पक्राउ परेका जगदम्बा ग्रुपका अध्यक्ष शंकर अग्रवाल ललितपुर प्रहरीको हिरासतमा

पक्राउ परेका जगदम्बा ग्रुपका अध्यक्ष शंकर अग्रवाल ललितपुर प्रहरीको हिरासतमा

काठमाडौं : जगदम्बा ग्रुपका अध्यक्ष शंकर अग्रवाललाई जिल्ला प्रहरी परिसर ललितपुरको हिरासतमा राखिएको छ।

शुक्रबार दिउँसो उनलाई सम्पत्ति शुद्धिकरण विभागले सोधपुछको लागि नियन्त्रणमा लिएपछि उनलाई हिरासतमा राखिएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख होविद्र बोगटीले उकेरालाई जानकारी दिए।

‘उहाँलाई हिजो दिउँसो सम्पत्ति शुद्धिकरण विभागले नियन्त्रणमा लिएको थियो। थप अनुसन्धानको लागि हिरासतमा राखेको छ’, उनले भने। 

यसअघि बिहीबार व्यवसायी दीपक भट्टलाई सिआईबीले सम्पत्ति शुद्धीकरणकै मुद्दामा पक्राउ गरेको थियो।

सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धानको दायरामा रहेका दीपक भट्टको अनुसन्धानको क्रममा हिमालयन रि इन्स्योरेन्सका बोर्ड सदस्य र जगदम्बा स्टिल्सका सञ्चालकहरू तानिने देखिएको थियो। सोही अनुसार शंकर अग्रवाललाई विभागले नियन्त्रणमा लिएर अनुसन्धान अगाडी बढाएको हो।

त्यस्तै, सम्पत्ति शुद्धीकरण विभागले तयार पारेको प्रारम्भिक प्रतिवेदनमा २० भन्दा बढी अभियुक्तहरू हुनसक्ने देखिएको छ।

भट्टको मुख्य सहयोगी शंकर समूहका सञ्चालक साहिल अग्रवाल हिमालयन रिइन्स्योरेन्सको बोर्डमा छन्। अन्यमा रोहित गुप्ता, अमित मोर, राजीव मोर, सुवेच्छा खरेल, सुवास झुनझुनवाला सदस्य छन्। यिनीहरु पनी अनुसन्धानको दायरामा आउने देखिन्छ।

अवैध रूपमा ४५ करोड दिएको राष्ट्र बैंकको अनुसन्धानमा खुलेको जगदम्बाको अध्यक्षमा साहिल अग्रवाल रहेका छन्। २०७८ मा जगदम्बाले दीपकको खातामा ४५ करोड दिएको घटनापछि नेपाल राष्ट्र बैंकको वित्तीय जानकारी इकाइले अनुसन्धान सुरु गरे पनि राजनीतिक प्रभावका आधारमा उनी अनुसन्धानको दायरामै आएका थिएनन्।

सत्तामा पहुँचको प्रभावले उनी गम्भीर वित्तीय अपचलनमा संलग्न रहेको प्रमाणहरू संकलन हुँदा पनि औपचारिक अनुसन्धानका लागि नेपाल राष्ट्र बैंक र सम्पत्ति शुद्धीकरण विभागले एक अर्कामा जिम्मेवारी पन्छाउँदै आएका थियो। तर, वालेन्द्र शाह नेतृत्वको सरकार आएपछि सबै अनुसन्धानको दायरामा आएका हुन्।

यसबीचमा भट्टले हिमालय रिइन्स्योरेन्सबाट २ अर्ब ७३ करोड रकम लिएको खुलेको थियो।

उनले हिमालयनका सहायक कम्पनीहरू हिमालयन सेक्युरिटिजबाट २२ करोड, नेपाल लाइफ इन्स्योरेन्सका सहायक कम्पनीबाट ३३ करोड, एचएलआई लार्ज क्याप फन्डबाट २५ करोड, नेपाल माइक्रो इन्स्योरेन्सबाट १६ करोड गरेर विभिन्न मितिमा ३ अर्ब ८१ करोड ४६ लाख रकम निकालेर भृकुटी स्टक ब्रोकिङ कम्पनीबाट सेयरहरु किनेको खुलेको थियो।

यी सबै कम्पनी भट्ट र शंकर समूहको प्रभावमा रहेकाहरू हुन्। उनीहरुले मुख्य रुपमा हिमालयन रिइन्स्योरेन्स खोलेर अन्य सहायक कम्पनीमार्फत वित्तीय लुट मच्चाएका थिए।

अनुसन्धानमा भृकुटीको गतिविधि समेत शंकास्पद देखिएपछि सम्पत्ति शुद्धीकरण विभागले यसबारे समेत अनुसन्धान गरेको छ। यो समूहमा सुलभ अग्रवाल, उनको श्रीमती सुभी अग्रवाल मेत जोडिएका छन्। यी दुवै शंकर समूहकै सदस्य हुन्।

अनुसन्धानको क्रममा उनले सम्पत्ति शुद्धीकरणसँगै बैंकिङ कसुर र बीमा सम्बन्धी कानुनहरू समेत उलङ्घन गरेको देखिएपछि अहिले विभागले यीनै कसुरहरूमा उनी विरुद्ध मुद्दा लैजाने तयारी गरिरहेको छ।

चैत २१, २०८२ शनिबार ०६:५७:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।