बलात्कार आरोपपछि ९० प्रतिशत छायांकन सकिइसकेको ‘पाँच पाण्डव’बाट निकालिए ‘बले’
काठमाडौं : अमेरिकामा अध्ययनरत एक युवतीले सामाजिक सञ्जालमार्फत बलात्कारको आरोप लगाएपछि कलाकार सागर लम्साल ‘बले’लाई चलचित्र ‘पाँच पाण्डव’बाट निकालेको छ।
निर्माण कम्पनी कालीरानी फिल्म्स प्रालिले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै नैतिकताका आधारमा लम्साललाई फिल्मबाट हटाएको जनाएको छ। उनको ठाउँमा अर्को कलाकार अनुबन्ध गरी ती दृश्य पुनः छायांकन गरिने निर्माण पक्षले स्पष्ट पारेको छ।
गत चैत २ गतेदेखि झापा आसपासमा चलचित्रको छायांकन भइरहेको थियो। लम्सालको करिब ९० प्रतिशत दृश्य खिचिसकिएको अवस्थामा यो विवाद बाहिर आएको हो।
चलचित्रका प्रस्तुतकर्ता नवीन श्रेष्ठले ९० प्रतिशत काम सकिएका कलाकारलाई हटाउँदा ठूलो आर्थिक क्षति हुने भए पनि आरोपितलाई फिल्ममा राखिराख्न नैतिक रूपमा उचित नहुने बताए। ‘पीडितको पीडाअघि यो आर्थिक क्षति सामान्य हो’, श्रेष्ठले भने।
अब लम्साल संलग्न कुनै पनि दृश्य चलचित्रमा समावेश हुने छैनन्।
विज्ञप्तिमा भनिएको छ, ‘जघन्य अपराधको आरोप लागेका व्यक्ति हाम्रो फिल्मको सदस्य हुन सक्दैनन्। पाण्डवजस्तो पवित्र नाम र विषयवस्तुमा आधारित फिल्ममा आरोपितलाई प्रश्रय दिँदा न्याय प्रक्रियामा प्रभाव पर्न सक्ने खतरालाई मध्यनजर गर्दै सागर लम्सालसँगको सम्झौता आजकै मितिबाट रद्द गरिएको छ।’
निर्माण पक्षले घटनाको सत्यतथ्य छानबिन गरी पीडितलाई यथाशीघ्र न्याय दिलाउन सम्बन्धित निकायसँग मागसमेत गरेको छ।
वसन्त निरौलाको निर्देशनमा बनिरहेको यस चलचित्रमा हरिवंश आचार्य, जितु नेपाल, आर्यन सिग्देल, दीपाश्री निरौला, महेश त्रिपाठीलगायतका कलाकारको मुख्य भूमिका छ। लम्सालको ठाउँमा अब कुन कलाकारलाई अनुबन्ध गर्ने भन्नेबारे निर्माण पक्षले केही खुलाएको छैन।

चैत २०, २०८२ शुक्रबार १३:४७:०९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।