'मालती मङ्गले'मा नक्कलको चर्चा, विजयभित्र शाहरुख खान खोज्दै वर्षा

'मालती मङ्गले'मा नक्कलको चर्चा, विजयभित्र शाहरुख खान खोज्दै वर्षा

काठमाडौं : आगामी वैशाख २५ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘मालती मङ्गले’को प्रचारप्रसारको लागि गीतहरू सार्वजनिक गरिँदै आएको छ। निर्माण पक्षले यसअघि ‘सुनैको सपनी’ बोलको गीत सार्वजनिक गरेको थियो, जसमा कलाकारको ‘लुक्स’बारे चर्चा गरिएको थिएन ।

बुधबार फिल्मको दोस्रो गीत ‘ढुङ्गा माथि लेऊ’ सार्वजनिक भएसँगै मुख्य कलाकारलाई भारतीय कलाकारसँग तुलना गरियो। गीतमा मुख्य कलाकार विजय बराल र वर्षा राउतलाई भारतीय कलाकार शाहरुख खान र काजोलको जस्तो झल्को दिने गरी प्रस्तुत गरिएको भनेर प्रचार गरियो।

निर्माण पक्षका अनुसार बलिउडको चर्चित फिल्म ‘मोहब्बते’मा शाहरुख खान र काजोललाई प्रस्तुत गरिएको जस्तो भेषमा ‘ढुङ्गा माथि लेऊ’ गीतमा विजय र वर्षाले नृत्य गरेका छन्। 

फिल्मका निर्माता एवं गायक रामकृष्ण ढकालले फिल्मको कथामा वर्षाको पात्रले विजयभित्र शाहरुखलाई देख्ने भएकाले गीतमा त्यसकै झल्को दिने रचनात्मक प्रयास गरिएको बताए। विजय र वर्षाको प्रस्तुतिले दर्शकमा प्रभाव पार्छ कि पार्दैन फिल्म प्रदर्शनपछि थाहा हुनेछ। यद्यपि बलिउडको नक्कलभन्दा अभिनय बलिउडस्तरकै होस भन्ने अपेक्षा दर्शकमा रहेको हुन्छ।

रानी फिल्म्सको ब्यानर र युनि इन्टरटेन्मेन्टको सहकार्यमा निर्माण भएको फिल्ममार्फत प्रकु पाण्डेयले निर्देशनमा डेब्यु गरेका हुन्। फिल्मको कथा निर्देशक स्वयंले लेखेका हुन् भने पटकथा तथा संवाद संयोग गुरागाईँले तयार पारेका हुन्। फिल्मका कार्यकारी निर्माता सागर ज्ञवाली हुन्। सह-निर्माताहरूमा बाबु सुवेदी, रबिन श्रेष्ठ, वेदना कर्माचार्य, पद्मावती गुरुङ, स्वीकृति बस्नेत र मिलन बजगाईँ रहेका छन्।

फिल्ममा विजय र वर्षाका साथै मेक्सम गौडेल मुख्य भूमिकामा देखिएका छन्। उनीहरूका साथै नरिन थापा, मान्सु सापकोटा, प्रकाश घिमिरे, सरिता गिरी, सुस्मा निरौला, सुनिल तामाङ, उमेश सुनाम, शकु शाह, सुचित्रा उप्रेती, दिनेश शाही, रिजन परियार, तारा शर्मा, गीता श्री, राज पङ्गेनी, सुस्मिता गुरुङ र सागर भट्टराई लगायतका कलाकारहरूको अभिनय रहेको छ।

फिल्मको छायाङ्कन महेश पौडेलले गरेका हुन् भने सम्पादन रोमी मोजेज, रङ्ग संयोजन कृष्ण भण्डारी र ध्वनि मिश्रण डिकेश खड्गीको रहेको छ। फिल्मको डिजिटल वितरक ओएसआर डिजिटल तथा थिएटर वितरक आरआर फिल्म्स हो।

चैत २०, २०८२ शुक्रबार १६:३६:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।