कुमारी बैंकद्वारा नयाँ बचत योजना सार्वजनिक
काठमाडौं : कुमारी बैंकले विभिन्न सामाजिक तथा रचनात्मक कार्यक्रमहरू आयोजना गरी २५औँ वार्षिकोत्सव मनाएको छ।
बैंकले बिहीबार काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा रक्तदान कार्यक्रम आयोजना गर्नुका साथै कर्मचारीहरूले परम्परागत मौलिक पोशाक लगाएर सांस्कृतिक विविधता र एकताको सन्देश दिए।
वार्षिकोत्सवको अवसरमा बैंकले ‘सिल्भर सेभिङ्ग्स’ बचत खाता सार्वजनिक गरेको छ, जसमा बचत खातामै मुद्दती खाता सरहको आकर्षक ब्याजदर पाउने बैंकले जनाएको छ।
साथै, संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विपन्न र पिछडिएका वर्गको जीवनस्तर सुधार्न देशभरका शाखाहरू मार्फत ‘समुदायका लागि कुमारी बैंक’ कार्यक्रमको समेत थालनी गरिएको छ।
विगत २५ वर्षदेखि निरन्तर बैंकिङ सेवा दिँदै आएको बैंकको हाल देशभर २८६ शाखा, ३०२ एटिएम, ४१ एक्सटेन्सन काउन्टर र ४८ शाखा रहित बैंकिङ इकाईहरू रहेका छन्। ३० लाखभन्दा बढी ग्राहकलाई सेवा दिइरहेको बैंकले आगामी दिनमा अझ सरल, सुलभ र अत्याधुनिक सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
चैत २०, २०८२ शुक्रबार १८:४६:२९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।