कलाकार ‘बले’माथि गम्भीर आरोप, युवतीले सोधिन्- ‘कसैको जीवन बर्बाद पारेर बाँच्दा कस्तो महसुस हुन्छ?’
काठमाडौं : चर्चित हास्य कलाकार सागर लम्साल ‘बले’माथि बलात्कारको गम्भीर आरोप लागेको छ।
हाल अमेरिका बस्दै आएकी एक युवतीले सामाजिक सञ्जालमार्फत आफूमाथि भएको जघन्य अपराध र त्यसले निम्त्याएको मानसिक आघातको खुलासा गरेकी हुन्।
पीडित युवतीका अनुसार यो घटना करिब एक वर्षअघिको हो। सानैदेखि डिप्रेसन र एन्जाइटीको समस्यासँग जुधिरहेकी उनी अमेरिका पुगेको केही समयमै मानसिक स्वास्थ्य बिग्रिएर अस्पताल भर्ना भएकी थिइन्।
अस्पतालबाट डिस्चार्ज भएपछि जीवनलाई नयाँ ढंगले अगाडि बढाउने प्रयास गरिरहेको समयमा यो घटना घटेको उनले उल्लेख गरेकी छन्।
पीडितले सामाजिक सञ्जालमा लेखे अनुसार, उनको परिवारसँग वर्षौंदेखि जोडिएका र उनले ‘दाइ’ भनी सम्मान गर्ने कलाकार सागर लम्साल सोही समयमा अमेरिका पुगेका थिए। बुबाको आग्रह र चिनजानको मान्छे भेट्दा मन हल्का हुने आशामा उनले लम्साललाई भेटेकी थिइन्।
आफ्नो पीडादायी अनुभव सुनाउँदै उनले लेखेकी छन्, ‘१० वर्षभन्दा अघिदेखि चिनेको र दाइ मानेको मान्छेलाई विश्वास गरेर मैले आफ्नो अपार्टमेन्ट देखाउन लगेँ। कोठामा बसेर कुरा गर्दा मैले आफ्ना संघर्ष र आँसु पोखिरहेकी थिएँ। मलाई थाहा थिएन, जसलाई मैले दाइ मानेकी थिएँ, त्यो मान्छे त एउटा राक्षस रहेछ। म बलात्कृत भएँ।’
घटनापछि आफू पूर्ण रूपमा टुटिसकेको र परिवारको इज्जतका कारण लामो समयसम्म केही भन्न नसकेको उनले बताएकी छन्। आफू जिउँदो लास सरह भएको र दैनिक रूपमा त्यो घटनाले पिरोलिरहेको भन्दै उनले आफ्ना बुबासँग माफी समेत मागेकी छन्।
‘त्यतिबेला एक सास फेर्न समेत गाह्रो भइरहेको अवस्थामा म आफ्नो लागि कसरी लड्थेँ होला र?’, उनले प्रश्न गरेकी छन्।
अहिले हिम्मत जुटाएर सत्य ओकलेको बताउँदै उनले दोषीले कानुनी र सामाजिक सजाय पाउनुपर्ने माग गरेकी छन्।
‘मलाई थाहा छ मैले न्याय पाउँदिनँ होला र अब लड्ने हिम्मत पनि छैन, तर जसले मलाई यति ठुलो अन्याय गर्यो, त्यो मान्छेले सजाय भोग्नै पर्छ। भविष्यमा उसले अरू कसैलाई यस्तो गलत काम गर्न पाउनु हुँदैन’, उनले थपेकी छन्।
उनले सागर लम्साललाई सिधा प्रश्न गर्दै लेखेकी छन्- ‘कसैको जीवन बर्बाद पारेर बाँच्दा कस्तो महसुस हुन्छ, सागर लम्साल क्षेत्री?’
सागर लम्साल क्षेत्री नेपाली कला क्षेत्रका चर्चित नाम हुन्। लोकप्रिय टेलिभिजन शृङ्खला ‘भद्रगोल’ र ‘सक्किगोनी’मा ‘बले’को भूमिकाबाट उनी देशभर चिनिएका छन्। पछिल्लो समय उनी म्युजिक भिडियो र चलचित्रमा समेत सक्रिय छन्।
यस गम्भीर आरोपका सम्बन्धमा कलाकार लम्सालको तर्फबाट हालसम्म कुनै आधिकारिक प्रतिक्रिया आएको छैन। यसबारेमा उनको भनाइ बुझ्नका लागि उकेराले उनलाई पटक-पटक सम्पर्क गर्दा पनि फोन भने उठेन।
यस्तो छ पीडित युवतीले सामाजिक सञ्जालमा राखेको पोस्ट:
एक वर्ष अघिको कुरा हो। म अमेरिका आएको केही समय मात्र भएको थियो। सानैदेखि डिप्रेसन र एन्जाइटीसँग जुधिरहेकी मलाई, घरबाट टाढा यो अन्जान ठाउँमा एक्लै हुँदा ती सबै कुराले झन् अन्धकारतिर धकेल्यो। मानसिक स्वास्थ्यकै कारण म अस्पतालमा समेत भर्ना भएँ। सायद वर्षौंदेखि आफैँसँग लड्दा लड्दा मेरो मन र मस्तिष्कले हार मानिसकेको थियो।
अस्पतालबाट डिस्चार्ज भएपछि, ‘अलि कोसिस गरेँ भने राम्रा दिनहरू आउनेछन्’ भन्ने आशा बोकेर म बाहिर निस्किएँ। त्यही बीचमा नेपालबाट केही अंकलहरू अमेरिका आउनुभएको थियो। उहाँहरू सबैजना हाम्रो परिवारसँग वर्षौंदेखि जोडिनुभएको थियो- कसैलाई म दाइ भन्थेँ त कसैलाई अंकल।
यस्तो गाह्रो समयमा, कुनै आफन्त नभएको ठाउँमा आफ्नै परिवार जस्तो मान्छे भेटे छोरीलाई अलि निको होला कि भन्ने सोचेर मेरो बाबाले ‘एकचोटि भेट न त’ भन्नुभयो।
मसँग ऊर्जा थिएन, औषधि खाइरहेकी थिएँ र एकदमै एक्लो महसुस गरिरहेकी थिएँ। तैपनि, यो बिरानो सहरमा कोही आफ्नो मान्छे भेट्दा "चर्को घाममा छहारी" मिल्छ कि भन्ने आशले म भेट्न राजी भएँ। भेट्न जाँदा एकजना अंकलसँग भेट हुन सकेन, तर जसलाई मैले दाइ भन्थेँ, उहाँसँग भेट भयो।
कुराकानीकै क्रममा उहाँले भन्नुभयो, ‘तिमी बसेको ठाउँ हेरौँ न त।’ १० वर्षभन्दा अघिदेखि चिनेको र दाइ मानेको मान्छेलाई विश्वास गरेर मैले आफ्नो अपार्टमेन्ट देखाउन लगेँ।
मेरो कोठामा बसेर कुरा गर्दा मेरो स्वास्थ्यको कुरा निस्कियो। मैले आफ्ना संघर्षहरूका बारेमा रुँदै सुनाएँ, म कति गाह्रो अवस्थाबाट गुज्रिरहेकी छु भनेर सबै भनेँ। मलाई थाहा थिएन, जसलाई मैले दाइ मानेकी थिएँ र मेरो पुरै परिवारले विश्वास गर्थ्यो, त्यो मान्छे त एउटा राक्षस रहेछ। त्यसपछि म बलात्कृत भएँ।
जति आशा बाँकी थियो, जति शक्ति बाँकी थियो, त्यो सबै सकियो। मेरो आवाज निस्किएन। म चिच्याउन चाहन्थेँ, परिवारलाई भन्न चाहन्थेँ, तर त्यस्तो अवस्थामा पनि ‘मैले केही भनेँ भने मेरो पुरै परिवार बर्बाद होला’ भन्ने डर लाग्यो।
माफ गर्नुहोला बाबा, अहिले यसरी भन्दैछु, हजुरलाई भन्ने हिम्मत नै आएन। सायद हजुरसँगै भएको भए हजुरको अंगालोमा रोएर हिम्मत बटुल्थेँ होला, तर म हजुरबाट धेरै टाढा थिएँ। त्यतिबेला एक सास फेर्न समेत गाह्रो भइरहेको अवस्थामा म आफ्नो लागि कसरी लड्थेँ होला र?
मैले कसैलाई केही भन्न सकिनँ। आफैँदेखि घृणा लागेर आयो। वर्षौंदेखिको संघर्षले गर्दा मेरो आत्मा, शरीर र मन सबैले हार मान्यो। परिवारको बारेमा सोचेर ज्यान फाल्न पनि सकिनँ, तर यो कुराले मलाई हरेक दिन भित्रभित्रै खाइरहेको छ। म न राम्ररी सास फेर्न सक्छु, न खान सक्छु; लाग्छ म एउटा जिउँदो लास बनेकी छु।
अनि त्यो राक्षस भने फिर्ता आफ्नो घर गयो र खुलेआम बाँचिरहेको छ।
आज अलि हिम्मत जुटाएर यो लेख्दैछु। मलाई थाहा छ मैले न्याय पाउँदिनँ होला र अब लड्ने हिम्मत पनि छैन, तर जसले मलाई यति ठुलो अन्याय गर्यो, त्यो मान्छेले सजाय भोग्नै पर्छ। भविष्यमा उसले अरू कसैलाई यस्तो गलत काम गर्न पाउनु हुँदैन।
म मेरो पुरै परिवारसँग माफी माग्न चाहन्छु। यो सुनेपछि सायद हजुरहरू मदेखि निराश हुनुहुनेछ। तर सधैँ निराश मात्र बनाइरहने म एउटा असफल मान्छे नै त हुँ।
अन्तिममा एउटा प्रश्न छ: ‘कसैको जीवन बर्बाद पारेर बाँच्दा कस्तो महसुस हुन्छ, सागर लम्साल क्षेत्री?’
चैत २०, २०८२ शुक्रबार ०९:३०:४५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।