आफ्नै कार चढ्छु भनेर गृहको गाडी छाडेका गृहमन्त्री गुरुङले चढेको सिल्भर ओमोडा पनि अर्कैको, पहिला अपार्टमेन्टको, अहिले व्यक्तिको

आफ्नै कार चढ्छु भनेर गृहको गाडी छाडेका गृहमन्त्री गुरुङले चढेको सिल्भर ओमोडा पनि अर्कैको, पहिला अपार्टमेन्टको, अहिले व्यक्तिको

काठमाडौं : सरकारी गाडीको सुविधा नलिने अनि आफ्नै गाडी चढ्ने भनेर निजी कार चलाउँदै आएका गृहमन्त्री सुदन गुरुङले बिहीबारबाट प्रयोग गर्न थालेका बागमती प्रदेश-०१ ०३२ च २५५७ नम्बरको नयाँ ओमोडा कार पनि उनको नाममा नभएको खुलेको छ।

उकेराले यातायात व्यवस्था कार्यालयको सवारी दर्ता पुस्तिकामा हेर्दा सो गाडी राष्ट्रिय वाणिज्य बैंकबाट दीपक खनालले निकालेको देखिन्छ। सो गाडी २०८२ वैशाख १७ मा नेपाल भित्रिएको देखिन्छ। २०८२ असार ३१ मा सो गाडी खनालले बैंकबाट ऋण लिएर किनेको देखिन्छ।

सो गाडी २०८२ वैशाख २६ मा दर्ता भएको र यसको नवीकरणको म्याद २०८३ वैशाख २५सम्म भएको देखिन्छ।

गृहमन्त्रीका लागि सरकारी सुविधामा मन्त्रालयमा बा १ झ ६४३१ को ल्यान्डक्रुजर राखे पनि उनले मन्त्रीका रूपमा पाउने सरकारी सुविधा प्रयोग नगरी आफ्नै सवारीसाधन प्रयोग गर्ने भन्दै निजी कारको प्रयोग गर्दै आएका छन्।

प्रारम्भमा उनले रातो रंगको निजी कारमै देखिए जसको नम्बर थियो बागमती प्रदेश-०१, ०३२ च ४४७७ नम्बरको कार प्रयोग गर्ने गरेका थिए। उनी सांसद निर्वाचित भएदेखि नै सो गाडीको प्रयोग गर्ने गरेका थिए।

सो गाडीको स्वामित्वबारे उकेराले सोधखोज गर्दा उनको नाममा देखिएन। सवारी दर्तामा सो गाडी प्रभु बैंक लिमिटेड र लगुम प्रिमियम अपार्टमेन्ट प्रालिको नाममा रहेको खुल्यो। त्यसमा राखिएको नम्बर भने गृहमन्त्री सुदनकै थियो।

यसबारे बुझ्न उकेराले उनीसँग बुधवार पटक पटक सम्पर्क राख्न खोज्दा उनी सम्पर्कमै आएनन्। उनीसँग सम्पर्क गर्न खोजेको कारणसमेत खुलाएर गरेको एसएमएसमा समेत कुनै प्रतिक्रिया जनाएनन्।

उकेराले प्रमाणसहित सो समाचार प्रकाशित गरेपछि भने उनी रातो हैन सिल्भर कलरको ओमोडाको इलेक्ट्रिक गाडीमा देखिन थाले। उनी बिहीबार पशुपतिनाथको दर्शन गर्न जाँदा बागमती प्रदेश-०१ ०३२ च २५५७ नम्बरको ओमोडा कारमा चढेर गएका थिए।

यातायात व्यवस्था कार्यालयबाट प्राप्त विवरण।के त्यो कार चैँ गृहमन्त्री सुदनको आफ्नै हो त? त्यो पनि देखिएन। उकेराले प्राप्त गरेको विवरणमा उनले बिहीबारबाट प्रयोग गरेको निजी कार दीपक खनालको नाममा देखियो।

सवारी दर्ता पुस्तिकामा खनालको नाम तल राखिएको मोबाइल नम्बरमा सम्पर्क गर्दा फोन उठाउने व्यक्तिले आफू दीपक नभएको दाबी गरेर फोन काटे।

सुविधाको गाडी थन्काएर 'सापटी'मा सवारी

मन्त्री नियुक्त भएपछि सरकारले नै सुरक्षाकर्मी, चालक र गाडी उपलब्ध गराउँछ। सुदनका लागि पनि यस अगाडिका गृहमन्त्रीहरूले प्रयोग गर्दै आएको बा १ झ ६४३१ नम्बरको सरकारी ल्यान्डक्रुजर गाडी तयारी अवस्थामा राखेको छ। तर उनी भने सरकारी सवारीसाधन प्रयोग नगरी निजी सवारीसाधन प्रयोग गरिरहेका छन्।

सांसदमा निर्वाचित भए लगत्तै उनले संसद् भए वापत आउने सेवा र सुविधा नलिने घोषणा गरेका थिए। त्यसपछि उनी बालेन्द्र शाह नेतृत्वको सरकारमा गृहमन्त्री नियुक्त भए।

सांसदको शपथ खान होस् या मन्त्रीको शपथ खान होस् उनले निजी सवारीसाधनै प्रयोग गरेका थिए। अधिकांशले मन्त्रीको शपथ लिएपछि सरकारले व्यवस्था गरेको गाडीमा चढेर गए। उनी भने उही रातो कारमै फर्किए।

मन्त्रीको कार्यभार सुरु गर्नदेखि लिएर प्रहरी कार्यालयहरू अनुगमनसम्ममा उनले निजी कारै प्रयोग गरिरहेका थिए। जेनजी आन्दोलन सरकारमा रहेकाहरूले तोकिएको सुविधा प्रयोग गरे भनेर सुरु नभई भ्रष्टाचार सुशासनको मागसहित भएको थियो।

पहिलो रातोकारको विवरण।त्यही आन्दोलनमा पानी बाँड्ने स्वयंसेवक हुँदै पछि उनी जेनजी आन्दोलनको अगुवा हुँदै रास्वपामा गएर गोर्खाबाट सांसदमा निर्वाचित भएर आए। त्यसपछि पदीय जिम्मेवारी अनुसारको सुविधा पनि नलिने भन्दै घोषणा गरेपछि नै उनले सरकारी सुविधा अस्वीकार गर्दै प्रयोग गरिरहेको सवारीसाधनको स्वामित्वबारे उकेराले खोजबीन सुरु गरेको थियो।

खोजबीनमा बिहीबार उनले चढ्ने रातोकार उनको स्वामित्वको देखिए नै। प्रमाणसहितको समाचार सार्वजनिक भएसँगै उनले बदलेको अर्को सिल्भर कार पनि उनको स्वामित्वमा देखिएन।

यातायात व्यवस्था कार्यालय एकान्तकुनाको रेकर्डमा उनले प्रयोग गर्ने गरेको रातोकार २०८२ जेठ ४ गते दर्ता भएको खुल्यो। सवारी दर्ता किताबमा सवारी धनीको नाममा प्रभु बैंक लिमिटेड र लगुम प्रिमियम अपार्टमेन्ट प्रालि राखिएको छ। अर्थात् प्रभु बैंकबाट लगुमले सवारी ऋणमा लिएको देखियो। तर त्यसको तल राखिएको सम्पर्क नम्बर भने गृहमन्त्री गुरुङकै छ।

२०८२ असार २९ मा सवारी धनीको नाम थर र ठेगाना उल्लेख गरिएको सवारी दर्ता पुस्तिकामा प्रभु बैंक ललितपुरको छाप देखियो भने दर्ता पुस्तकामा प्रभु बैंक र त्यसको तल लगुम अपार्टमेन्ट अनि त्यसको तल सम्पर्क नम्बरमा गुरुङको नम्बर देखियो।

लगुम अपार्टमेन्टको सञ्चालन र व्यवस्थापनको मुख्य भूमिका सुनिल कुमार श्रेष्ठ रहेको देखियो। उकेराले यसबारे विस्तृत समाचार प्रकाशित गरेपछि बिहीबार कारै बदले तर त्यो पनि उनको नाममा देखिएन।

सम्बन्धित समाचार

चैत १९, २०८२ बिहीबार १७:४६:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।