सदनभित्रै विभेद भयो : साम्पाङ

सदनभित्रै विभेद भयो : साम्पाङ

काठमाडौं : श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले संघीय संसद्‌मा सांसदहरूबीच बोल्ने समय बाँडफाँटमा असन्तुष्टि जनाएका छन्। बिहीबार बसेको प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गर्दै उनले सदनभित्र बोल्ने समयमा विभेद गरिएको गुनासो गरे।

साम्पाङले सदन बाहिर विभेद अन्त्यको नारा लगाइए पनि सदनभित्रै त्यसको अभ्यास नभएको तर्क गरे। उनले सत्तापक्षका दलका सांसदहरूले लामो समय पाउने तर साना दल वा प्रतिपक्षका सांसदहरूलाई थोरै समयमा खुम्च्याइने गरेको भन्दै असन्तुष्टि व्यक्त गरे।

उनले भने, "हामी विभेदको अन्त्य गर्छौं भनेर भनिरहेका छौं, भर्खरै पूर्व वक्ताहरूले थुप्रै कुराहरू राख्नु भयो। तर, यही सदन भित्र पनि विभेद भइरहेको छ। सत्ता पक्षले तीन चालिस मिनेट बोल्दा पनि हुने, प्रतिपक्षले अलि सानोले दुई तीन मिनेटमा सकिहाल्नु पर्ने। हामी पनि जनताले चुनेर पठाएका, जनमत प्राप्त जनप्रतिनिधि हौं।"

आफ्नो क्षेत्रका जनताका समस्या, आवश्यकता र मागहरू सदनमा राख्नका लागि सबै सांसदलाई न्यायोचित समय उपलब्ध गराइनुपर्ने उनको माग थियो। साम्पाङले भने, "हामीले आफ्नो क्षेत्रका आवश्यकताहरू मागहरू राख्नको लागि प्रशस्त समय दिइनु पर्दछ। हामीले त्यो खालको सदनको अभ्यास गर्नुपर्दछ।"

चैत १९, २०८२ बिहीबार १५:४५:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।