अटिजमलाई स्वीकार्न र बुझ्नुपर्नेमा जोड
काठमाडौं : ‘विविधताको उत्सव मनाऔँ: अटिजम र मानवता-हरेक जीवन मूल्यवान् छन्’ भन्ने नाराका साथ १७औँ विश्व अटिजम सचेतना दिवस मनाइँदै छ।
सन् २००८ देखि अप्रिल २ तारिखका दिन विश्वभर मनाउने गरिएको यो दिवसमा नेपालमा पनि अटिजम केयर नेपाल सोसाइटी (एसीएनएस) को अगुवाइमा विभिन्न सचेतनामूलक कार्यक्रमहरू आयोजना गरिएका छन्।
अटिजमलाई मस्तिष्कको विशेष अवस्थाका रूपमा अर्थ्याउँदै यस वर्ष विशेष गरी अटिजम भएका व्यक्तिका अभिभावकको भूमिका र उनीहरूले भोग्नुपर्ने चुनौतीलाई प्राथमिकतामा राखिएको छ। यसका लागि संस्थाले उनीहरूको अनुभव समेटिएको पोडकास्ट लगायतका कार्यक्रम सार्वजनिक गर्ने तयारी गरेको छ।
सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सीडीसी) को सन् २०२५ को तथ्यांकअनुसार प्रति ३१ मध्ये एक बच्चामा अटिजमको अवस्था देखिएकाले यो हरेक राष्ट्रका लागि चुनौतीको विषय बनेको छ। विज्ञप्तिमा उल्लेख भएअनुसार अटिजम भएका बालबालिकालाई सानै उमेरमा सही पहिचान र समयसापेक्ष हस्तक्षेप गर्न सके उनीहरू भविष्यमा आत्मनिर्भर र क्रियाशील हुन सक्छन्।
अटिजम भएका व्यक्तिहरूलाई तालिम र सीप प्रदान गरेमा उनीहरूले समाज निर्माणमा ठूलो योगदान पुर्याउन सक्ने भन्दै उनीहरूको विशिष्ट क्षमतालाई चिन्न र समाजमा सम्मानपूर्वक स्वीकार्न आग्रह गरिएको छ। अटिजमलाई चिनेर मात्र नपुग्ने र यसलाई गहिरिएर बुझ्नुका साथै अपनत्व ग्रहण गर्नुपर्ने आवश्यकता रहेको सोसाइटीले जनाएको छ।
चैत १९, २०८२ बिहीबार १७:४२:०७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।