‘डिम्पल’ र सोही क्षेत्रमा लुटपाटमा संलग्न बिकी लामा पक्राउ परेका छन्।

त्यसैगरी, कलंकी र बाफल क्षेत्रमा सक्रिय बिर्जु महर्जन, कलंकीको बस टिकट काउन्टर तथा पेट्रोल पम्प क्षेत्रमा आतंक मच्चाउने सुजन कार्की र स्युचाटार क्षेत्रमा आफ्नै समूह बनाएर गुण्डागर्दी गर्ने सरु हुमागाईँलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।

पक्राउ परेकाहरूमाथि अनुसन्धान सुरू गरिएको प्रहरीले जनाएको छ। यसका साथै, आपराधिक पृष्ठभूमि भए/नभएको ‘स्क्रिनिङ’ गर्न प्रहरीले शुक्रबार राति ठूलो संख्यामा शंकास्पद व्यक्तिहरूलाई समेत नियन्त्रणमा लिएको छ।

चैत २१, २०८२ शनिबार ०८:४४:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।