यात्रुलाई दुःख दिने १३ जना पक्राउ
काठमाडौं : प्रहरीले विभिन्न बहानामा यात्रुलाई दुःखहैरानी दिने १३ जनालाई नियन्त्रणमा लिएको छ। पछिल्लो चार दिनदेखि नेपाल प्रहरीले बिचौलियाका रूपमा सर्वसाधारण नागरिकलाई दुःखहैरानी दिने व्यक्तिलाई पक्राउ गर्ने अभियान जारी राखेको छ।
सोही क्रममा शुक्रबार कलङ्की र नयाँ बसपार्कमा खटिएको प्रहरीले निजहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिए।
उनका अनुसार काठमाडौंस्थितमा विभिन्न स्थानमा सञ्चालित टिकट काउन्टरमा काम गर्ने व्यक्तिले बस तथा सुमोका यात्रुलाई आफूहरूले भनेको सवारीसाधनमा यात्रा गर्नुपर्छ भनी झोला तथा सामान जबरजस्ती तान्ने, दुःखहैरानी दिई अभद्र व्यवहार गर्ने गरेको यात्रुको गुनासोका आधारमा पक्राउ गरिएको हो।
सोही सूचनाका आधारमा खटिएको प्रहरी टोलीले १३ जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान सुरु गरेको प्रहरी उपरीक्षक भट्टराईले बताए। उनका अनुसार प्रहरी प्रभाग नयाँ बसपार्कबाट खटिएको टोलीले नयाँ बसपार्कबाट १२ र प्रहरी वृत्त कालीमाटीबाट खटिएको टोलीले कलङ्कीस्थित सडकबाट एक जनालाई नियन्त्रणमा लिएको हो।
दुई दिन अघि काठमाडौं प्रहरीले १६ जनालाई पक्राउ गरेको थियो। केही दिन अघि ललितपुर प्रहरीले एकान्तकुनाबाट १५ जनालाई पक्राउ गरेको थियो। त्यस्तै विभिन्न जिल्लाका विभिन्न कार्यालयबाट प्रहरीले बिचौलियाका आरोपीलाई पक्राउ पर्दै आएको छ।
चैत २०, २०८२ शुक्रबार २०:५५:०३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।