अबुधाबीमा मिसाइलको अवशेष खस्दा सात नेपाली घाइते, एक जना अवस्था गम्भीर
एजेन्सी : संयुक्त अरब इमिरेट्सको एयर डिफेन्स सिस्टमले एउटा मिसाइललाई आकाशमै नष्ट गरेपछि त्यसको अवशेष खस्दा अबुधाबीमा सात नेपाली नागरिक घाइते भएका छन्।
घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको अधिकारीहरूले पुष्टि गरेका छन्। अबुधाबीको अजवान क्षेत्रमा खसेको मिसाइलको अवशेषका कारण कुल १२ जना घाइते भएका छन्।
घाइते हुनेहरूमा सात नेपाली र ५ जना भारतीय नागरिक रहेका छन्। अधिकारीहरूका अनुसार घाइतेहरूको तत्काल उद्धार गरी उपचार प्रक्रिया अघि बढाइएको छ।
यसैगरी, मिसाइलको अवशेष खसेपछि हबसान ग्यास प्रशोधन केन्द्रमा दुईवटा ठूला आगलागीका घटना भएका छन्।
आपतकालीन टोलीले आगोलाई नियन्त्रणमा लिए पनि साइट खाली गर्ने क्रममा भागदौड हुँदा एक इजिप्टका नागरिकको मृत्यु भएको छ। उक्त स्थानमा दुई पाकिस्तानी र दुई इजिप्टका गरी अन्य ४ जना घाइते भएका छन्।
आगलागीका कारण ग्यास प्लान्टका संरचनाहरूमा ठूलो क्षति पुगेको बताइएको छ। अधिकारीहरूले अहिले क्षतिको पूर्ण मूल्यांकन गरिरहेका छन्।
स्थानीय प्रशासनले सर्वसाधारणलाई सामाजिक सञ्जालमा फैलिने अनावश्यक हल्लाको पछि नलाग्न र आधिकारिक स्रोतबाट प्राप्त जानकारीलाई मात्र विश्वास गर्न आग्रह गरेको छ।
चैत २१, २०८२ शनिबार ०८:००:३८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।