सभामुखमा रास्वपाका उपसभापति अर्यालको मात्रै उम्मेदवारी
काठमाडौं : प्रतिनिधिसभा, सभामुखको निर्वाचन कार्यक्रमअन्तर्गत तोकिएको समयभित्र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डोलप्रसाद अर्यालको मात्र सभामुखमा उम्मेदवारी परेको छ।
सङ्घीय संसद् सचिवालयको कार्यतालिकाअनुसार शुक्रबार बिहान ११ बजेदेखि २ बजेसम्म तोकिएको समय अवधिमा संसद् सचिवालय, सिंहदरबारमा अर्यालको मात्र उम्मेदवारी दर्ता भएको हो ।
अर्यालको प्रस्तावकमा रास्वपाका सभापति रवि लामिछाने र समर्थकमा सोही दलका सांसदहरू सोबिता गौतम, डा स्वर्णिम वाग्ले र सुनील लम्साल रहेका छन्।
कार्यतालिकाबमोजिम सचिवालयले तोकिएको समयमा दर्ता भएका एक मात्र उम्मेदवारको सूचना प्रकाशन गरेको छ। दर्ता भएका प्रस्तावका सूचनालाई चैत २२ गते हुने प्रतिनिधिसभाको बैठकमा निर्णयार्थ प्रस्तुत गर्ने कार्यक्रम छ। एक मात्र उम्मेदवारी परेकाले अर्याल निर्विरोध निर्वाचित हुने निश्चित भएको छ।
चैत २०, २०८२ शुक्रबार १५:२८:२६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।