तुल्सीको ‘ल्याबिस’ लाइफ : एक महिनामै ५ लाखको आइफोन, २४ लाखको गहना अनि ‘बर्थडे’ मनाउन ५० हजार

तुल्सीको ‘ल्याबिस’ लाइफ : एक महिनामै ५ लाखको आइफोन, २४ लाखको गहना अनि ‘बर्थडे’ मनाउन ५० हजार

ललितपुर : ‘तपाईंले यो कुरा मिलाउनु भएन भने मेरो अब लास्ट वे हो... पुलिससम्म पनि अब पुग्छु।’

शारीरिक सम्पर्कपछि ‘बलात्कारको मुद्दा हाल्ने’ धम्कीले ललितपुर ग्वार्कोका अटोमोबाइल्स व्यवसायी कुमार चिमोरियालाई यसरी निचोर्यो कि, उनले साढे छ करोड रुपैयाँभन्दा बढी गुमाउन पुगे।

ललितपुर जिल्ला अदालतमा जिल्ला सरकारी वकिल कार्यालयले दायर गरेको अभियोग पत्र (चार्जसिट) को सूक्ष्म अध्ययन गर्दा मुख्य अभियुक्त तुल्सी (तुलसा) अधिकारीले गरेको असुलीको शृङ्खला कुनै फिल्मी कथाभन्दा कम छैन।

उनले घरजग्गा र पसल मात्र खोसिनन्, महँगा मोबाइल, दिदीको जन्मदिन र कसैलाई जुत्ता किनिदिने भन्दै समेत निरन्तर ब्ल्याकमेलिङ गरेर पैसा असुलेकी थिइन्।

एक महिनामै रङ फेरि-फेरि आइफोन, ५ लाखसम्मको बिल!
अभियोग पत्रमा समावेश गरिएको इलेक्ट्रोनिक्स पसलको बिल विवरणले तुल्सीको विलासी सोख र व्यवसायीमाथिको चरम शोषणलाई छर्लङ्ग पार्छ। उनले जम्मा एक महिनाको अन्तरालमा दुइटा आइफोन किनाएको र पछि झण्डै ५ लाखसम्मको आइफोनको बिल व्यवसायीलाई तिराएको प्रमाण अदालतमा पेस भएको छ।

२०७९ वैशाख ६ गते तुल्सीले चिमोरियालाई ९४ हजार ९०० रुपैयाँ तिराएर ‘आइफोन ११ (१२८ जीबी, हरियो रङ)’ खरिद गरिन्। त्यसको ठिक एक महिनापछि २०७९ जेठ ७ गते फेरि उस्तै धम्की दिएर उनले ९३ हजार रुपैयाँको ‘आइफोन ११ (१२८ जीबी, पर्पल रङ)’ अर्को मोबाइल किनाइन्।

तुल्सीको डिमान्ड यतिमै रोकिएन। २०७९ फागुन १० गते उनले ४ लाख ६६ हजार ५०० रुपैयाँको ‘आइफोन १४ प्रो म्याक्स (२५६ जीबी, डिप पर्पल)’ खरिद गरिन् भने  २०८० असार १४ गते फेरि २ लाख ३० हजार रुपैयाँको ‘आइफोन १४ प्रो म्याक्स’ खरिद गरिन्।

यसका अलावा २०८० फागुन १३ गते एप्पलको नयाँ मोडल आउनासाथ उनले २ लाख १४ हजार ५०० रुपैयाँको ‘आइफोन १५ प्रो म्याक्स’ खरिद गरेर त्यसको बिलसमेत पीडित व्यवसायीलाई तिर्न बाध्य पारेको अभियोगपत्रमा उल्लेख छ।

रोचक असुली: जुत्ता किन्न ३० हजार, दिदीको ‘बर्थडे’ लाई ५० हजार
करोडौंको असुली गरिरहेकी तुल्सीले दैनिक सानातिना खर्चमा समेत व्यवसायीलाई छोडिनन्।

चार्जसिटमा उल्लेख भएअनुसार उनले आफ्नी दिदीको जन्मदिन मनाउन भन्दै ५० हजार रुपैयाँ असुलिन् भने कसैलाई जुत्ता किनेर दिनु छ भन्दै ३० हजार रुपैयाँ चिमोरियाको खाताबाट हाल्न लगाइन्।

आफू चढ्नका लागि अप्रिला कम्पनीको स्कुटर ४ लाख ३४ हजार ९०० रुपैयाँमा खरिद गर्न लगाएकी उनले छोरीको काठमाडौंको मासिक शुल्कसमेत चिमोरियाबाटै तिर्न बाध्य पारेको देखिन्छ।

पसल खरिददेखि भारत र चीनसम्म हुण्डी!
धम्कीको सुरुवाती चरणमा तुल्सीले नख्खिपोटमा फ्ल्याट भाडामा लिन बाध्य पारिन्।

त्यसपछि २०७६ सालतिर ललितपुरको सातदोबाटोमा रु. ७ लाख ७५ हजारमा एउटा फेन्सी पसल खरिद गर्न लगाइन्। उक्त पसल चलाउदिनँ भनेर फेरि धम्क्याएपछि इमाडोल बाहुनधारा चोकमा रु. ६ लाख ७५ हजारमा अर्को पसल किन्न बाध्य पारिन्।

यति मात्र होइन, तुल्सीले ब्ल्याकमेलिङको रकम नेपालमा मात्र राखिनन्। ‘म सामान लिन भारत र चीन देश जान्छु, पैसा तयारी गर्नु’ भन्दै उनले अपरिचित व्यक्तिहरू पठाएर नगद बोरामा हालेर लैजाने गरेको अभियोगपत्रमा उल्लेख छ।

उनले ह्वाट्सएपमार्फत भारतमा रहेका मोहित सिंगला र अशोक कुमार अग्रवाललाई भेट्न पठाएर रु. ८० लाख असुल गरिन्। चीनमा रहेकी छोरीको महँगो शिक्षा र व्यापारको नाममा उनले अवैध बाटो (हुण्डी) बाट करोडौं रकम चीन पुर्याएको अनुसन्धानबाट खुलेको छ।

साथै, ताप्लेजुङ-पाँचथरको सिद्धदेवी ज्वेलर्सबाट २४ लाख ४१ हजार रुपैयाँभन्दा बढीको सुनका गरगहना खरिद गरी त्यसको बिलसमेत चिमोरियालाई तिर्न लगाएकी थिइन्।

कालो धन लुकाउन ‘कानो मामा’को प्रयोग
यस ठगी र सम्पत्ति शुद्धीकरणको खेलमा ‘कानो मामा’ भनिने प्रयास पोखरेलको मुख्य भूमिका देखिएको छ। तुल्सीले आफ्नै लगानीमा ‘तुलसा कलेक्सन प्रा.लि.’ र ‘टिपुरी कलेक्सन प्रा.लि.’ खडा गरी त्यसको सञ्चालकमा 'कानो मामा' लाई राखेकी थिइन्।

कल डिटेल अनुसार उनीहरुबीच १६३ पटक फोन सम्पर्क भएको पाइएको छ। ब्ल्याकमेलिङबाट आएको पैसालाई व्यवसायिक लगानी देखाएर सम्पत्ति शुद्धीकरण गर्न पोखरेलले मतियारको भूमिका खेलेको अभियोग छ।

दैनिकरुपमा आउने धम्की र अपरिचित व्यक्तिहरु आएर पैसा माग्ने क्रम बढेपछि व्यवसायी चिमोरिया आत्महत्या गर्नेसम्मको सोचमा पुगेका थिए।

अभियोग पत्रमा उनले भनेका छन्, ‘आफू समेत तनावमा परी बाँच्नुभन्दा यो संसार छोडेरै जाने निधो गर्ने सोच समेत राखें। घर परिवारलाई ठूलो दाग लाग्ने भएको हुँदा सम्पूर्ण व्यहोरा श्रीमतीलाई सुनाएँ।’

यो कुरा सुनेपछि उनकी श्रीमतीसमेत डिप्रेसनको बिरामी भई औषधि सेवन गर्नुपर्ने अवस्थामा पुगेको चार्जसिटमा उल्लेख छ।

तुल्सी अधिकारी मुद्दा सम्बन्धी समाचारहरू:

चैत २०, २०८२ शुक्रबार १२:०४:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।