दीपक भट्टलाई १० दिन हिरासतमा राख्न अनुमति
काठमाडौं : सम्पत्ति शुद्धीकरणको कसुरमा पक्राउ परेका व्यवसायी दीपक भट्टलाई अनुसन्धानका लागि १० दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ।
बिहीबार काठमाडौं जिल्ला अदालत अदालतका न्यायाधीश माधवप्रसाद सुवेदीको इजलासले भट्टलाई १० दिन हिरासतमा राखेर अनुसन्धान अघि बढाउन अनुमति दिएको अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठले जानकारी दिए।
बिहीबार काठमाडौंको नक्साल क्षेत्रबाट केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले उनलाई नियन्त्रणमा लिएको थियो। पक्राउ परेलत्तै प्रहरीले उनलाई काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयमार्फत अदालतमा उपस्थित गराएको थियो।
भट्टमाथि गैरकानुनी रूपमा आर्जन गरेको रकमको स्रोत लुकाएको, कर छलेको र सम्पत्तिको स्वरूप बदलेर शुद्धीकरण गरेको आरोप छ। यही चैत १७ गतेदेखि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनीमाथि औपचारिक अनुसन्धान अघि बढाएको थियो। सोही क्रममा विभागको अनुरोधमा अध्यागमन विभागले भट्टलाई कालोसूचीमा राख्दै उनको पासपोर्टसमेत रोक्का गरेको थियो।
चैत १९, २०८२ बिहीबार १८:५९:१९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।