महावीर पुनले संसदमा भने : चुनावमा उठ्नै नपर्ने अनि उठ्नै नहुने व्यक्ति म चुनावमा गएर सांसद बनेँ

महावीर पुनले संसदमा भने : चुनावमा उठ्नै नपर्ने अनि उठ्नै नहुने व्यक्ति म चुनावमा गएर सांसद बनेँ

काठमाडौं : स्वतन्त्र सांसद महावीर पुनले शिक्षा सम्बन्धी कानुन बनाउन नमानेपछि आफू सुशीला कार्की नेतृत्वको सरकारबाट राजीनामा दिएर स्वतन्त्र उम्मेदवारको रूपमा उम्मेदवार बनेको बताए। प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले आफूले कानुन बनाउन खोज्दा रद्दीको टोकरीमा फ्याँकेपछि म्याग्दी गएर राजनीतिमा आउनै नहुने मान्छे जितेर आएको बताए।

उनले जेनजी आन्दोलनपछि गठन भएको सरकारमा शिक्षा मन्त्री बन्न आग्रह गरेपछि आफू चार महिना मन्त्री भएको बताउँदै आफ्नो कार्यकालमा ल्याउन नसकेको शिक्षा सम्बन्धी अध्यादेशहरूबारे बताएका थिए। उनले १८ विश्वविद्यालयको छाता कानुन बनाउन, विश्वविद्यालयको प्राध्यापकहरूसहितको नियुक्तिका लागि १८ विश्व विद्यालयको सेवा आयोग खारेज गरेर लोकसेवा आयोग जस्तै आयोग गठन गर्ने अध्यादेश ल्याउन चाहे पनि नसकेको बताए।

उनले प्रधानमन्त्रीको अध्यक्षतामा विज्ञान प्रविधि अनुसन्धान तथा नव प्रवर्धन कोष सम्बन्धी अध्यादेश र अलग्गै विज्ञान प्रविधि सम्बन्धी मन्त्रालय गठनसहित विद्यालय शिक्षा स्थानीय तहलाई दिँदा विकृति आएकाले सुधारका लागि विद्यालय व्यवस्थापन समितिमा राजनीतिक प्रभाव हटाउने लगायतका प्रस्ताव लगे पनि केही काम नहुने भएपछि आफूले राजीनामा दिएर निर्वाचनमा गएको बताए।

चैत १९, २०८२ बिहीबार १५:५९:१७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।