ओली-लेखकलाई थप २ दिन हिरासतमा राख्न अनुमति

ओली-लेखकलाई थप २ दिन हिरासतमा राख्न अनुमति

काठमाडौं : काठमाडौं जिल्ला अदालतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई थप दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ।

बिहीबार जिल्ला अदालत काठमाडौंका न्यायाधीश विष्णुप्रसाद अवस्थीको इजलासले उनीहरूमाथि अनुसन्धानका लागि समय थप गरेको हो। यसअघि दिइएको पाँच दिनको म्याद सकिएपछि प्रहरीले जिल्ला सरकारी वकिल कार्यालयमार्फत थप १० दिनको समय मागेको थियो। 

तर, अदालतले दुई दिनको मात्र अनुमति दिएको छ। स्वास्थ्यमा समस्या देखिएका कारण महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचाररत रहेका पूर्वप्रधानमन्त्री ओलीलाई भर्चुअल माध्यमबाट इजलास समक्ष पेस गरिएको थियो। 

सुनुवाइका क्रममा ओलीले आफ्नो स्वास्थ्य अवस्था प्रतिकूल रहेको र चिकित्सकको निगरानीमा रहेको जानकारी गराएका थिए। अदालतले ओलीको स्वास्थ्योपचारमा कुनै बाधा नपुग्ने गरी अनुसन्धान अघि बढाउन आदेश दिएको छ।

गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा भएको बल प्रयोग र मानवीय क्षतिको सम्बन्धमा गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले दिएको प्रतिवेदनका आधारमा उनीहरूलाई पक्राउ गरिएको थियो।

चैत १९, २०८२ बिहीबार १९:३२:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।