सरकारले काठमाडौं लैजान आँटेपछि रुपन्देहीकै सडकमा चल्न थाले पाँच वर्षदेखि लुम्बिनीमा थन्किएका विद्युतीय बस

सरकारले काठमाडौं लैजान आँटेपछि रुपन्देहीकै सडकमा चल्न थाले पाँच वर्षदेखि लुम्बिनीमा थन्किएका विद्युतीय बस

बुटवल : करिव पाँच वर्षदेखि अलपत्र अवस्थामा थन्किएका विद्युतीय बस अन्ततः लुम्बिनीका सडकमा गुड्न थालेका छन।

साढे पाँच वर्षसम्म योजना, नीति र व्यवस्थापन अभावका कारण प्रयोगविहीन बनेका यी बस प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको निर्देशनपछि सञ्चालनमा आएका हुन्।

बुधबारदेखि एउटा बस परीक्षणका रूपमा चलाउन सुरू गरिएको छ, जसले लुम्बिनी आउने पर्यटकलाई लक्षित गर्दै सेवा दिन थालेको छ।

लुम्बिनी विकास कोषका सदस्य सचिव इञ्जिनियर दीपक श्रेष्ठका अनुसार तत्काल एउटा बस सञ्चालनमा ल्याइएको हो। भारतीय सीमाबाट लुम्बिनी आउने पर्यटकलाई सहज सेवा दिन पहिलो चरणमा सीमित रूपमा सञ्चालन सुरु गरिएको उनले बताए।

‘अब क्रमशः अन्य बस र भ्यान पनि सञ्चालनमा ल्याइनेछ। तर त्यसका लागि चालक-सहचालक नियुक्ति र स्पष्ट कार्यविधि आवश्यक छ’, उनले भने।

लुम्बिनीमा विद्युतीय सवारी सञ्चालनको अवधारणा नयाँ भने होइन। २०७७ साल मंसिर/पुस मा दुई पटक गरी एशियाली विकास बैंक (एडीबी) को अनुदान सहयोगमा ‘क्लिन इनर्जी प्रोजेक्ट’ अन्तर्गत पाँच वटा आधुनिक विद्युतीय बस र १४ वटा भ्यान ल्याइएका थिए।

करिब २१ करोड रुपैयाँ लागतका यी सवारी साधनले बुद्ध जन्मस्थल लुम्बिनीलाई प्रदूषणमुक्त बनाउने र पर्यटकलाई सहज, सुरक्षित यात्रा सेवा दिने लक्ष्य राखेका थिए।

तर, लक्ष्यअनुसार काम अघि बढ्न सकेन। सवारी ल्याइए पनि सञ्चालनको स्पष्ट मोडालिटी नबन्दा योजना कागजमै सीमित भयो।

सुरूमा नम्बर प्लेटसम्बन्धी विवादले प्रक्रिया रोकियो। सरकारी (सेतो प्लेट) सवारीले पर्यटक बोक्न मिल्छ कि मिल्दैन भन्ने अन्योलले कामलाई थप जटिल बनायो। त्यसपछि कार्यविधि निर्माणमा ढिलाइ हुँदा सवारी साधनहरू प्रयोगविहीन बने।

बीच-बीचमा सरकारी निर्देशन आएपछि केही दिन बस सञ्चालन गरिए पनि त्यसले निरन्तरता पाउन सकेको थिएन। वर्षौंसम्म खुला आकाशमुनि थन्किएका बस र भ्यान घामपानीका कारण क्षतिग्रस्त भए।

अहिले धेरै बसका एसी प्रणाली बिग्रिसकेको छ। झ्याल नखुल्ने संरचना भएका यी बसहरू एसीबिना सञ्चालन गर्न कठिन हुने अवस्था छ।

लुम्बिनी विकास कोषका सूचना अधिकारी राजन बस्नेतका अनुसार प्राविधिक समस्या समाधान पनि चुनौतीपूर्ण बनेको छ। ‘एसी नबनाई बस सञ्चालन गर्न गाह्रो छ, तर दक्ष मिस्त्री नै पाउन मुस्किल भइरहेको छ’, उनले भने।

काठमाडौं लैजाने तयारी पछि गुडेका हुन् बस
लामो समयसम्म प्रयोगमा नआएका सवारी साधनलाई अन्यत्र सार्ने तयारी भएपछि विषयले केन्द्रको ध्यान तानेको थियो।

नागरिक उड्डयन प्राधिकरणले ती बसलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल लैजाने तयारी गरेपछि प्रधानमन्त्री कार्यालय सक्रिय बनेको हो। सोमबार मौखिक निर्देशन दिँदै लुम्बिनीमै बस सञ्चालन गर्न भनिएपछि प्रक्रिया तीव्र बनेको हो।

हाल सञ्चालनमा आएका बसमा यात्रुबाट अनिवार्य भाडा भने लिइँदैन। कानुनी र नीतिगत स्पष्टता नहुँदा तत्कालका लागि भाडा उठाउन नमिल्ने अवस्था रहेको कोषले जनाएको छ।

तथापि, स्वेच्छिक रूपमा सहयोग गर्न चाहने यात्रुका लागि डोनेसन बक्स वा क्यूआर कोडको व्यवस्था गरिएको छ। भविष्यमा स्पष्ट कार्यविधि बनाएपछि नियमित भाडा प्रणाली लागू गरिने लुम्बिनी विकास कोषले जनाएको छ।

नेपालको यातायात कानुनअनुसार पर्यटक सवारीका लागि हरियो नम्बर प्लेट आवश्यक हुन्छ। तर, त्यस्ता सवारीलाई सार्वजनिक रुटमा चलाएर भाडा उठाउन नपाइने प्रावधानले थप जटिलता सिर्जना गरेको छ। यही कारण कोषले आर्थिक भार नपर्ने गरी सन्तुलित कार्यविधि तयार गर्ने तयारी गरेको सदस्य सचिव श्रेष्ठले बताए।

एडीबीको सहयोगमा ल्याइएका यी बस १९ सिट क्षमताका, वातानुकूलित, अपाङ्गतामैत्री र स्वचालित ढोकासहितका आधुनिक सुविधा सम्पन्न छन्। कार्डमार्फत भुक्तानी गर्ने प्रविधिसमेत जडान गरिएको छ । भ्यानहरू भने पाँच सिट क्षमताका छन्।

सदस्य सचिव श्रेष्ठका अनुसार एक साताभित्र सबै बस सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ। साथै, लुम्बिनीबाट रामग्राम, देवदह र तिलौराकोटसम्म विद्युतीय बस सेवा विस्तार गर्ने योजना अघि सारिएको छ। यसले बौद्ध सर्किटलाई जोड्दै धार्मिक पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने अपेक्षा गरिएको छ।

चैत २०, २०८२ शुक्रबार ०७:५०:४६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।