बालेनको विजयमा सेना र ब्यूरोक्रेसीको भूमिका रहेको बादलको दाबी

बालेनको विजयमा सेना र ब्यूरोक्रेसीको भूमिका रहेको बादलको दाबी

काठमाडौं : एमाले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकको गिरफ्तारीलाई ‘राज्य आतङ्क’को संज्ञा दिएका छन्। 

बिहीबार प्रतिनिधिसभाको पहिलो अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्दै उनले सरकारले राष्ट्रियता र समृद्धिका नायकहरूलाई योजनाबद्ध रूपमा ‘खलनायक’ र ‘हत्यारा’का रूपमा स्थापित गर्न खोजेको भन्दै आपत्ति जनाए।

उनले भने, "बाह्य दृष्टिले कसले निर्णायक भूमिका गरे ? असंख्य तथ्यहरूले के स्पष्ट गर्दछन् भने अदृश्य शक्तिहरू टिओबी, एआई, अल्गोरिदम जसले राष्ट्रियता लोकतन्त्र, गणतन्त्र, संघीयता, शान्ति र समृद्धिका नायकहरूलाई खुंकार खलनायक र हत्याराका रूपमा स्थापित गरे। जसले देश जलाउने, आफ्नो राष्ट्रिय पहिचान मेटाउने खलपात्रहरुलाई महानायक बनाए। ती संस्था र पात्रहरूले नै बाह्य रूपमा यो जादुमय निर्णायक भूमिका खेले।"

देश जलाउनेहरूलाई महानायक बनाएको उनको भनाइ छ। उनले कुन उद्देश्य पूरा गर्नको लागि राजनीतिक नेतृत्वहरूलाई पक्राउ गर्ने प्रपञ्च रचिँदै छ ? किन देशव्यापी रूपमा दमनचक्र र राज्य आतङ्क मच्याइँदैछ भनेर प्रश्न गरे।

उनले भदौ २३ र २४ गतेको घटनालाई लिएर प्रश्नै प्रश्न उठाए। उनले उक्त घटनाको क्रममा भएको सार्वजनिक सम्पत्तिको क्षति, भौतिक संरचना तोडफोड एवं आगलागीका घटनाको निष्पक्ष छानबिनको माग गरे। थापाले आन्दोलनका क्रममा भएका हिंसात्मक गतिविधि सुनियोजितरूपमा भएको आरोप समेत लगाए।

उनले भने, ‘प्रधानमन्त्री बालेन शाह नेतृत्वको यो अभूतपूर्व जितमा आन्तरिक रूपमा क कसको निर्णायक भूमिका रह्यो ? तथ्यहरूले के स्पष्ट गर्दछ भने मुख्यता नेपाली सेना, ब्यूरोकेशी, सुशीला सरकार, कार्की आयोग आदी संस्था तथा पात्रहरूको यो विजयमा निर्णायक भूमिका रह्यो। त्यसैले ती संस्था तथा पात्रहरूलाई पनि म नेकपा एमालेको तर्फबाट धेरै धेरै बधाई भन्न चाहन्छु। यो जादुमय विजयका लागि।’

चैत १९, २०८२ बिहीबार १६:१७:३५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।