पूर्व गृहमन्त्री लेखकको पक्राउबारे लामिछानेको टिप्पणी, शहीद परिवारले न्याय पाउनुपर्छ

पूर्व गृहमन्त्री लेखकको पक्राउबारे लामिछानेको टिप्पणी, शहीद परिवारले न्याय पाउनुपर्छ

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सभापति रवि लामिछानेले पूर्व गृहमन्त्री रमेश लेखकको पक्राउलाई राजनीतिक प्रतिशोधको संज्ञा दिनु हतार हुने टिप्पणी गरेका छन्।

शुक्रबार प्रतिनिधिसभाको नयाँ सभामुखका लागि उपसभापति डीपी अर्यालले मनोनयन दर्तापछि सञ्चारकर्मीसँगको कुराकानीमा उनले राजनीतिक दाबीभन्दा पीडित र शहीद परिवारको न्याय पाउनुपर्ने अधिकार प्राथमिक विषय भएको बताए। 

पक्राउको प्रक्रियालाई लिएर विपक्ष दलहरूबाट राजनीतिक प्रतिशोधको रूपमा चित्रित गर्ने प्रयास भइरहेको बेला लामिछानेले भने, “गृहमन्त्रीको पक्राउलाई प्रतिशोध भन्नु हतार भयो। आफ्ना कलिला बालबालिका गुमाएका अभिभावकलाई न्यायको हतारो होला नि! त्यति हतारो त कसैलाई छैन होला नि ?”

न्यायको पहिलो हकदार शहीद र घाइते परिवार भएको उल्लेख गर्दै उनले घटनालाई राजनीतिक रङ्ग दिनुभन्दा न्यायको मर्मलाई बुझ्नुपर्नेमा जोड दिए। “न्याय पाउने पहिलो हक शहीद परिवारको हो, घाइते परिवारको हो। न्याय पाउने हक सबैलाई छ। राजनीतिक रूपमा लागेको कुराभन्दा पहिलो हक चाहिँ शहीद परिवारको हो,” लामिछानेले भने।

नवनिर्वाचित सभामुखले आफ्नो अनुभवलाई व्यवहारमा उतार्दै संसदीय मर्यादा, नियमावली र अनुशासनको मापदण्ड पालना गर्नुपर्ने उनले जोड दिए। साथै, सभामुख पदमा पुगेपछि पार्टीभन्दा माथि उठेर सिंगो सदनप्रति उत्तरदायी हुनुपर्ने उल्लेख गर्दै लोकतान्त्रिक मूल्य-मान्यता विपरीत प्रतिपक्षलाई दमन गर्ने वा नागरिकका मुद्दा दबाउने खालको व्यवहार अस्वीकार्य हुने बताए।

चैत २०, २०८२ शुक्रबार १५:२०:४६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।