विद्यार्थी संगठन खारेज गर्ने सरकारको निर्णयप्रति एमालेको आपत्ति, फिर्ता लिन माग
काठमाडौं : एमालेले विद्यार्थी संगठनहरु खारेज गर्ने र उनीहरूमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णयको विरोध गरेको छ।
शुक्रबार बसेको एमालेको केन्द्रीय सचिवालयको बैठकले सरकारलाई अभिलम्ब यस निर्णयबाट पछाडि हट्न ध्यानाकर्षण समेत गराएको छ।
"वर्तमान सरकारले विद्यार्थी संगठनहरू खारेज गर्ने तथा उनीहरूमाथि प्रतिबन्ध लगाउने निर्णयको एमालेले कडा शब्दमा विरोध गरेको छ। पार्टीले उक्त निर्णयबाट तत्काल पछि हट्न सरकारको ध्यानाकर्षण गराएको छ," बैठकका निर्णय सुनाउँदै सचिव लेखराज भट्टले भने।
त्यस्तै एमालेले पार्टीको नेता-कार्यकर्ता तथा विशेषगरी महिला दिदीबहिनीविरुद्ध भइरहेको साइबर आक्रमणको घोर निन्दा र भर्त्सना गरेको छ। भट्टले नियोजित साइबर आक्रमणको विरुद्ध प्रतिवादमा उत्रिने र कानुनी उपचारमा सक्रिय हुन पार्टी पंक्तिलाई आव्हान गर्ने निर्णय गरेको जानकारी दिए।
उनले भने, "नेता-कार्यकर्ता तथा विशेषगरी महिला दिदीबहिनीविरुद्ध भइरहेको साइबर आक्रमणको घोर निन्दा र भर्त्सना गरेको छ। साथै नियोजित आक्रमणको विरुद्ध कडा रूपमा प्रतिवादमा उत्रिने र कानुनी उपचारमा सक्रिय हुन पार्टी पंक्तिलाई आव्हान गर्ने निर्णय गरेको छ ।"
चैत २०, २०८२ शुक्रबार २०:२८:२९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।