इरानी भूमिमा खसालिएको अमेरिकी विमानका पाइलटको खोजी तीव्र
एजेन्सी : इरानको दक्षिणी प्रान्त कोहगिलुयेह-बोयेरअहमदमा खसालिएको अमेरिकी एफ-१५ लडाकू विमानका ‘बेपत्ता पाइलट’को खोजी कार्यलाई इरानी सुरक्षा निकायले तीव्र पारेको छ।
उक्त प्रान्तका उप-गभर्नरका अनुसार बेपत्ता पाइलटको खोजीका लागि अहिले सर्च अपरेसन जारी राखिएको छ।
इरानको सरकारी समाचार संस्था फार्सका अनुसार उप-गभर्नरले प्रहरी, सुरक्षा बल र स्थानीय बासिन्दाहरू पाइलटको पहिचान गर्न र उनलाई नियन्त्रणमा लिन सक्रियताका साथ जुटेको बताएका छन्।
उनले स्थानीय जनसमुदायलाई सम्बोधन गर्दै बेपत्ता पाइलटबारे कुनै पनि जानकारी प्राप्त भएमा तुरुन्त अधिकारीहरूलाई खबर गर्न अपिल समेत गरेका छन्।
यता, अमेरिकाले पनि आफ्ना बेपत्ता पाइलटको खोजीका लागि लडाकू विमान र हेलिकप्टरहरू परिचालन गरी व्यापक खोजी अभियान चलाइरहेको छ।
विमान ठ्याक्कै कुन ठाउँमा खस्यो भन्ने आधिकारिक पुष्टि नभए पनि इरानी सञ्चार माध्यमहरूले दक्षिणी प्रान्तहरू कोहगिलुयेह-बोयेरअहमद र खुजेस्तानको नामलाई प्राथमिकताका साथ उल्लेख गरिरहेका छन्।
गत शुक्रबार इरानको दक्षिणी क्षेत्रमा अमेरिकी एफ-१५ लडाकू विमान खसालिएको खबर सार्वजनिक भएको थियो।
बीबीसीको अमेरिकी साझेदार सीबीएस न्यूजले दुईवटा स्रोतलाई उद्धृत गर्दै विमान खसालिएको पुष्टि गरेको छ। स्रोतका अनुसार विमानमा रहेका चालक दलका एक सदस्यको भने उद्धार गरिसकिएको छ।
चैत २१, २०८२ शनिबार ०७:२५:४० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।