इरानमा दुर्घटनाग्रस्त एफ-१५ लडाकु विमानका पाइलटलाई उद्धार गर्न अमेरिकाको ‘सीएसएआर’ मिशन जारी
एजेन्सी : इरानको आकाशमा खसालिएको अमेरिकी एफ-१५ स्ट्राइक ईगल लडाकू विमानका एक चालक दलका सदस्यको उद्धार गरिएको छ भने अर्का एक सदस्यको खोजीका लागि इरानी भूमिभित्रै ‘कम्ब्याट सर्च एण्ड रेस्क्यु (सीएसएआर)’ मिशन तीव्र पारिएको छ।
अमेरिकी सञ्चार माध्यम सीबीएसका अनुसार, यो अपरेशन अत्यन्तै जटिल र समयका हिसाबले संवेदनशील मानिएको छ।
साधारण उद्धार कार्यभन्दा ‘सीएसएआर’ निकै फरक र खतरनाक हुन्छ। यो शत्रुको नियन्त्रणमा रहेको वा युद्धग्रस्त क्षेत्रमा खसालिएका पाइलट वा अलपत्र परेका सैनिकहरूलाई सुरक्षित निकाल्न चलाइने विशेष सैन्य अभियान हो।
यो अपरेशन प्रायः शत्रुको पहुँच भएको क्षेत्रमा गरिन्छ, जहाँ पाइलटलाई समात्न शत्रु सेना पनि सक्रिय हुन्छ। समय यसमा सबैभन्दा महत्त्वपूर्ण हुन्छ। शत्रुले भेट्टाउनुअघि नै आफ्ना सैनिकलाई निकाल्नुपर्ने चुनौती यसमा रहन्छ। यसमा अत्याधुनिक हेलिकप्टर, इन्धन भर्ने विमान र सुरक्षाका लागि अन्य लडाकू विमानहरूको प्रयोग गरिन्छ।
हवाई उद्धारको इतिहास पहिलो विश्वयुद्धबाट सुरू भएको मानिए पनि आधुनिक सीएसएआरको जग भियतनाम युद्धका क्रममा बस्यो। ‘ब्याट २१’ जस्ता चर्चित मिशनहरूले यस क्षेत्रमा नयाँ रणनीति र प्रविधिको विकास गर्न मद्दत पुर्याए।
अमेरिकी वायुसेनाका प्यारा-रेस्क्युमेन यस कार्यका लागि विश्वकै उत्कृष्ट मानिन्छन्। उनीहरूको नारा नै छ- ‘अरू बाँच्न सकून् भनेर हामी यो सब गर्छौँ।’ यिनीहरूको तालिम लगभग दुई वर्ष चल्छ, जसमा ८० प्रतिशतभन्दा बढी सहभागी असफल हुन्छन्। यी जवानहरू प्यारासुट जम्पिङ, डाइभिङ, युद्ध कौशल र जटिल मेडिकल उपचारमा दक्ष हुन्छन्।
सन् १९९५ मा बोस्नियामा ६ दिनसम्म शत्रुबाट जोगिएर बसेका अमेरिकी पाइलट स्कट ओ ग्रेडीले सफल उद्धार गरेका थिए भने सन् १९९९ मा सर्बियामा खसालिएको एफ-११७ स्टेल्थ फाइटरका पाइलटको सफल उद्धार गरिएको थियो।
यसका अलावा सन् २००५ मा अफगानिस्तानमा ‘लोन सर्भाइभर’ फिल्ममा देखाइए झैँ नेभी सिल सदस्यको उद्धारका लागि चलाइएको मिसन सफल भएको थियो।
चैत २१, २०८२ शनिबार ०७:४६:११ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।