सभामुखको निर्वाचन कार्यतालिका सार्वजनिक

सभामुखको निर्वाचन कार्यतालिका सार्वजनिक

काठमाडौं : यही चैत २२ गते हुने प्रतिनिधिसभाको सभामुखको निर्वाचनका लागि सङ्घीय संसद् सचिवालयले कार्यतालिका सार्वजनिक गरेको छ।

प्रतिनिधिसभाको बिहीबारदेखि सुरु भएको पहिलो अधिवेशनको पहिलो बैठकमा अध्यक्षता गर्ने ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले दिनुभएको निर्देशन बमोजिम संसद् सचिवालयका महासचिव पदमप्रसाद पाण्डेयले कार्यतालिका सार्वजनिक गरेका हुन्।

सो कार्यतालिका बमोजिम यही चैत २० गते बिहान ११ बजेदेखि २ बजेसम्म प्रतिनिधिसभाका कुनै सदस्यलाई सभामुख पदमा निर्वाचित गरियोस् भनी नियमावलीको ढाँचामा प्रस्तावको सूचना (मनोनयन) संसद् सचिवालय, सिंहदरबारमा दर्ता गर्ने कार्यक्रम रहेको छ। सोही दिन साढे २ बजेदेखि तोकिएको समयमा दर्ता भएका उम्मेदवारीको सूचना दर्ता क्रमअनुसार सूची प्रकाशन हुनेछ।

दर्ता भएका प्रस्तावका सूचनालाई चैत २२ गते हुने प्रतिनिधिसभाको बैठकमा प्रस्तावले प्रस्ताव र समर्थकले समर्थन गर्ने र सामूहिक छलफल पश्चात् निर्णयार्थ प्रस्तुत गर्ने कार्यक्रम रहेको सचिवालयले जनाएको छ।

चैत १९, २०८२ बिहीबार १९:१७:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।