नवयुवा पुस्ताले उठाएका विषयलाई सम्बोधन गर्नुपर्नेमा पुन जोड
काठमाडौं : नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट निर्वाचित सांसद वर्षमान पुनले आफ्नो पार्टीले सदनमा आलोचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताएका छन्।
बिहीबार प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गर्दै उनले देश र जनताको पक्षमा आफ्नो पार्टीले सरकारलाई रचनात्मक सहयोग गर्ने प्रतिबद्धता जनाए।
“राष्ट्र निर्माण, सामाजिक न्याय, रूपान्तरणलगायत जनहित र सकारात्मक विषयमा सरकारलाई सहयोग गर्न तयार छौं,” सांसद पुनले भने, “गणतन्त्र, लोकतन्त्र, सङ्घीयता र समावेशीतालगायत राजनीतिक उपलब्धिलाई अझ उन्नत बनाउँदै लैजानेमा सहकार्य र समन्वय गर्नेछौं।”
सांसद पुनले आफ्नो पार्टी लोकतान्त्रिक आचरण, व्यवहार र पद्धतिमा विश्वास राख्ने उल्लेख गर्दै नवयुवा पुस्ताले उठाएका विषयलाई सम्बोधन गर्नेतर्फ सरकारको ध्यान जानुपर्नेमा जोड दिए।
तत्कालीन नेकपा (माओवादी)ले २०६४ र नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले २०७४ सालमा प्राप्त गरेको जनमत अहिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्राप्त गरेको उल्लेख गर्दै उनले माओवादी र नेकपाको कमीकमजोरीबाट पाठ सिकेर आगामी यात्रा तय गर्न सुझाव दिए।
चैत १९, २०८२ बिहीबार १६:०३:२१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।