एमालेलाई चुनौतीको भुमरीबाट बचाउन एकताबद्ध बन्न नेता ईश्वर पोखरेको आह्वान

एमालेलाई चुनौतीको भुमरीबाट बचाउन एकताबद्ध बन्न नेता ईश्वर पोखरेको आह्वान

काठमाडौं : पार्टीभित्र आन्तरिक विवाद चर्किरहेका बेला एमालेका नेता ईश्वर पोखरेलले वर्तमान चुनौतीको सामना गर्न सिङ्गो पार्टी पङ्क्तिलाई एकताबद्ध हुन आह्वान गरेका छन्।

उनले पार्टीको ऐतिहासिक पृष्ठभूमि, सिद्धान्त र संगठनात्मक विधिलाई आत्मसात् गर्दै अघि बढ्नुपर्नेमा जोड दिएका छन्।

एमाले स्थापनाकालदेखि नै प्रतिकूल परिस्थितिसँग जुध्दै आएको स्मरण गर्दै नेता पोखरेलले सुसंगत विचार, व्यवस्थित विधि-पद्धति, सामूहिक नेतृत्व प्रणाली तथा नियन्त्रण र सन्तुलनको अभ्यासले मात्र पार्टी सुदृढ हुने बताए।

जनतामाझ पार्टीको स्पष्ट पहिचान र हैसियत स्थापित गर्नुपर्ने उनको भनाइ छ।

आगामी २०८२ मंसिरमा हुने ११औं राष्ट्रिय महाधिवेशनले यिनै मूलभूत मूल्य-मान्यतालाई नयाँ उचाइमा पुर्याउने लक्ष्यसहित गम्भीर बहस र छलफल अगाडि बढाउनुपर्ने उनले औंल्याएका छन्।

नेता, कार्यकर्ता तथा समर्थकलाई पार्टीको ऐतिहासिक पृष्ठभूमि कहिल्यै नबिर्सन आग्रह गर्दै पोखरेलले भनेका छन्, ‘यिनै मूल्य र मान्यताको निरन्तरताबाट मात्र हामी अगाडि बढ्न सक्छौं र अहिले भइरहेका चौतर्फी षड्यन्त्रपूर्ण हमलाको सामना गर्दै पुनः सशक्त रूपमा उभिन सक्छौं।’

पछिल्लो समय देखिएको सिद्धान्तहीन सत्ता स्वार्थ, अवसरवाद, आत्मकेन्द्रित प्रवृत्ति र विधि-पद्धतिविपरीतका गतिविधिलाई उनले ‘अत्यन्त हानिकारक’ भनी टिप्पणी गरेका छन्। पार्टीलाई जनताको प्रिय र नयाँ स्तरमा गतिशील बनाउन आन्तरिक एकता अपरिहार्य रहेको उनको निष्कर्ष छ। 

विकसित परिस्थितिअनुसार नेता-कार्यकर्ताले आफ्नो सोच र व्यवहारमा सुधार ल्याउनुपर्ने भन्दै पोखरेलले परिस्थितिको गतिलाई बुझ्न आग्रह गरेका छन्। 

‘नयाँ स्तरमा पार्टीलाई गतिवान् बनाउन एकताबद्ध भएर अगाडि बढ्नु अहिलेको आवश्यकता हो। गतिलाई बुझ्नुपर्छ, गति अनुसार मति बनाऔँ,’ उनले भनेका छन्, ‘आफ्ना बिग्रिएका मति अनुकूल गतिलाई बुझ्ने मूर्खता नगरौँ। अहिले चुनौतीको भुमरीमा परेको एमालेलाई सिङ्गो पङ्क्ति एकताबद्ध भएर मात्र बचाउन र रक्षा गर्न सकिन्छ।’

चैत २०, २०८२ शुक्रबार १३:२४:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।