६ करोडको ‘हनी ट्र्याप’ योजनामा टिकटक स्टारदेखि मोबाइल व्यापारीसम्मको सञ्जाल

६ करोडको ‘हनी ट्र्याप’ योजनामा टिकटक स्टारदेखि मोबाइल व्यापारीसम्मको सञ्जाल

काठमाडौं : ललितपुरको ग्वार्कोस्थित ‘हाम्रो अटोमोबाइल्स प्रालि’ का सञ्चालक कुमार चिमोरियालाई ६ वर्षदेखि ‘हनी ट्र्याप’मा पारी ६ करोड रुपैयाँभन्दा बढी रकम असुल गर्ने संगठित गिरोहका १० जना विरुद्ध मुद्दा अघि बढेको छ।

टिकटकमा विलासी जीवन देखाउने तुल्सी अधिकारी (तुलसा)मुख्य योजनाकार रहेको यस प्रकरणमा प्रहरीले अनुसन्धानपछि फरार र संलग्न प्रतिवादीहरूको सूची सार्वजनिक गरेको हो।

यो घटनाले पछिल्लो समय टिकटक जस्तो सामाजिक सञ्जालको प्रयोगबाट लोकप्रिय भएकाले कसरी आपराधिक समूह निर्माण गर्छन् र कसरी फस्छन् भन्ने डरलाग्दो पक्ष देखाउँछ। टिकटकमा प्राय अनेक विषयमा पटक-पटक विवादमा आइरहने तुलसा यसको मुख्य पात्र देखिएकी छन् भने उनी अहिले फरार छिन्।

यसमा नेपाली कांग्रेसकी पूर्व केन्द्रीय सदस्य लक्ष्मी खतिवडा पनि अनुसन्धानमा तानिएकी छन्। उनी पनि तुलसासँग निकट देखिन्थिन् भने आर्थिक कारोबार समेत देखिन्छ। अभियोग पत्रमा  उनका शंकास्पद गतिविधि समेटिएको छ। तर प्रतिवादी भने बनाइएको छैन।

‘हनी ट्र्याप’देखि ६ करोडको दोहनसम्म
अभियोग पत्रअनुसार २०७५ सालमा ‘महिन्द्रा शोरुम’को कर्मचारी भनी चिनजान गरेकी ३२ वर्षीया तुल्सी अधिकारीले २०७६ जेठमा व्यवसायीसँग भैरहवामा भएको शारीरिक सम्पर्कलाई मुख्य हतियार बनाएकी थिइन्।

नवलपरासी सुनवल-६ स्थायी घर भएकी अधिकारी पहिला आफैँ चिमोरियाको सम्पर्कमा आउने, खाजा खान भनेर होटलको रूपमा गएर सम्बन्ध बनाउने र पछि आफन्तले थाहा पाए, प्रहरीमा जबरजस्ती करणीको मुद्दा हाल्छु भन्दै धम्क्याएर  नगद, सुनका गहना, पसल र विलासी सवारी साधन गरी ६ करोडभन्दा बढीको 'आपराधिक लाभ' लिएको अभियोग पत्रमा देखिन्छ।

उनले निरन्तर धम्क्याएर रकम असुल्न आफ्ना सहयोगी समेत परिचालन गरेको देखिन्छ। पटक पटक व्यवसाय खोल्न लगाउने र बन्द गर्ने, अनेक बहानामा पैसा माग्ने, नदिए धम्क्याउने जस्ता लामो फेहरिस्त अभियोग पत्रमा छ।

को-को हुन् त प्रतिवादीहरू?
यो संगठित अपराधमा संलग्न रहेको आरोपमा प्रहरीले मुख्य अभियुक्त तुल्सी अधिकारीसहित १० जनालाई प्रतिवादी बनाएको छ। नवलपरासी सुनवल-६ की तुल्सी हाल फरार छिन्। उनीसँगै भारत उडिसा स्थायी घर भई हाल न्यूरोडमा मोबाइल पसल गर्ने ४५ वर्षीय मुकेश कुमार धानुका पनि फरार सूचीमा छन्।

त्यस्तै, कास्की पोखरा घर भई हाल जावलाखेल बस्ने २८ वर्षीय निलिका भन्ने नेलीका लामिछाने र तेह्रथुम घर भई हाल धरान-२२ बस्ने ४२ वर्षीया दिल कुमारी लिम्बु पनि यो प्रकरणमा फरार प्रतिवादीका रूपमा रहेका छन्। दिल कुमारीको नाममा रहेको खातामा व्यवसायीले ४ लाख ५० हजारभन्दा बढी रकम जम्मा गर्न बाध्य पारिएको थियो।

प्रहरीले बुद्धनगर काठमाडौं बस्ने ४३ वर्षीय कानो मामा भन्ने प्रयास पोखरेल, सल्यान घर भई बालकुमारी बस्ने २२ वर्षीया सपना वली, नवलपरासीकी ३४ वर्षीया गंगा अधिकारी सुवेदी, पाल्पाका ५२ वर्षीय मेघनाथ बस्याल र सिराहा लहानका ६४ वर्षीय अशोक कुमार अग्रवाललाई पनि प्रतिवादी कायम गरेको छ।

अशोक कुमार अग्रवालले मित्रपार्कस्थित अम्बे अपार्टमेन्टमा व्यवसायीबाट पटक-पटक गरी २६ लाख नगद बुझेको स्वीकार गरेका छन्। यसका साथै कुमारीपाटीमा रहेको तुल्सा कलेक्सन प्रा.ली. लाई पनि कानुनी प्रतिवादी बनाइएको छ।

कसरी चल्थ्यो ‘आपराधिक सञ्जाल’?
मुख्य योजनाकार तुल्सी अधिकारीले नेपालमा रहँदा अनेक बहानामा धम्क्याएर रकम लिने गर्थिन्। अभियोग पत्रको विवरण अनुसार उनले चीन र भारतमा बसेर ह्वाट्सएप मार्फत व्यवसायीलाई धम्क्याउने र ५ रुपैयाँको नोटको ‘अर्धकट्टी’ (कोड) पठाएर पैसा असुल्ने गर्थिन्।

फिल्ड एजेन्टका रूपमा निलिका लामिछानेले व्यवसायीको कार्यालयमै पुगेर ‘जाहेरी तयार छ, कुरा मिलाउनुस्’ भन्दै धम्क्याउने गरेको अडियो प्रमाण फेला परेको छ।

अशोक कुमार अग्रवाल र मुकेश कुमार धानुका जस्ता व्यापारीहरूले भारतबाट आएको ‘कोड’ अनुसार व्यवसायीसँग करोडौं नगद बुझ्ने र अधिकारीसम्म पुर्याउने माध्यमको काम गरेका थिए।

व्यवसायीले आफ्नो कम्पनीका कर्मचारीमार्फत चेक साटेर नगद लिने र अधिकारीका मान्छेलाई बुझाउने गरेको बैंक स्टेटमेन्टबाट स्पष्ट देखिएको छ।

अस्वाभाविक जीवनशैली र ट्राभल्स हिस्ट्री
२०७७ सालसम्म मेगा मोटर्समा सामान्य तलबमा काम गर्ने तुल्सी अधिकारीको बैंक खातामा व्यवसायीसँगको चिनजानपछि एकाएक करोडौँको कारोबार देखिएको छ।

उनले भैँसेपाटीमा भव्य घर, नवलपरासीमा जग्गा खरिद र ५३ पटक विदेश भ्रमण (भारत, चीन, श्रीलङ्का) गरेको तथ्याङ्क फेला परेको छ। व्यवसायीले 'तुल्सा कलेक्सन'को ७ महिनाको भाडा, डेकोरेशन, छोरीको स्कुल फिस र विलासी भेष्पा स्कुटर समेत तिरिदिएको पाइएको छ।

प्रहरीको ‘एक्सन’ र राहदानी रोक्का
प्रहरीले मुख्य अभियुक्त तुल्सी अधिकारीका दुई वटा राहदानी  अध्यागमन विभागको सिस्टममा ‘लक’ गराएको छ। उनी भागेर चीन पुगेको देखिएको छ। 

उनीहरू विरुद्ध ठगी, आपराधिक विश्वासघात र आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी कसुरमा मुद्दा चलाइएको छ। सामाजिक प्रतिष्ठाको डर देखाएर एउटा स्थापित व्यवसायीलाई कङ्गाल बनाउने यो संगठित गिरोहका अधिकांश सदस्य हाल फरार छन्।

ललितपुर प्रहरीले फरार प्रतिवादीहरूको खोजी कार्य तीव्र पारेको र उनीहरूको बैंक खाता तथा चल-अचल सम्पत्ति रोक्का गर्ने प्रक्रिया अगाडि बढाएको छ। व्यवसायी कुमार चिमोरिया र उनकी श्रीमती हाल मानसिक रूपमा विक्षिप्त भई डिप्रेसनको औषधि सेवन गरिरहेका छन्।

चैत २०, २०८२ शुक्रबार ०८:४४:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।