प्रतिनिधी सभाको बैठकमा बालेन्द्र-हर्क मित्र मिलन
काठमाडौं : स्वतन्त्र मेयरका रूपमा निर्वाचित भएपछि निकट मित्र देखिएका बालेन्द्र शाह र हर्क साम्पाङको सम्बन्ध जेनजी आन्दोलनसँगै फाट्यो। हर्क बालेनविरुद्ध सामाजिक सञ्जालमा निकै आक्रामक देखिए। निरन्तर फेसबुकमा लेखिरहे। यता बालेनले भने प्रेमिल सन्देश लेखेर बसे।
जेनजी सरकारमा प्रारम्भमा प्रधानमन्त्री दाबी गरेका थिए। पछि मन्त्रीमा दाबी गरे पनि उनी मन्त्रिपरिषद्मा नसमेटिएपछि धरान फर्किएर आफ्नै नेतृत्वमा श्रम संस्कृति पार्टी गठन गरे।
चुनावी अभियानमा पनि उनी बालेनप्रति नरम देखिएनन्। निर्वाचन सकिएर सांसदमा निर्वाचित भएपछि पनि उनले बालेन भन्दा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने नै प्रधानमन्त्री हुनु राम्रो भनेर लेखे। तर अन्तमा बालेन्द्र शाह नै प्रक्रिया अनुसार प्रधानमन्त्री नियुक्त भए।
यी दुवै एकै थलोमा नदेखिएको/ नभेटिएको लामै समय भएको थियो। सांसद शपथमा दुवै एकै ठाउँमा भए पनि दुबैबीच भेट भएन। बिहीबारबाट सुरु भएको प्रतिनिधी सभाको अधिवेशनमा भने यी दुवैको भेट जुर्यो। प्रतिनिधी सभामा बालेन्द्र शाह प्रधानमन्त्रीको रूपमा उपस्थित थिए भने हर्क श्रम संस्कृति पार्टीका अध्यक्ष तथा संसदीय दलको नेताको रूपमा उपस्थित थिए।
उनले सोही हैसियतमा प्रतिनिधी सभामा सम्बोधन गरे। उनले सम्बोधन गर्दा तल बसेका बालेन्द्रले बढो ध्यान दिएर सुनिरहेका थिए। जब संसद्को सबै प्रक्रिया सकियो अनि यी पुराना मित्र पुन मिले। दुवैले अँगालो मारेर खिचेको तस्बिर सार्वजनिक भयो।
चैत १९, २०८२ बिहीबार १७:१५:१२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।