तुल्सीको साढे ६ करोडको हनी ट्रयापमा ‘कानो मामा’को इन्ट्री, १६३ कलले खोल्यो सम्पत्ति शुद्धीकरणको पोल
ललितपुर : अटोमोबाइल्स व्यवसायीलाई ‘हनी ट्रयाप’मा पारी साढे ६ करोड रुपैयाँभन्दा बढी असुली गरेको र उक्त कालो धनलाई सेतो बनाउन (सम्पत्ति शुद्धीकरण) विभिन्न व्यक्ति तथा नक्कली कम्पनी खडा गरेको अभियोगमा बिहीबार ललितपुर जिल्ला अदालतमा मुद्दा दायर भयो।
जिल्ला सरकारी वकिल कार्यालय ललितपुरले मुख्य अभियुक्त तुल्सी अधिकारी (तुलसा), ‘कानो मामा’ भनिने प्रयास पोखरेलसहित ९ जना व्यक्ति र १ कम्पनीविरुद्ध आपराधिक लाभ (एक्सटर्सन), संगठित अपराध र सम्पत्ति शुद्धीकरण निवारण ऐन अन्तर्गत मुद्दा दायर गरेको हो। सबै प्रतिवादीहरु हाल फरार छन्।
अभियोग पत्रअनुसार, ललितपुरको ग्वार्कोमा ‘हाम्रो अटोमोबाईल्स प्रा.लि.’ सञ्चालन गर्दै आएका व्यवसायी कुमार चिमोरियालाई तुल्सी अधिकारीले २०७५ सालमा व्यापारको बहानामा चिनजान गरेकी थिइन्। विस्तारै नजिकिएर शारीरीक सम्पर्क भएपछि त्यसैलाई देखाएर उनले ब्ल्याकमेलिङ गरेको अभियोगपत्रमा उल्लेख छ।
‘मैले भने जति पैसा र सुन नदिए जबर्जस्ती करणी (बलात्कार) को मुद्दा हालेर फसाइदिन्छु’ भन्दै तुल्सीले चिमोरियाबाट नगद, महँगा मोबाइल, सुनका गरगहना, स्कुटर, छोरीको स्कुल फि र घरभाडा गरी करिब साढे ४ करोड रुपैयाँभन्दा बढी असुल गरेको अभियोग पत्रमा उल्लेख छ।
को हुन् ‘कानो मामा’? तुल्सीसँग कस्तो छ सम्बन्ध?
यस ठगी र सम्पत्ति शुद्धीकरणको खेलमा टिकटकमा ‘कानो मामा’ भनिने प्रयास पोखरेलको पनि मुख्य भूमिका देखिएको छ। पाल्पा घर भई हाल काठमाडौं बुद्धनगर बस्ने ४३ वर्षीय पोखरेल र मुख्य अभियुक्त तुल्सी अधिकारीबीच कालो धन लुकाउने विषयमा गहिरो र योजनाबद्ध सम्बन्ध रहेको अभियोग पत्रले खुलाएको छ।
अनुसन्धानका क्रममा पोखरेलले तुल्सीसँग आफ्नो कुनै लेनदेन र चिनजान नभएको दाबी गरेका थिए। तर, प्रहरीको अनुसन्धान र कल डिटेल रेकर्डले उनीहरुको झुटको पर्दाफास गरेको छ। कल डिटेल अनुसार तुल्सी अधिकारी र ‘कानो मामा’बीच १६३ पटक फोन सम्पर्क भएको पाइएको छ।
व्यवसायी चिमोरियाबाट असुल गरिएको गैरकानूनी रकम लुकाउन तुल्सीले ‘कानो मामा’को नाममा कम्पनी नै खडा गरेको अनुसन्धानबाट खुलेको छ। तुल्सीले आफ्नै लगानीमा ‘टिपुरी कलेक्सन प्रा.लि.’ नामक कम्पनी दर्ता गराई त्यसको एकल सेयरधनी र सञ्चालकमा प्रयास पोखरेललाई राखेकी थिइन्।
वास्तविक लगानीकर्ता तुल्सी भए पनि कानुनको आँखा छल्न ‘कानो मामा’ लाई अगाडि सारिएको थियो। साथै, तुल्सीको खाताबाट प्रयास पोखरेलको प्रभु बैंकको खातामा ७ लाख रुपैयाँ ट्रान्सफर भएको बैंक स्टेटमेन्टले पुष्टि गरेको अभियोगपत्रमा उल्लेख छ।
यसरी ब्ल्याकमेलिङबाट आएको पैसालाई व्यवसायिक लगानी देखाएर ‘कानो मामा’ले सम्पत्ति शुद्धीकरणमा प्रत्यक्ष मतियारको भूमिका खेलेको अभियोग लगाइएको छ।
हुण्डीमार्फत चीन पुग्यो पैसा, जग्गा र सुनमा लगानी
तुल्सी अधिकारीले एक्लै मात्र नभई संगठित रुपमै यो अपराध गरेको देखिएको छ। असुल गरिएको रकम उनले आफ्नी छोरी प्रनिशा न्यौपाने, ‘कानो मामा’, सपना वली, नीलिका लामिछाने, मुकेश कुमार धानुक लगायतका व्यक्तिहरुको बैंक खातामा राख्न लगाएकी थिइन्।
सो रकमबाट तुल्सीले भैंसेपाटी र नवलपरासीमा जग्गा खरिद गर्नुका साथै लाखौंको सुनचाँदी किनेकी थिइन्।
अझ गम्भीर कुरा त के छ भने, उनले ५३ पटक विदेश भ्रमण गरेको र हुण्डी मार्फत ठूलो रकम चीनमा पठाएको अनुसन्धानबाट खुलेको छ। चीनमा रहेकी छोरीको महँगो शिक्षा र आफ्नो विलासी जीवनशैलीका लागि उनले अवैध बाटोबाट पैसा चीन पुर्याएकी थिइन्।
६ करोड ५२ लाख बिगो दाबी
ललितपुर जिल्ला अदालतमा पेस गरिएको चार्जसिटमा तुल्सी अधिकारी लगायतको समूहले संगठित रुपमा ठगी र आपराधिक लाभ लिएको भन्दै कूल बिगो छ करोड बाउन्न लाख उन्नतीस हजार पचहत्तर कायम गरिएको छ।
सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ बमोजिम उनीहरुको नाममा रहेको घरजग्गा, बैंक मौज्दात, सुनचाँदी, कम्पनीको सेयर र सवारीसाधन जफत गरी बिगोको दोब्बर जरिवाना र १० वर्षसम्म कैद सजायको मागदाबी सरकारी वकिल कार्यालयले गरेको छ।
पीडितलाई क्षतिपूर्तिसमेत भराइदिन अभियोग पत्रमा माग गरिएको छ। हाल फरार रहेका सबै प्रतिवादीहरुको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।
चैत २०, २०८२ शुक्रबार १०:२०:३२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।